पछिल्ला वर्षमा सीमामा यस्ता छन् भारतका ज्यादतीहरु

शुक्रबार, ०४ चैत २०७३

 

भारतीय सीमा सुरक्षा वल (एसएसबी)ले चलाएको गोली लागेर पुनर्वास–८, आनन्दबजार कञ्चनपुरका गोविन्द गौतमको २६ फागुनमा मृत्यु भएपछि ठाउँ–ठाउँमा विरोध प्रदर्शन भइरहेका छन्। घटनाको सडकदेखि सदनसम्म निन्दा भइरहेको छ।

 

 

तर एसएसबीले नेपाली सीमा क्षेत्रमा दर्जनौँ ज्यादती गरेका उदाहरणहरु छन्। यसअघिका घटनाहरुमा नेपालीहरुले न त क्षतिपूर्ती पाए न त भारत सरकारले माफी नै मागेको छ। पछिल्ला बर्षमा भए केही प्रतिनिधि घटनाहरुलाई हेर्दा मात्र यसबारे धेरै कुरा भेउ पाउन सकिन्छ।

 

एसएसबीले चैत्र, ०६७ मा बर्दियाका स्थानीय हर्कबहादुर शाहीलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो। हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीले शाहीलाई नियन्त्रणमा लिएर २३ दिनपछि हत्या गरेको खुलेको थियो। शाहीलाई नियन्त्रणमा लिनुभन्दा अघि खुट्टामा गोली हानिएको थियो। शाहीको शवसमेत एसएसबीले नेपाललाई दिएन।

 

त्यस्तै, एसएसबीले १० वर्षअघि बर्दियाको गुलरिया नगरपालिका–४ तेजीपुरका रामदुलारे पासवानलाई दशगजामा गोली हानेर हत्या गरेको थियो। पासवानले भारतीय सीमावर्ती बजार मिहीपुरुवाबाट घरायसी सामान ल्याउँदै गर्दा गोली प्रहार भएको थियो।

 

मंसिर ९, २०७२ मा एसएसबीका केही जवान सुनसरीको सीमावर्ती हरिहरपुर गाविस प्रवेश गरी नेपाली माथि गोली बर्साए। बिनाअनुमति नेपाली सीमाभित्र पसेका एसएसबीका जवानले चलाएको गोलीबाट स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भए।


नयाँ संविधान जारी गरेकोमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाइरहेका बेला एसएसबीका जवान नेपालभित्र प्रवेश गरी नेपालीमाथि नै गोली बर्साएका थिए।

 

हरिहरपुर घटनाको चार दिन बित्न नपाउँदै २०७२ मंसिर १३ गते बिहान ७ बजे झापाको केचना गाविसमा भारतीय एसएसबीका १३ जवान हतियारसहित प्रवेश गरे। नेपाली सुरक्षा निकायले उनीहरुलाई नियन्त्रणमा लियो। पछि, सहमतिमा सरकारले उनीहरुलाई भारतसमक्ष बुझायो।


१३ श्रावण, ०७३ मा सप्तरीको तिलाठीमा भारतीय पक्षले नेपालको दशगजा मिचेर बाँध बनाउँदा झडप भएको थियो। भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायतका नागरिकले नेपालतर्फको दशगजा (तिलाठी) मिचेर बनाउँदै गरेको बाँध निर्माणले ठूलो झडप निम्त्याएको थियो।

 

तिलाठीको दोहोरो झडपमा परी ८ जना नेपाली घाइते भएका थिए। जसमा देवनारायण यादवसहित तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा र सन्तोष झा थिए। यद्यपी नेपाली पक्षको कडा प्रतिकारपछि भारतीयहरु बाँध निर्माण गर्न नसकी पछि हट्न बाध्य भएका थिए।

 

एसएसबीको ज्यादती यति मात्र होइन, २६ जेठ, ०७२ मा कपिलवस्तुस्थित नेपाली भू–भागमा पर्ने गुगौली गाविस–३ वीरनगर भाठामा वन कार्यालयद्वारा सुरु गरिएको तारबार गर्ने कार्यलाई भारतीय एसएसबीले जबर्जस्ती रोकेको थियो।


गत भदौं २८ गते भारतीय एसएसबीद्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिए। विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका थिए।

 

 

ठोरीमा पटक–पटक एसएसबीको हस्तक्षेप

 

 

पर्साको ठोरीमा एसएसबीले पटक–पटक नेपालको सीमाभित्र आएर नेपालीलाई दुःख दिंदै आएको छ।

 

१० असोज, ०६७ मा ठोरी गाविस–७ स्थित बाढी पीडितहरूलाई आफनै भूमिमा पुनर्वास गराउंदा भारतीय एसएसबीले अवरोध र्पुयाएको थियो। ठोरी बजारमा रहेको १९ घर नेपालभित्रै पर्ने सरस्वती खोलाले बगाएपछि सोही वडाको अर्को खाली सरकारी सार्वजनिक जग्गामा विस्थापितहरूले घर–टहरो बनाउन थालेका थिए। उक्त स्थानमा घर–टहरो बनाउन थालेपछि भारतको भिखना ठोरीमा रहेको एसएसबी जवानहरू पुगेर अनाहक रुपमा बन्दुक तेर्स्याउंदै विस्थापितहरूलाई अवरोध सृजना गरी निर्माण रोक्का गरेका थिए।

 

१९ माघ, ०७० मा पनि ठोरी गाविसमा माइती नेपालको प्रहरी विट निर्माणमा एसएसबीका जवान हतियारसहित प्रवेश गरी अवरोध पुर्याएपछि तनाव उत्पन्न भएको थियो। एसएसबीका जवान हतियारसहित आएर निर्माण रोक्न दबाब दिएका थिए।

 

८ वटा भ्यानमा चढेर हतियारसहित मुलुक प्रवेश गरेका एसएसबीका जवानले यो निर्माण कार्य भारतीय भूमिमा हुँदैछ, कार्य अघि नबढाउनु भन्दै रोक्न खोजेपछि तनाव भएको थियो। स्थानीय बासिन्दाको प्रतिकारपछि भारतीय सुरक्षाकर्मी आफ्नै क्याममा फर्किएका थिए।
१२ साउन, ०७२ मा नेपाली भूमीबाट बगेको कुलो भारतीयले जबरजस्ती भत्काइ दिएपछि पर्साको ठोरीमा नेपाली र भारतीय बीच झडप भएको थियो।

 

सीमामा रहेको ठुटे खोलाको कुलोको पानीको विषयमा विवाद हुदा भारतीयहरुले नेपाली भूमी भित्रै पसेर नेपालीमाथि आक्रमण गरेका थिए। भारतीय पक्षका सुरक्षाकर्मीहरुको आक्रमणबाट घाइते हूनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्द लाल महत्तो, पर्सा निर्मलवस्ती २ घर भएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक, निर्मलवस्ती १ रामनगरका चन्द्र बहादुर मिजार र त्यही ठाँउका तिलकबहादुर बस्नेत एक जना प्रहरी जवानसहित चार जना गम्भिर घाइते भएका थिए।

 

तर सोही ठोरीमा भारतले दाबी गर्दै आएको झन्डै एक सय रोपनी जमिनमाथि नेपालको हकदाबी स्थापित भयो। देहरादुनमा मुख्यालय रहेको भारतीय सीमा सर्वेक्षण विभागका अधिकारीहरूको उपस्थितिमा ९–१० जेठ, ०७२ मा नेपालको दाबी अनुसार नै नयाँ सीमा स्तम्भहरू गाडिएपछि ठोरीको विवादित १४.५ एकड (एक सय रोपनीभन्दा धेरै) जमिनमा नेपालको सार्वभौमिकता स्थापित भएको थियो।

 

नेपाल–भारत संयुक्त सीमा प्राविधिक समितिले १६ पुस ०६४ अघि नै तयार पारेको धर्से नक्सा अनुसार ०७२ जेठको दोस्रो साता ठोरीमा सीमा राख्ने कार्य सम्पन्न भएपछि विवादित भूमि आधिकारिक रूपमा नेपालको भागमा आइपुग्यो।

 

सुस्तामा झन् ज्यादती

 

 

गत पुषमा मात्र नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो। त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको थियो।


निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी, वालुवा, सिमेन्ट, अन्य उपकरण मिल्काइदिने, कामदारलाई धम्की दिने, निर्माण सामग्री तथा कच्चापदार्थ ओसारपसारमा भारतीय भूमि प्रयोग गर्न नदिने लगायतका समस्या एसएसबीबाट नेपाली पक्षले झेल्दै आएको छ।

 

सुस्तामा एसएसबीको सहयोगमा भारतीयहरुले नेपाली भूमि अतिक्रमण गर्नेक्रम जारी राखेका छन्। त्यतिमात्र होइन, सुस्तामा नेपालीभूमिमा बाली लगाउन समेत एसएसबीले रोक लगाउँदै आएको छ।

 

सुस्ताको करिब १० हजार बिगाह जग्गा मध्ये ८० प्रतिशत जग्गामा उँखु खेती गदै आएको छ। नगदे बालीको रुपमा स्थानीयबासीले सुस्तामा बर्षौ देखि उखु खेती गर्दै आएकोमा एसएसबीले गत माघमा अवरोध सृजना गरेको थियो।


०६५ भदौको दोस्रो साता सुस्ताबाट एसएसबीले पाँचजना नेपालीलाई पक्राउ गरेका थिए। एक बालकसहित ५ जना नेपालीलाईलाई सुस्ताबाट पक्राउ गरिएको थियो।

 

सुस्ताबाट डुंगामा नारायणी नदी तरेर आउँदै गरेका स्थानीय मुन्ना खांलाई पक्राउ गर्न आएका एसएसबीले उनलाई पक्राउ गर्न नसकेपछि उनका छोरा १४ बर्षीय छोरा सलाम खाँलाई समेत पक्राउ गरी भारत लगेका थिए।

 

सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार एसएसबीले नेपाली भूमिभित्र हतियारसहित पसेको दर्जनौं घटना र ज्यादति नरोकिनुमा सरकारको मौनता रहेको जनाए। ‘अहिलेसम्म सरकारले भारतसँग यस विषयमा बलियोसँग कुरा उठाएकै छैन’ उनले भने।

 

एक दशक अगाडि काठमाडौंको थापाथलीसम्म आएर भारतीय सुरक्षाकर्मीले खानतलासी गरेका थिए।

 

 

- नेपालखबर बाट, चन्द्रलाल गिरी लेखेको  समाचार


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको