बैंकिङ जागीर छोडेर कृषिमा फर्किए युवाहरु

मङ्गलबार, १५ चैत २०७३

 

भक्तपुर दुवाकोटका नवीन न्यौपाने बैंक अफ काठमान्डू लुम्बिनीको मुख्य कार्यालय कमलपोखरीमा काम गरिरहेका थिए । उनले त्यहाँ ८ वर्ष काम गरे । पारिश्रमिक राम्रै थियो । बैंकिङ करिअर धेरैजसो मानिसहरुको चाहानाभित्र पर्छ । उनले पनि कुनै बेला बैंकमा भविष्य राम्रै देखेर करिअर सुरु गरेका थिए । तर कालान्तरमा उनले अचानक सोच परिवर्तन गरे । बैंकमा काम गरिराखेर आफुले चाहेजस्तो उपलब्धि हाँसिल नहुने निश्कर्षमा पुगे र बैंकको जागिर छाडेर कृषि पेशामा लागे ।

 

नेपालका अधिकांश युवा कृषि पेशाप्रति त्यति आकर्षित भएको पाइदैन । तर नवीनले बैंकको जागिर छाडेर कृषि पेशा अंगाले । बैंकको जागिर छाडेको थाहा पाएपछि घरबाट नवीनलाई एकपटक त निकै झपारे । जसोतसो सम्झाएर उनी व्यवसायिक कृषि पेशामा होमिएका छन् ।  

 

उनीसंगै बैंक अफ काठमान्डू लुम्बिनी शाखा कार्यालय भक्तपुरमा काम गर्ने सुरेन्द्र न्यौपाने र सिटिजन्स् बैंक भक्तपुर शाखामा काम गर्ने अनिल न्यौपाने पनि झण्डै एक दशकको बैंकिङ करिअरलाई बिट मारेर व्यवसायिक कृषिमा ‘जम्प’ गरेका छन् । उनीहरु वातानुकुलित मेसिनयुक्त एसी रुपमा काम गर्न छाडेर घाम–पानी सहेर माटोमा काम गर्न मैदान उत्रिएका हुन् ।

 

दुवाकोटको सरस्वतीखेलमा तीन रोपनी खेत भाडामा लिएर अहिले तीन न्यौपानेको सहकार्यमा न्यौपाने बन्धु कृषि फार्म सञ्चालन गरिरहेका छन् । उनीहरूले पहिलो चरणमा दुवाकोटको सरस्वतीखेलमा तीन रोपनी खेत भाडामा लिएर व्यावसायिक गोलभेंडा खेती र माछापालन गरिरहेका छन् । उनीहरूको बारीमा अहिले गोलभेंडासँगै तीतेकरेला, काँक्रो, बोडी, धनियाँ र सिमी पनि फलिरहेको छ । जेठमा लगाएको गोलभेंडाबाट साउनसम्ममा ५० हजार आम्दानी भएको उनीहरुले बताए । सुरेन्द्रका अनुसार अहिले दैनिक २४ किलो गोलभेंडा उत्पादन भइरहेको छ । बेच्न अन्त दुःख गर्नुपर्दैन । गाउँकैलाई बेच्न पुगिरहेको छैन ।

 

न्यौपाने ब्रदर्सले २० फिट चौंडाइ र ४५ फिट लम्बाइ भएको पोखरीमा भने चार सय मुंग्री माछा पालेका छन् । उनीहरुले दसैंका लागि माछा बजार पठाउने तयारी गरिरहेका छन् । दोस्रो चरणअन्तर्गत अब आउने पुसभित्र थप पाँच रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि विस्तार गर्ने योजना उनीहरुको छ ।  

 

करिब साढे तीन लाख रुपैयाँबाट सुरु गरिएको फार्मको लगानी पुससम्ममा दस लाख पुग्ने अनिलले बताए । सीमित लगानीबाट बढी प्रतिफल लिने आफूहरूको लक्ष्य रहेको उनको भनाइ थियो । अहिले उनीहरू तीनैजना दैनिक खटिएर लागिरहेका छन् । बढी काम हुने बेला भने खेताला लगाउने गरेका छन् । यस्तै आआफ्नो घरघरमा काम हुँदा उनीहरूबीच आलोपालो हुने तथा खेताला थप्ने गरिएको छ ।

 

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सके नेपालको विकास गर्न सकने उनीहरुको ठहर छ । नवीन भन्छन् – ‘बैंकको जागिर पनि कहाँ सजिलो छ र ? भनेको बेला विदा पाइदैन । अरुको आदेशमा बाँधिएर काम गर्नुपर्छ । तर यो पेशा आफैमा सार्है आनन्दको छ । मेहनतको प्रतिफल आफुसंग देशले पनि पाउँछ ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको