बाबुराम भट्टराईको विरोध गर्ने मान्छे नेपाली होइन्ः करिश्मा मानन्धर

बिहिबार, १७ चैत २०७३

 

नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्।

 

मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् वैठकमा संयोजक डा. बाबुराम भट्टराईले असहमत विचार राख्न नदिएपछि विवाद भएको हो । पार्टीमा बाबुराम भन्दा फरक विचार राखिरहेका देव लिम्बूले वैठकमा पेस गर्न फरक मत दर्ता गराएका थिए । तर, डा. भट्टराईले फरक मत राख्नु पार्टी अनुशासन विपरित भएको ठहर गरेका छन् ।

 

मंगलबार वैठक उद्घाटन गर्दै भट्टराईले देशमा अनुशासनहिनता छाएको भन्दै आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको बताएका थिए । आफ्नो विरोध गर्ने देव लिम्बू पक्षलाई संकेत गर्दै उनले अनुशासनहिनहरुलाई छुट नदिइने बताएका थिए । बुधबारको वैठकको सुरुआतमा बाबुरामले भने– ‘मेरो विरोध गर्न हैसियत चाहिन्छ । हैसियत नै नभएकाहरुले मात्र मेरो विरोध गरिरहेका छन् ।’ देव लिम्बूको प्रस्तावलाई संकेत गर्दै उनले भने– ‘कतैबाट परिचालित र मेरो विरोध गर्नकै लागि ल्याइएको प्रस्तावमा छलफल हुन सक्दैन । नयाँ शक्ति भत्काउनका लागि प्रायोजित फरक मत राख्न पाइँदैन । भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्नेहरुलाई पार्टी छाड्न ढोका खुला छ । गए हुन्छ ।’

 

लिम्बूले बाबुरामको नेतृत्वमा पार्टीले जातिवादी, साम्प्रदायिक र भारतपरस्त विचार बोकेको भन्दै प्रस्ताव दर्ता गरेका थिए । वैठकको अघिल्लो दिन सोमबार बाबुरामले देव लिम्बू समर्थक निर्मल भट्टराई, चन्द्रदेव ओझा, मोहन बम, हरिराम रिमाल लगायतलाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसैगरी जिल्लाजिल्लामा लिम्बू समर्थक कार्यकर्तालाई बाबुराम पक्षले स्पष्टिकरण सोध्ने, पार्टीबाट निष्काशित गर्ने काम गरिरहेको छ ।

 

देव लिम्बूले आफ्नो प्रस्तावमा बाबुराम पक्षले लिएको लाइनको कडा विरोध गर्दै लेखेका छन्– ‘नयाँ शक्तिले बाटो विरायो । आर्थिक समृद्धिको एजेण्डालाई भन्दा पूराना शक्तिहरुले उठाउँदै आएका जातीय क्षेत्रीय एजेण्डामा ठक्कर खान पुग्यौं । पहिचान र अधिकारको खोलभित्र साम्प्रदायिकता बोकेका शक्तिहरुसँग हामी जोडियौं ।’

 

संविधान भत्काउने भारतीय डिजाइनमा बाबुरामले काम गरेको आरोप लगाउँदै उनले लेखेका छन्– ‘संविधान कार्यान्वयन नयाँ शक्तिको मुख्य एजेण्डा हुनुपर्नेमा संविधान भत्काउनुपर्छ भन्नेहरुसँग जोडियो ।’

 

‘भारतीय हस्तक्षेप अझ बढेर गएको छ र भारतले नेपाललाई जातीय रुपमा विभाजन गर्न चाहेको, जातीय द्धन्द बढाउन खोजेको प्रष्ट देखिन्छ’– लिम्बूले लेखेका छन्– ‘संविधान जारी गर्दा नाकावन्दी लगाउने भारतको नियत सम्बन्धमा सम्पूर्ण नेपाली जनता जानकार छन् । भारतको नियतलाई नयाँ शक्तिले सघाउन खोजेको देखिन्छ ।’

 

भारतीय हस्तक्षेप विरुद्ध नयाँ शक्तिले ठोस कार्यक्रम नदिनु र हस्तक्षेपलाई चिर्ने खालको विचार नदिनु गल्ती हो भन्ने विचार उनले राखेका छन् । नयाँ शक्तिबाट निकालिएका देव लिम्बू समर्थकहरुले भक्तपुरमा बेग्लै भेला आयोजना गरेका छन् । तर, सो भेलामा देव लिम्बू भने गएका छैनन् ।

 

नयाँ शक्तिमा रहेका पूर्व माओवादीहरु लिम्बूलाई प्रस्ताव पेस गर्न नदिने पक्षमा उभिएका थिए भने गैरमाओवादीहरु पार्टीभित्र फरक विचार राख्न दिइनुपर्ने पक्षमा उभिए । केही गैरमाओवादीहरुले पनि लिम्बूको प्रस्तावको कडा विरोध गरेका छन् । स्रोत अनुसार बैठक स्थल बाहिर आगनमा देव लिम्बूको प्रस्ताव प्रस्तुत गर्न दिने कि नदिने भन्ने विषयमा कार्यकर्ताहरु माझ विवाद हुँदा अभिनेत्री करिश्मा मानन्धर पनि मिसिएकी थिइन् । उनले ‘बाबुरामको विरोध कसैले पनि गर्न हुँदैन’ भनिन् । करिश्माको भनाई थियो– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’

 

करिश्माले हाकाहाकी भनिन्– ‘चुनाव हुँदैन त्यसपछि बाबुराम प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सुनेकी छु । त्यसपछि तपाईं हामी मन्त्री बनेर यो देशका लागि केही गर्न सक्छौं । यस्तो अवस्थामा बाबुरामको विरोध गर्नु गलत हो ।’ डा. भट्टराईले भारत विरोधी विचार राखेको र आफ्नो विरोध गरेको भन्दै लिम्बू सहितका नेताहरुलाई ट्विटरमा ब्लक गरेका थिए भने सामाजिक संजाल र मिडियामा आफ्नो पक्षमा अनिवार्य रुपमा बोल्न निर्देशन जारी गरेका थिए । डा. भट्टराईको प्रशंसामा बोल्नेहरुको विचार पार्टीको आधिकारिक वेवसाइमा राख्न थालिएको छ । यस क्रममा नयाँ शक्तिका अर्का नेता कृषिविज्ञ मदन राईले ‘बाबुराम जस्तो नेता विश्वमै छैन’ भनेको विचारलाई नयाँ शक्तिको आधिकारिक वेवसाइटमा राखिएको छ र त्यस्तै विचार अरुलाई पनि व्यक्त गर्न भनिएको छ ।

 

नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय परिषद् वैठकमा देव लिम्बूको अवधारणागत प्रस्तावको पूर्ण पाठ:

हाम्रो पार्टी नयाँ शक्ति, नेपाल स्थापनाको छोटो समयमा देशमा लोकप्रिय हुँदै गएको छ । पार्टी स्थापनाको यस अवधीमा राष्ट्रिय राजनीतिमा यसले आफ्नो महत्वपूर्ण स्थान बनाएको छ । यसमा हामी सबै गौरवान्वित हुनु पर्दछ ।

 

१) पार्टी स्थापनाको यो अवधीमा हामीले गर्न सक्ने जति उपलब्धी हासिल गर्न सकेका छैनौं, यो पनि त्यति नै सत्य हो । जुन परिवेश, अवधारणा र नारासाथ हाम्रो पार्टी स्थापना भएको थियो, त्यसले गर्दा हामीप्रति जनताको ठूलो आकर्षण र ध्यान रहन गयो । पार्टीको सुरुआती अवस्था र जनताको आकर्षण र अपेक्षाबीच हामीले तालमेल मिलाउन सकेनौं । यसले गर्दा पार्टीले लिनसक्ने जति आकार लिन सकेन । पार्टीका सामु अपार सम्भावना छ तर हामीले त्यसलाई समात्न सकिरहेका छैनौं । नयाँ अवधारणा, नवीन संगठनात्मक पद्धति, खुला र जनआधारित संगठन भएको हुनाले हामीले ठिक ढंगले नयाँ कार्यशैली स्थापित गर्न सकेका छैनौं ।

 

पार्टीमा हामी विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरु छौं । विगतमा राजनीतिमा नरहेका स्वतन्त्र व्यक्तिहरु तथा विभिन्न पार्टीमा योगदान गरेका व्यक्तिहरुबाट यो पार्टी निर्माण भएको छ । हामीमा पूराना शक्तिहरुमा रहँदाको विकृत कार्यशैली, चिन्तन र संगठनात्मक पद्धतिको दुष्प्रभाव अझै रहिरहेको छ । पूराना चिन्तनलाई विस्थापित गर्दै नयाँ शक्ति अनुकूलको चिन्तन र कार्यशैली हामीले ठिक ढंगले विकास गर्न सकिरहेका छैनौं । केन्द्रीय परिषद्को यस वैठकबाट यस सम्बन्धमा छलफल भई आगामी दिनका लागि मार्ग्निर्देशन हुन जरुरी छ ।

 

२) नयाँ शक्तिप्रति जनताको ठूलो आकर्षणको मुख्य कारण यसले अपनाएको पाँच स को सिद्धान्त नै हो । पूराना शक्तिहरुले राजनीतिको घीनलाग्दो खेलमा मात्र केन्द्रीत हुने, आफ्नो सत्ता स्वार्थका लागि मुलुकलाई राजनीतिक गतिरोधमा फसाउने काम गरिआए । क्रान्ति र परिवर्तनका नाममा उनीहरुले राज्यमा कुनै पनि संरचना, पद्धति र असल परम्पराहरुलाई स्थायी हुन र स्थापित हुन दिएनन् । यसको दुष्परिणाम आज देशले भोगिरहेको छ । यस्तै प्रवृत्तिका कारण आर्थिक समृद्धि नेपाली जनताको सपना मात्र रह्यो । यो यथार्थलाई दृष्टिगत गर्दै आर्थिक समृद्धिको नारा र कार्यक्रम बोकेर हाम्रो पार्टी स्थापित भएको हो । आन्दोलन र क्रान्तिबाट थाकेका नेपाली जनतामा हाम्रो पार्टी स्थापना र यसले बोकेको अवधारणाले ठूलो आशा पलायो ।

 

तर, हामी केही हदसम्म विचलित हुन पुग्यौं, बाटो विरायौं । आर्थिक समृद्धिको एजेण्डालाई भन्दा पूराना शक्तिहरुले उठाउँदै आएका जातीय क्षेत्रीय एजेण्डामा हामी ठक्कर खान पुग्यौं । पहिचान र अधिकारको खोलभित्र साम्प्रदायिकता बोकेका शक्तिहरुसँग हामी जानअन्जानमा जोडिँदै गयौं । यसले गर्दा आर्थिक समृद्धिको हाम्रो एजेण्डा ओझेलमा पर्न गयो भने हामी पनि पूराना शक्तिहरुजस्तै साम्प्रदायिकताको खेति गर्ने गोलचक्करमा फस्ने खतरा देखिन गयो । संविधान कार्यान्वयन हाम्रो मुख्य एजेण्डा हुनुपर्नेमा संविधान भत्काउनुपर्छ भन्नेहरुसँग हाम्रो पार्टी जोडिएको देखिन थाल्यो । यसले गर्दा जनतामा व्यापक भ्रम पैदा भयो र हाम्रो पार्टीलाई क्षति हुन गयो ।

 

हाम्रो पार्टीले जातीय साम्प्रदायिक तत्वहरुसँग सम्बन्ध विच्छेद गर्दै आर्थिक समृद्धि र संविधान कार्यान्वयनलाई मुख्य मुद्दा बनाएर अगाडि बढेको भए अहिले स्थानीय चुनावमा हाम्रो पार्टी देशको सर्वाधिक ठूलो पार्टीका रुपमा उदाउने निश्चित थियो । यसमा हामी चुकेका छौं ।

 

अतः पार्टीले जातीय, क्षेत्रीय, साम्प्रदायिक, जातिवादी तत्वहरुसँग सम्बन्ध विच्छेद गर्दै सम्पूर्ण नेपाली जनतालाई एकता र सदभावको सूत्रमा बाँध्ने बाटोमा हिँड्नुपर्छ । पार्टीले वर्गीय मुद्दालाई प्रधानता दिँदै आर्थिक समृद्धिको एजेण्डालाई दह्रोसँग समात्नुपर्छ ।

 

३) हाम्रो पार्टी स्थापना यता मुलुकको राजनीतिमा खासै ठूलो फेरबदल आएको छैन तर केही खतरनाक प्रवृत्तिहरु देखा परेका छन् । नेपालमाथि वैदेशिक हस्तक्षेप झनझन् बढ्दै गएको छ । सत्ताधारी तथा संसदीय पार्टीहरुले नेपालको भूराजनीतिक परिवेशलाई ध्यानमा राखेर तद अनुरुप नीति निर्माण गर्न सकेनन् । नेपाल कहिले भारततर्फ ढल्कने र कहिले भारतभन्दा धेरै टाढा जाने अवस्था विद्यमान रहेको छ । यस कालखण्डमा भारतीय हस्तक्षेप अझ बढेर गएको छ र भारतले नेपाललाई जातीय रुपमा विभाजन गर्न चाहेको, जातीय द्धन्द बढाउन खोजेको प्रष्ट देखिन्छ । नेपालले संविधान जारी गर्दा नाकावन्दी लगाउने भारतको नियत सम्बन्धमा सम्पूर्ण नेपाली जनता जानकार छन् । भारतको नियतलाई नयाँ शक्तिले सघाउन खोजेको आम जनधारणा देख्न सकिन्छ । यो धारणालाई चिर्दै नयाँ शक्ति पार्टी देशहितमा सबैभन्दा अब्बल र अग्रपंक्तिमा उभिने शक्ति हो भनेर अब हामीले व्यवहारमा देखाउनुपर्छ ।

 

नयाँ शक्ति सत्तास्वार्थमा लागेको पार्टी होइन । हाम्रो प्रष्ट धारणा छ– जनमतबाट हामी यो देशको नेतृत्व लिन्छौं र देशलाई समृद्धिको बाटोमा लैजान्छौं । हामीले सत्ताका लागि विदेशीको पिछलग्गू हुन जरुरी छैन । यस्तो घृणित काम पूराना शक्तिहरुले मात्र गर्छन् । त्यसैले उनीहरु भारतीय हस्तक्षेपको खुलेर विरोध गर्न सक्दैनन् बरु हस्तक्षेपलाई घुमाउरो समर्थन गर्छन् र कतिपय अवस्थामा हस्तक्षेप आमन्त्रण समेत गर्दछन् । नयाँ शक्ति स्पष्ट रुपमा यस्तो प्रवृत्ति विरुद्ध उभिनुपर्छ । पूराना शक्तिहरुको कुकर्म र भारतीय डिजाइनमा नेपालमा अहिले यस्तो अवस्था सिर्जना गरिएको छ कि भारतीय हस्तक्षेपको विरोध गर्नु भनेको भारतको विरोध गर्नु हो । वस्तुत यो सत्य होइन, भारतीय नीति तथा हस्तक्षेपको विरोध गर्नु भारतको विरोध होइन । भारतले नेपालमा पहाडी भेगका जनतालाई जातीय रुपमा विभाजित गर्ने र तराईमा जातीय विविधतालाई निस्तेज बनाउँदै एउटै मधेसी जाति भन्ने अवधारणा स्थापना गर्ने प्रयत्न गरिरहेको छ । भारतको यस्तो नीतिको भण्डाफोर गर्दै नेपाललाई सहि बाटोमा लैजाने काम पूराना राजनीतिक शक्तिहरुले किमार्थ गर्न सक्दैनन् । यसका लागि नयाँ शक्ति नै अगाडि बढ्नुपर्छ ।

 

नेपालको भूराजनीतिक जटिलता विशिष्ट प्रकारको छ । भारत र चीनबीच आपसी प्रतिस्पर्दा र द्धन्द एकसाथ चलिरहेको छ । उदाउँदा यी दुई विश्वशक्तिलाई सन्तुलनमा राख्दै नेपालको राष्ट्रिय हित गर्न सक्नुपर्छ । यस विपरित नेपाल भारततर्फ ढल्किएको मात्र नभएर लम्पसार नै परेको तथ्य हामीलाई थाहा नै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जाँदा जारी गरिएको राष्ट्रघाती २५ बूँदे संयुक्त विज्ञप्ति विरुद्ध हाम्रो पार्टीले विरोधका कार्यक्रम पनि गरेर जनताको मन जितकै हो । तर, त्यसयताका दिनमा हामीले भारतीय हस्तक्षेप विरुद्ध ठोस कार्यक्रम नदिनु, हस्तक्षेपलाई चिर्ने खालको विचार नदिनु हाम्रो गल्ती हो ।

 

४) राजनीतिक दल समाजकै प्रतिविम्ब हो र समाजमा हुने विकृति विसंगतिबाट कुनै पनि जनआधारित पार्टी अछुतो रहन सक्दैन । झन हाम्रो त नयाँ पार्टी हो । पार्टी मात्र नयाँ नभएर समग्र विचार नै नयाँ हो । त्यसैले हाम्रा कार्यशैलीमा त्रुटि हुनसक्छन् । त्रुटि सच्याउँदै अगाडि जानु हामी सबैको दायित्व र चुनौती हो । पार्टीमा विचारमा विविधता, निर्णयमा एकरुपता र कार्यान्वयनमा एकता हुन आवश्यक छ । हामीसँग नयाँ विचार छ, देशलाई समृद्धिमा लौजाने दृष्टिकोण छ तर त्यस अनुरुपको कार्यशैली र संगठनात्मक प्रवृत्ति विकास गर्न सक्यौं त ? हामीले सबैले आफैलाई सोध्न जरुरी छ ।

 

यसबीचमा पार्टीले हासिल गरेका उपलब्धीहरुमा गर्व गरौं, कमजोरी सच्याउँदै अगाडि बढौं । पार्टीमाथि देश छ र देशकै लागि पार्टी हो र देशकै लागि हामीले राजनीति गरेका हौं भन्ने नयाँ शक्ति पार्टी स्थापनाको मान्यतालाई दह्रोसँग आत्मसात गरौं ।

 

देव लिम्बू
केन्द्रीय परिषद् सदस्य


- दैनिकनेपाल बाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको