म दोस्रो बिहे गर्न चाहन्छु

शुक्रबार, ०४ चैत २०७३

 

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी— सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो ।

 

एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने — हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू ।

 

किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ ? हामीले कहिले आफ्नो घर बनाउने ? सधैँ यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न !

 

श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल ।

 

इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र ? आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ । फर्केर फेरि के गर्ने ?


श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो । महिना शुरु हुन पाउँदैन थियो कि श्रीमान्को लिस्ट आइहाल्दथ्यो । म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने ?


तिमी तीनचार वर्ष बसिहाल्छ्यौ, हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि, ….।

 

मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ— पैसा बचत गर्नु ल भनेर । एक दिन श्रीमान्ले फोनमार्फत् मलाई भन्नुभयो— साथीहरूले मिलेर एउटा १० + २ सम्म पढाई हुने स्कूल चलाउने रे । हामीलाई पनि पैसा हाल्न भनेका छन्, तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न । स्कूलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भइहाल्दछ नि, अनि त दुःखका दिन सकिन्छन् कि । मलाई पनि कुरा राम्रै लाग्यो, साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ, श्रीमान्को फोन आयो— स्कूलको क्यन्टिनमा आफँै लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ, फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न । सबैभन्दा नजिकको सम्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने ? मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ ।

 

फोनबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ । स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएपछि त आफ्नै स्कूल ।
…………………


त्यो दिन फागुपूर्णिमा थियो, छोराले फोनमा र रुँदै भन्यो मामू बुबाले बर्बाद गर्नुभो । के भयो किन रोएको के गर्नु भो बुबाले— मैले आतालिँदै सोधेँ ? फोनमा छोरीको पनि आवाज आयो । मामू बुबाले त अर्को बिहे गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा हजुरआमालाई हजुरहरूको नाति भनेर भन्नुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि— बुबाले भन्नुभयो बिहे गरेको नै २ वर्ष भैसक्यो । मामूले थाहा नपाउनुहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।

 

म छाँगाबाट खसेँ । विगतका सबै दिनहरू आँखाअगाडि नाच्न थाले । ओहो, आज आएर सम्झँदै छु, त्यो समयमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु । कसरी मलाई इजरायल पठायौ ? कसरी सबै पैसा लियौ ।

 

मैले सासूसित कुरा गरेँ सासूले पनि हो भन्नुभयो । त्यस पछि त झनै चिन्तित भएँ, छोराछोरी कति रोए होलान् । श्रीमान्लाई फोन गर्छु, फोन स्वीचअफ छ । बल्ल चार दिनपछि राती श्रीमान्को फोन उठ्यो तर महिलाले फोन उठाइन् । मैले तपाईंं को भनेर सोधेँ । उनले भनिन्— म दिनेशको श्रीमती । मैले दिनेशको श्रीमती त म पो हुँ तिमी को हौ दिनेश खोइ ? भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासूससुरासित पहिल्यै छुट्टिइसकेकाले केटाकेटी आफैँ पकाउँदै खाँदै गर्दा रहेछन् ।

 

म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । मेरो टाउकामा कर्जा थियो । नेपाल आएर के गर्ने ? मैले माइतीमा फोनगरेर भाइसित रोएँ । भाइलाई स्कूलमा लगानी के कति छ बुझ भनेपछि उसले के कसरी बुझ्यो मैले पठाएको पैसा त स्कूलमै लगानी त भएको रहेछ तर शेयर होल्डर त कान्छी श्रीमती पो भएकी रहिछ । क्यान्टिन पनि उसैले पो चलाएकी रहिछे । उसले एउटा डान्स रेष्टुरेन्टमा नाच्ने केटी पो ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा शेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस् म र मेरो छोराछोरी त बर्बाद भएका थियौँ । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनेर तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो कर्जा तिरेर नेपाल फर्किने विचार भाइलाई भनेँ । भाइले भन्यो— दिदी हामी भान्जाभान्जीलाई हामीकहाँ ल्याएर राख्छौँ, तिमी भोलिको दिनलाई पनि केही व्यवस्था गरेर मात्र फर्क ।

 

दिन बित्दै गए । कर्जा पनि तिरियो, म घर फर्कन्छु भन्दै थिएँ कि छोराले फोनमा भन्यो— तिमीहरू मामाघर गएर बस, म र सानीआमा यहाँ बस्छौ भनेर बुबालेभन्नुभयो, हामीले मानेनौँ। अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन भनेर मैले छोराछोरीलाई मामाघर पनि नजाओ, कोठा नछोड भनेँ । यसैबीचमा छोरीले एस. एल. सी. पास गरिन् । मलाई ज्यादा पीर छोराको थियो, कुलतमा लाग्ने पो हो कि भन्ने । मेरो त सब बर्बाद भैसकेको थियो । मलाई आफूलाई सम्हाल्न गाह्रो भैरहेको थियो । विवाह गरेको दिनदेखि अहिलसम्म मेरा श्रीमान्ले मलाई गरेको माया, मसित सरसल्लाह, भावी योजना सबै मेरा सामु सिनेमाझैँ नाचिरहेका थिए ।

 

म इजरायल आएको चार वर्ष भयो, छोराछोरी दुवै कलेजमा पढ्दैछन् । घरमा बाबु र सानीआमालाई आउन दिएनन् ।छोरीको फोन आयो, उनले भनिन्— मामू आएर मेरो विवाह गरिदिनू न । आपूmसँगै पढ्ने पोखरा घर भएको केटासित उनी विवाह गर्ने रे । म दशैँमा घर आएर नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए, कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई, छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ, भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी, श्रीमान् सब पर ।

 

एक मन भन्छ समय अनुसार चल्नुपर्ने मान्छेको नियती हो । जब मान्छेलाई सत्यबोध हुन्छ, उसलाई कुनै कुराले दुखाउँदैन, मलाई पनि त्यस्तै भइरहेको छ । जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ! जब श्रीमान्को जरुरत बढी पर्छ त्यो बेला मलाई श्रीमान्ले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ? तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोस्रो विवाह सजिलै गर्छन् तर म कसलाई भनूँ, मसित विवाह गर्छौ भनेर । के भन्ने ? एक जना सासूलाई नयाँ श्रीमान् चाहियो ? मलाई धोका दिने श्रीमान्लाई देखाउनलाई भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित … ।

 इमेज खबरबाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको