देवकीको ‘देउकी’ खोजी

आइतबार, ०६ चैत २०७३

 

मलाई आफ्नै नाम बिझाउँथ्यो। आफ्नै नाम भारी लाग्थ्यो। 

पुरोहितले न्वारनमा राखिदिएको नाम हो, दीपावली। अलि लामो भयो भनेर पुरोहितले नै देवकी राखिदिएका रे।
...

हुन त देउकी प्रथाबारे धेरै विवाद छन्। मैले पढेकोमध्ये पदमराज जोशी लिखित पुस्तक ‘कालो पातल’अनुसार १४ औं शताब्दीमा नागी मल्लले डोटी राज्य विस्तार गरे। अहिले पहिलेको डोटी राज्यअन्तर्गत नौ जिल्ला पर्छन्।

छिमेकी राज्यमाथि विजय हासिल गर्दै गएपछि नागी मल्ललाई अहम् चढ्यो। उनले आफू नै सबैभन्दा ठूलो भन्ने भ्रम प¥यो। पहिले उनले तान्त्रिक शक्ति भएकाहरुसँग जोरी खोजे। धामीझाँक्रीको शक्तिको परिक्षण गर्न भन्दै उनले डाँडाका टुप्पामा लगेर काम्न लगाए। काम्दै गर्दा धामीहरु खसेर मरे।

यसरी धेरै धामीझाँक्रीलाई मारेपछि उनले देउतासँग पनि प्रतिष्पर्धा गर्ने निर्णय लिए। भागेश्वर देउतासँग उनले ‘कोभन्दा को ठूलो’ भन्ने विवाद गरे।

नागी मल्लले भागेश्वरलाई भारी वर्षा गराउन चुनौति दिए। देउताले चुनौति स्वीकारे र क्षणभरमै बादल–बादल जुधाएर घनघोर वर्षा गराइदिए। नागी मल्लको राज्य काम्न थाल्यो।

नागी मल्ल हारे, भागेश्वरले जिते। विजेता भागेश्वरले नागी मल्लको राज्य अनिष्ट हुने भन्दै श्राप दिए। नागी मल्ललाई श्राप लाग्यो। अनि, उनले प्रार्थन गरे, ‘मैले तिम्रो शक्ति चिनेँ प्रभु! मेरो घमण्ड तोडियो। तिमी नै ठूलो हौ।’

नागी मल्लले यति भन्दै देउताका लागि गरेका केही भाकलमध्ये एउटा देउका र देउकी सेवाका लागि चढाउने वचन दिए।

गढवालबाट राज्यविस्तार गर्दै आएका सेनाले विपक्षी राज्यका महिलाहरुलाई बलात्कार गरेका थिए। तिनका सन्तानलाई ‘लम्ड्या’ भनिन्थ्यो। ती सन्तानलाई धनीहरु दास बनाउँथे। नागी मल्लले तिनै लम्ड्यालाई देउका र देउकी बनाएर मन्दिरमा चढाए। ती देउका र देउकी सधैंका लागि देवी र देउता कहलिने घोषणा पनि गरे।

यसरी चढाइएकी देउकीलाई चढाइने पक्षबाट छोरासरह अंश दिने घोषणा पनि भयो। वर्षेनी तिनका पालनपोषणका लागि अन्न र लुगाफाटो दिनुपर्ने नियम बनाइयो। तर, उक्त देउकीले कहिल्यै बिहे गर्न नपाउने तर, सम्भोग गर्न भने पाउने नियम बन्यो। यो उनीहरुको स्वतन्त्रताका लागि भन्दा पनि पुरुषले भोग गर्न बनाइएको नियम थियो।

पुरुषप्रधान समाजमा देउका चाँडै स्वतन्त्र भयो। अरुका बराबरीमा सेवाभोग गर्न नपाए पनि देउकीको तुलनामा देउकाले मन लागेको काम गर्न थाल्यो।

देउकीले बिहे गर्न नपाए पनि ऊ बसेको घरमा पुरुषहरु यौनसम्पर्कका लागि धाउन थाले। कति त बलात्कृत पनि हुन्थे। यसरी फरक–फरक पुरुषसँगको संसर्गबाट बच्चा जन्मँदै गए। तर, ती देउकीबाट जन्मिएका सन्तान कसका हुन्, कि सम्बन्धित पुरुषलाई थाहा हुन्थ्यो, कि देउकीलाई मात्र।

यसरी देउकीबाट जन्मिएका सन्तान पनि स्वतः देउका/देउकी भए। सन्तानले भने बिहे गर्न पाउँथे, तर कथित उच्च जातका भए पनि त्यही जातकाले भने उनीहरुसँग बिहे गर्थेन। गोत्र फरक भएका देउका र देउकीबीच मात्र बिहे हुन्थ्यो।

कथित सांस्कारिक घरकाले किन स्वीकार गर्थेनन् भने, देउकीलाई देवी मानिए पनि धेरै पुरुषसँग संसर्ग हुने भएकाले उनीहरु ‘वेश्या’ घोषित थिए। राति तिनै पुरुषहरु देउकीको ओछ्यानसम्म धाउँथे, दिउँसो आँखा परे पनि पाप लाग्लाझैं गरी बाटो काटेर जान्थे। किनकि, ती पुरुषलाई डर थियो, देउकी वेश्या हुन् र वेश्यालाई आँखा लाउँदा समाजले ‘बात’ लाउँछ।

...

मेरो पुख्र्यौली घर दार्चुला। जन्मे–हुर्केँ महेन्द्रनगरमा।

स्कुल जान थालेपछि सबैले देवकी होइन, देउकी भन्न थाले। अरु साथीहरुका नाम सुन्दा मेरो नाम परम्परागत लाग्थ्यो। देवकीसम्म त ठिकै थियो, स्कुलमा त्यो नाम पनि बिगारेर देउकी भनेर बोलाइन थालेपछि म रिसाहा भएँ। अंग्रेजीमा लेख्दा ‘Devaki’ लेखे पनि ‘Dewaki’ लेखिदिए। 

मलाई आफ्नै नामप्रति घृणा जाग्न थाल्यो। बिझाउन थाल्यो। आफ्नै नाम बोझ बन्यो। किनकि, मैले सुनेको थिएँ, देउकी भनेका ‘वेश्या’ हुन्। पश्चिमतिर महिलालाई गाली गर्नुपरे अझै पनि 'देउकी/देउकिनी' भनिन्छ।

घरमा झगडा गरेँ, कसले मेरो यस्तो नाम राखिदियो? मेरो नाम फेरिदिनु।

आमा भन्नुहुन्थ्यो, ‘देवीको नाम छ, किन फेर्नु नि? तँ पनि माओवादीको जस्तो कुरा गर्छेस्!’

विस्तारै मलाई महिलामाथिको थिचोमिचो र धर्मप्रति नै प्रश्न गर्न मन लाग्यो। त्यसैले सानैमा ‘विद्रोही’ बनेँ।

आमाबुवालाई सोधेँ, ‘देउकी भनेको के हो?’

आमाका बाले पनि गरीब परिवारकी चेलीलाई किनेर देउकी चढाउनुभएको रहेछ। आमाले सानैमा त्यो देख्नुभएको थियो। बुवा नेपाल प्रहरीमा भएकाले राजा वीरेन्द्रले ६ जना देउकीलाई प्रहरीमा जागिर दिएको सुनाउनुभयो।

छिमेकमा पनि एक जना देउकी हुनुहुन्थ्यो।

यसरी देउकीका अनेक कथा र किस्सा घरबाटै सुनेँ।

जब चेतना बढ्दै गयो, किनेर मन्दिरमा चढा एउटी निर्दोष चेलीलाई कति सकस हुँदो हो, कल्पना गर्न थालेँ। मलाई मेरो नाम बिगारेर जुन नामले बोलाइन्थ्यो, पछि–पछि त त्यो नाम मेरै होजस्तो लाग्न थाल्यो। साँच्चिकै देउकीलाई त्यो शब्दले कति घोच्थ्यो कुन्नी! म अनुमान मात्र गर्न सक्थेँ। तर, मैले भोगेको समाज र देउकीले भोग्ने समाज फरक थियो।

हिजो त्यो शब्दलाई गलत अर्थमा बुझेकाले नामले बिझाउँथ्यो। बुझ्ने भएपछि शब्दको सही अर्थ र धर्मका नाममा महिलाको किनबेच हुने थाहा भएपछि देउकी शब्द मलाई भारी हुन थाल्यो।

पछि काठमाडौं आएँ। यहाँ मलाई देउकी भन्ने कोही थिएन। किनकि, यहाँ देउकी भन्ने शब्द नै थिएन। देउकीलाई देवकी भनिन्थ्यो/लेखिन्थ्यो। मलाई यहाँ मेरो खास नामले नै बोलाइन्थ्यो तर म देउकी सुन्थेँ। नामको ऐँठनले मलाई काठमाडौंमा पनि पिछा छोडेन।

रेडियो/टेलिभिजन पत्रकारिता सुरु गरेपछि मैले महिलाका विषयमा समाचार बनाउन थालेँ। मलाई केन्द्रका भन्दा किनाराका महिलाका कुरा सुन्न मन हुन्थ्यो।

देउकी प्रथा यस्तै पर अनकन्टार ठाउँको महिलाको दर्दनाक कहानी थियो।

फिल्म हेर्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव धाउन थालेपछि मेरो मनमा डकुमेन्ट्री बनाउने झिल्को उठ्यो। लाग्यो, यस्ता विषय त मसँग कति छन् छन्।

मलाई जुन नामले छटपटी दिइरहेको थियो, मैले त्यही नामको खोजबीन गर्ने सोच बनाएँ। फोटो पत्रकारितामा संलग्न भएकाले मलाई देउकीहरुको कहानी दृश्यमै उतार्न मन थियो। मैले देउकी प्रथामाथि डकुमेन्ट्री बने/नबनेको खोजनीति गर्न थालेँ। किताबहरु खोजेँ। देउकी प्रथाको ईतिहास खोतल्न थालेँ। तर, डकुमेन्ट्री त छँदै थिएनन्। गहिरो अनुसन्धान गरेर लेखिएका किताब पनि पाइएन।

डकुमेन्ट्री बनाउन पुग्ने पैसा थिएन। केही साथीहरुले सहयोग गर्ने वचन दिए। पत्रकारिता गरेर आएको तलब डकुमेन्ट्रीका लागि छुट्याएँ। झन्डै ६ वर्षअघि, रिसर्चका लागि निस्किएँ काठमाडौंबाट।
बुवा–ममीबाट सुनेका पात्र र ठाउँहरु पछ्याउँदै बैतडी पुगेँ।

बैतडीमा सातवटा शक्तिपीठहरु छन्। ती शक्तिपीठ यति शक्तिशाली छ कि, यहाँको राजनीति, प्रशासन, समाज सबै शक्तिपीठबाट चल्छ। शक्तिपीठमा गरिबहरुमाथि धनाढ्यहरुले शक्तिप्रदर्शन गर्छन्। म ती शक्तिपीठहरुमा पुगेँ।

अचेल पहिलेजस्तो खुल्लमखुल्ला देउकी चढाइँदैन। चढाइहाले पनि प्रहरी, प्रशासन सबै मुकदर्शक मात्र हुन्। त्यहाँको मूल नीतिलाई धर्मले नै चलाइरहेको छ। त्यसविरुद्ध बोल्नु भनेको देउताविरुद्ध जानु हो, भन्ने मान्यता धेरैको छ।

देउकीका लागि कुख्यात ठाउँ हुँदाहुँदै पनि अचम्मचाहिँ के भने, देउकीबारे कोही पनि बोल्नै नमान्ने। देउकी शब्द त त्यहाँ उच्चारण गर्नै हुँदैन। मैले धर्मसंस्कृतिबारे अनुसन्धान गर्न आएको बताएकी थिएँ।

मैले बुवाले सुनाउनुभएको– राजा वीरेन्द्रको पालामा प्रहरीमा जागिर पाएका देउकीहरुलाई पनि भेटेँ। एक देउकी असइ छिन्। पढ्नलेख्न नजान्ने भएकाले सिपाहीदेखि सबैले उनलाई हेप्छन्। 

मेलौली गाउँ देउकी गाउँ पुगेर पुराना देउकीहरुलाई भेटेँ। बाबु नखुलेका सन्तानहरुसँग भेटेँ। नेता लोकेन्द्रबहादुर चन्दले चढाएको देउकी पनि भेटेँ। भन्न त उनले दाजुभाइले चढाएका हुन् भन्छन्। तर, देउकी चढाउँदा सबै दाजुभाइ साथै हुनुपर्छ।

रमाइलो कुराचाहिँ के भने, त्यहाँ एक देवकी नामकी महिला थिइन्। मैले आफ्नो अनुसन्धानका लागि ज–जसलाई भेट्नुपर्ने हुन्थ्यो, उनीहरुलाई फोन गर्दा धेरैले ती देवकी भन्ठान्थे। म एक ठाउँमा जस्तो भेषमा हुन्थेँ, अर्को गाउँ पुग्दा अर्कै भेषमा पुग्थेँ। अनुसन्धानकै क्रममा पटक–पटक पुग्दा म पहिलेभन्दा नचिनिने गरी भेष बदलेर जान्थेँ।

मलाई त दृश्य ल्याउनु थियो, तर क्यामरा शब्द सुन्नेबित्तिकै उनीहरु तर्सिहाल्थे। क्यामरा नभए जति पनि कुरा गर्थे, क्यामराअगाडि कोही बोल्नै नमान्ने। कति दृश्यहरु त उनीहरुलाई थाहै नदिई मोबाइल या गोप्रोबाट खिचेँ। म पत्रकार पनि भएकाले मलाई यो नियमविपरित भन्ने थाहा थियो। तर, समाजपरिवर्तनका लागि कहिलेकाहिँ नियम तोड्नु पनि पर्दो रहेछ!

धम्कीसम्म खानुप¥यो।

देउकीहरुबाटै खप्की खानुप¥यो, ‘तँ पनि आइएनजिओ/एनजिओको झोला बोकेर आएकी त होस् नि। तँ हाम्रो फोटो बेचेर पैसा कमाउँछेस्। हाम्रो बेइज्जत गर्छेस्।’

केहीले भने, ‘तँ मरेको मुर्दा उखाड्न आएको?’

‘कहाँ मरेको छ र? पहिलेकोभन्दा घटेको होला तर देउकी प्रथा त अझै छ नि,’ जवाफ मेरो मनमा मात्र हुन्थ्यो। बोल्न त सके पो!

जंगलको बाटो, चितुवाको डर, अझ त्यहाँमाथि देउकीको कुरा गर्न गएको छ। जे पनि हुन सक्थ्यो! तर, घरमा यी सबै कुरा भनेकी थिइनँ।

पार्वती धामी। मैले सम्झिने पात्र हुन्। यी एक्ली देउकी हुन्, जसले खुलेर म देउकी हुँ भनिन्। क्यामराअगाडि बोलिन्। न कोही पुरुष बोल्न सक्थ्यो, न परिवर्तनका लागि लागेका भनिएका राजनीतिक दलका मानिस। तर, पार्वतीले खुलेर बोल्ने आँट देखाइन्।

छोरा नभएको, कुनै सफलता हात नपरेको, या केही प्राप्तीका लागि पैसा भएकाहरु अझै पनि लाखौं तिरेर देउकी किनेर चढाउँछन्। पार्वती १३/१४ वर्षको छँदा उनका दाइले उनलाई ५० हजारमा बेचिदिएका हुन् रे। उनका दुई छोरा छन्। तर, दुई छोरालाई आफ्नो शरीरमा कुन पुरुषको रगत बगिरहेको छ थाहा छैन। उनीहरु अलग–अलग बाबुबाट जन्मिएका सन्तान हुन्।

उनलाई ‘तँलाई बिहे गर्छु’ भन्ने लोभ देखाएर पुरुषहरुले शारिरिक सम्पर्क राखे। उनले पत्याइन्। छोरा जन्माइन्। तर, त्यो पुरुष फरार भयो। अर्को पुरुष आइपुग्यो, उस्तै लोभ देखायो। उनले फेरि पनि पत्याइन्। दोस्रो छोरा गर्भमा बस्यो। बिहे गर भनिन्। तब दोस्रो पुरुषले भन्यो, ‘पहिलेको केटालाई किन भनिनस्, म तँलाई किन बिहे गरौं?’

पार्वती त प्रतिनिधी पात्र हुन्। नाम खुलाउन नचाहने, बोल्न नचाहने त्यस्ता थुप्रै देउकी छन् जोसँग पुरुषहरु शारिरिक सम्पर्क राख्छन् र गर्भ बसेपछि भागेर कोही भारत पस्छन्, कोही टाढा पुग्छन्। जसले देउकी चढाएको हो, उसले छोरासरह अंश दिनुपर्ने, खानलाउन पुग्ने अन्न र लुगाफाटो नियमित दिनुपर्ने भन्ने चलन थियो पहिले। अहिले त त्यो पनि दिँदैनन्। आफन्तलाई पैसा दिएर किन्छन् र मन्दिरमा ल्याएर छोडिदिन्छन्।

उनीहरु भागेर पर जान पनि पाउँदैन्न। उनीहरुको मनमा यस्तो अन्धविश्वास जगाइदिएको हुन्छ कि हरेक पर्वमा मन्दिर पुगेर पूजा गर्नैपर्छ। नत्र देउता रिसाउँछन्। देउता रिसाए अनिष्ट हुन्छ।

पार्वतीको घर पुग्दा उनको घरमा मकैको पिठो मात्र थियो। हामी पुगेपछि गहुँको पिठो खोजेर ल्याइन् र रोटी बनाएर हामीलाई ‘अतिथि सत्कार’ गरिन्। देउकी चढाएकाले दिएको एक वर्षअघिको कम्मल हामीलाई दिइन्, उनी र उनका दुई छोरा पुरानो लुगा ओढेर सुते।

यसरी खोजेर डकुमेन्ट्री तयार पार्न मलाई ६ वर्ष लाग्यो। तर, ६ वर्षमा के–के न खोजियो भनेको दृश्यका लागि त केही नै पो भेटिएको रहेनछ! मैले भेटेका थुप्रै कथाहरु थिए। ती सबै जम्मा गर्ने हो भने त किताबको ठेली नै बन्छ। तर, डकुमेन्ट्रीका लागि त दृश्य चाहिन्छ। मैले लुकेर खिचेका दृश्यहरु हालेँ। लुकेर खिचेका सबै दृश्य हाल्न मिल्ने पनि थिएनन्, किनकि, उनीहरुसँग अनुमति लिइएको थिएन र डकुमेन्ट्रीमा राख्दा उनीहरुलाई समाजमा बाँच्न गाह्रो हुन्थ्यो। अनुहार नदेखाई हाल्दा डकुमेन्ट्री सबै ‘ब्लर’ हुन्थ्यो।

त्यसैले त्यसको एक मुख्य पात्र म आफैं बनेँ र देखिएँ। किनकि, म आफैं पनि त पात्र थिएँ। सानैदेखि मलाई जुन कुराले बिझाएको थियो, त्यसैले मलाई यो डकुमेन्ट्री बनाउन घच्घच्यायो।

अहिले मलाई मेरो नाम बिझाउँदैन। तर, ती देउकी नाम बिझाउँछ। शब्दको अर्थका कारण होइन, उनीहरु जसरी बाँचिरहेका छन्, त्यसले बिझाउँछ। पहिले नाम भारी हुन्थ्यो, अहिले मन भारी हुन्छ।

मैले भेटेको अर्को एक पात्र छिन्, जो देउकी हुन्। उनकी छोरी काठमाडौंमा नर्सिङ पढ्दैछिन्। उनी आमालाई फोन गर्दिनन्। घर गएका बेला बाहिर निस्किँदिनन्। आमासँग राम्रोसँग बोल्दा पनि बोल्दिनन्।

ती आमाको मनमा के पीडा होला? ती आमा पीडाले भक्कानिएको देखेकी छु। ती छोरीको मनमा के बितिरहेको होला? देउकी शब्दले एउटा महिलालाई मात्र होइन, समग्र पुस्तालाई कति बिझाउँदो रहेछ त?

म चाहन्छु, उनीहरु सम्मानपूर्वक जिउन पाउन्। धर्मका नाममा अबोध बालिकाहरुको किनबेच नहोस्। उनीहरुमाथि धर्म, पद र सत्ताप्राप्तिको राजनीति नहोस्।

(समुन्द्र राज घिमिरेसँगको कुराकानीमा अाधारित)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको