एउटा अन्तरजातिय अपुरो प्रेम कथा

सोमबार, ०४ बैशाख २०७४

 

चाँदनी केसी,कहिले अतित सम्झिँदा धरधरी रुवाउँछ पनि र कहिले त्यहि अतित सम्झिँदा मुसुक्क मुस्कुराउन पनि मन लाग्छ ।


चसक्क छाती चर्काउने पनि तपाईँ हाम्रै अतित हो भक्कानिएर रुवाउने पनि हाम्रै अतित हो र कुनै अतित यस्ता हुन्छन् कि जसलाई कहिल्यै बिर्सनै सकिँदैनन् अँझ भनौँ बिर्सीएर ति अतितलाई सम्झिहालिन्छ । दुःख विर्साउने पनि यहि अतित हुन सक्छ दःुख बेसाउने पनि यही अतित हुन सक्छ ।

 

अतितका पलहरु डायरीमा कैद भएका हुन सक्छन् अक्षरुपी पिडामा । हो तपाईँका त्यही अक्षरुपी पिडालाई मैले आवाज दिएर तपाईँको अतितको आवाज बन्ने प्रयास गर्नेछु । हुन सक्छ तपार्इँसँग केही सुखका अनि केही दुःखका पलहरु । ति पलहरु डायरीमा कैद भएका छन् भने आवाज बनाउनेछु म तपार्इँको अतितका अक्षरुपी पलहरुलाई । अतितसँग साईनो सुमधुर बनाउने प्रयासमा हामी छाँै । अतितलाई सम्झिएर हामी रुने होईन कि केही पाठ सिकेर अगाडि बढ्नुपर्ने हुन्छ । समाजमा तपाईँका अतितका पलले केही सकारात्मक सन्देश दिनेछ पक्कैपनि ।

 

यसैक्रममा आजको कार्यक्रममा मैले एउटा यस्तो कथा लिएर आएकी छु जुन कथा सायद धेरैको अतित हुन सक्छ । खोटाङ लामीडाँडाकी मित्र सरिता विकको वास्तविक जीबन भोगाई को कथा आज मैले लिएर आएकी छु । म उहाँको जीबनको कथाको आवाज एकैछिनमा बन्ने नै छु तर त्यो भन्दा अगाडि कार्यक्रमको सुरुवात गरौँ यो सुमधुर सांगितिक कोशेलीबाट ।।

 

तिमीलाई माया गर्ने बाहानामा हराएको मेरो जिन्दगी अनि तोडिएको मेरो साईनो । तिमीलाई त के थाहा जब आफ्ना मान्छे आफैबाट टाढिन्छन् अनि लत्याईदिन्छन् सदाका लागि । अनि तिमीलाई त के थाहा जब बाँचिरहँदा पनि मरेसरह लाग्छ जिन्दगी ।

 

तिमी त अरुको खुसी लुटेर हाँस्ने बानी परेको मान्छे । कहिल्यै कुनै कुरामा मैले तिमीसँग प्रतिउत्तर गरिन अनि कहिल्यै पनि तिमीले राखेको ईच्छालाई नकारेन । तिमीले जे भन्यौ मानेँ जस्तो गर भन्छौ जिन्दगीमा मैले हरेक पाईलामा त्यसै गरेँ आखिर मैले के पाएँ तिमीबाट मात्र धोका हो मैले मात्र धोका पाएँ सविन ।

 

यी जिन्दगीका अनौठा भोगाईहरु सायद तिमीले कहिल्यै भोगनौ । भोग्थ्यौ पनि कसरी तिमी त अरुको खुसी लुटेर हाँस्ने बानी परेको मान्छे । कहिल्यै कुनै कुरामा मैले तिमीसँग प्रतिउत्तर गरिन अनि कहिल्यै पनि तिमीले राखेको ईच्छालाई नकारेन । तिमीले जे भन्यौ मानेँ जस्तो गर भन्छौ जिन्दगीमा मैले हरेक पाईलामा त्यसै गरेँ आखिर मैले के पाएँ तिमीबाट मात्र धोका हो मैले मात्र धोका पाएँ सविन ।

 

म भन्न सक्दिन सविन तिमी मेरो आफ्नो मान्छे हौ । हुन त कुनै दिन मेरो जिन्दगीको ठुलो हिस्सा थियौ मेरो । मेरो प्राण भन्दा प्यारो मान्छे थियौ तिमी तै पनि आज खै किन हो तिमीलाई आफ्नो मान्छे भन्न यो मन तयार छैन । मानेको छैन यो मेरो मन तिमीलाई प्यारो मान्छे भन्न । सायद मैले आजसम्मको दिनसम्म आईसक्दा असल जिन्दगी भोगेको भएर होला अब तिमीलाई मनमा सजाउन मान्दैन ।

 

हुन त कहिँ न कतै तिमीले मेरो मनमा डेरा जमाएका छौ त्यसैले त आज पनि तिमीलाई सम्झिएर यसरी अतितका डायरीका पानाहरु भर्न पुग्दैछु । यस्तो लाग्छ यो पाना भरी पनि लेखेर पुग्दैन तिमीसँग मैले गाँसेको साईनाको कथा अनि मेरो भोगाईका कथाहरु । सायद सक्दिन मैले सबै यसरी शब्द शब्दमा उतार्न ।

 

आज सम्म धेरैका कथा सुने अतितको डायरीमा अनि लाग्यो मेरा जस्तै दुःख धेरैका रहेछन् । कथा फरक भएपनि जिन्दगी एउटै रहेछ भाव फरक भएपनि भोगाई एउटै रहेछ । मन फरक भएपनि पिडा एउटै रहेछ हामी सबैको । त्यसैले मैले पनि नलेखिरहन सकेन मेरो अतितको कथा । कतिसम्म लेखिसक्छु थाहा छैन कतिसम्म तिमीलाई मेरो पिडा सुनाउन सक्छु थाहा छैन तर यत्ति थाहा छ म मेरो जिन्दगी सुनाउँछु तिमीलाई अक्षरहरु मार्फत ।

 

तिमीले नसुनेपनि कसैले तिमीलाई मेरो जिन्दगी उतारिदिनेछ तिम्रो अगाडि । हुन त मलाई लाग्दैन कि तिमीलाई आफुले गरेको व्यवहारप्रति पश्चाताप होस् किनकी तिमीले त दुनियाँको आँखामा छारो हालेर बसेका छौ । अहिले पनि तिमी कुनै दुनियाँमा रमाएका हौला हैन तर म भने हरेक दिन तड्पिएर बाँचेकी छु ।

 

भन्न त भन्छु धेरै पटक अब कत्ति सम्झीनु सम्झिँदैन भनेर तर हरेक पटक तिम्रो अभाव खड्काईदिन्छ यो जिन्दगीले । कहिँ कतै तिमीबिना नै यो जिन्दगी अपुरो भएको महसुस हुन्छ मलाई । तिमीले त मलाई कत्ति धेरै माया गथ्र्यौ कति धेरै ख्याल राख्थ्यौ तिमी मेरो अनि भन्थ्यौ कि सारा दुनियाँले मलाई लत्याएपनि म तिमीलाई लत्याउने छैन भनेर ।

 

यो समाज परिवर्तन गर्नेछु म अनि तिमीलाई धुमधामका साथ घरमा भित्र्याउँछु भन्नेले आज मेरो जिन्दगी बर्बाद गरिदियो । समाजको काँचुली फेर्छु भनेर कसम खाएका थियौ तिमीले तर अँह पुरा गरेनौँ । सायद तिमीले मलाई चोखो माया गरेको भए यो सम्भव थियो भन्छन् नि जहाँ ईच्छा त्यहाँ उपाय तर तिमीले मलाई लत्याएर गयौ ।

 

विश्वासै लाग्दैन कि तिमी नै हौ कुनै दिन मेरो गैर हाँजिरीमा मरेसरी हुने । म एकदिन तिमीबाट सम्पर्कविहीन भएँ भने गाउँ नै उचालिने गरी रुने कराउने तिमी नै थियो । कत्ति पनि विश्वासै लाग्दैन सविन मलाई कि मेरो एक थोपा आँशु झर्दा सारा समाजलाई हपार्ने तिमी आज मेरो वलिनधारा आँशु बग्दा मेरो साथमा छैनौ ।

 

पुरै बदल्दिएर गयौ मेरो जिन्दगी अनि बनाईदियौ मेरो रंगीन जिन्दगी सादा तिमीले । विश्वासै लाग्दैन कि तिमी नै हौ कुनै दिन मेरो गैर हाँजिरीमा मरेसरी हुने । म एकदिन तिमीबाट सम्पर्कविहीन भएँ भने गाउँ नै उचालिने गरी रुने कराउने तिमी नै थियो । कत्ति पनि विश्वासै लाग्दैन सविन मलाई कि मेरो एक थोपा आँशु झर्दा सारा समाजलाई हपार्ने तिमी आज मेरो वलिनधारा आँशु बग्दा मेरो साथमा छैनौ ।

 

मैले कहिल्यै पनि तिमीसँग कुनै ठुलो ईच्छा राखिन कहिल्यै भनिन कि तिमीले मेरो लागि यस्तो गरिदिनुपर्छ भनेर तैपनि तिमीले मेरो जिन्दगी बर्बाद गरिदियौ । तिमी कतिसम्मको निष्ठुरी हो सविन कि आफुलाई प्राण भन्दा प्यारो ठान्ने मान्छेलाई पनि तिमीले दिनुसम्मको दुःख दियौ अनि धरधरी रुवाएका छौ । म कस्लाई दोष दिउँ सविन कस्लाई दोष दिउँ अनि कस्लाई के भनुँ मैले । के म दलित हुनु मेरो गल्ती हो ?? के मलाई समाजले अछुतो ठह¥याउने जात हुँ म ?? आखिर के थियो मेरो दोष कि तिमीले मलाई सारा समाजको अगाडि लत्याएर गयौ ।

 

सविन मेरो कुनै दिन छैन कि खुलेर हाँसेकी हुँ म, कुनै रात छैन बिना छट्पटाहट निदाएकी हुँ । अँह कुनै समय छैन मैले खुसी खुसी बिताएको किनकी तिमीले लुकिलुकी हालिदिएको सिउँदोले मलाई पिरोल्छ । तिम्रो नामको सिन्दुर अनि तिम्रो र मेरो मायाको चिनो मसँग हुर्किएको छ जस्ले मलाई तिमीसँगको हरेक पल याद दिलाईदिन्छ हरेक पल ।। तिमी झसंग भयौ होला मसँग मेरो छोरा कहाँबाट आयो होला भनेर तर नआत्तेउ तिमी यो मसँग भएको छोरामा बहेको रगत तिम्रो पनि हो किनकी यो हाम्रो छोरा हो तिम्रो र मेरो । तिमीले यसलाई कदापि नकार्न सक्दैनौ सविन ।

 

तिमीले यसलाई छोराको दर्जा देउ या नदेउ त्यसमा मलाई कुनै आपत्ति छैन तर तिमीले यो स्वीकार्नुपर्छ कि यो तिम्रो छोरा हो । तिमीलाई याद आयो होला अहिले कति धेरै कुरा । हरेक विगतका पल एकपटक फल्यास ब्याक भयो होला तिम्रो दिमागमा तर तिमीलाई लाग्छ होला मैले गल्ती गरेन । तिमी त यस्तै खालको मान्छे हौ । आफ्नो पलभरको चाहानाको लागि अरुको हरपल लुट्न बानी परेका ।

 

मलाई आखिर मेरो दर्जा के रहेछ भनेर चिनायौ तिमीले म गरिब हुनु र दलित हुनुको दोषको सजायँ दियौ हैन तिमीले मलाई ?? कस्तो खालको शिक्षक हौ तिमी कहाँको शिक्षा लिएर आएका थियौ तिमी मेरो जिन्दग िबनाउनलाई । सारा समाजको अगाडि मलाई माया गर्छु भनेर चिच्याउने त तिमी नै थियौ ।

 

मैले तिम्रो प्रेम अस्वीकार गर्दा हरेक रात मेरो घरको नजिक रहेको पिपलको रुखमुनि रात कटाउने तिमी हौ । हरेक कुरा याद दिलाउँछु म तिमीलाई आज । तिमीले गरेको माया अनि दिएको धोका सम्मका हरेक दिन याद दिलाउँछु म अनि मेरो वलिनधारा आँशुको कहानी आज तिमीलाई सुनाउँछु ।

 

लुट्न त तिमीले मेरो हरपलको खुसी लुटिदिएका छौ तर तिमीलाई नराम्रो भन्न सक्दैन यो मनले किनकी मैले माया गरेका मान्छे थियौ तिमी । जति नराम्रो भनेपनि तिम्रो हरेक बानीलाई भन्छु तिमीलाई होईन । मलाई चाहिएको यत्ति हो कि तिमीले मैले बगाएका आँशुको हरेक मुल्य तिर्नुपर्छ । कतै पाएकी छैन मैले छहारी लिने ठाउँ हिजो आज ।

 

कसैले मलाई साथ दिँदैन सविन सबैले मलाई वेश्याको दर्जामा राखेका छन् । मेरा बुढा बाउआमालाई सबैले टोकस्छन् मात्रै । मेरो जिन्दगी यस्तो हुनुमा मेरो जात र वर्गलाई दोष दिन्छन् कसैले पनि दया माया देखाउँदैन । कसैले पनि भन्दैन कि तिमीले गर्दा मेरो जिन्दगी यस्तो भयो । सायद तिमी पुरुष हौ त्यसैले कसैले भन्दैन । मेरो ठाउँमा तिमी भैदिएको भए पनि कसैले भन्थेन होला तर म त अछुतो जातकी छोरी त्यसमा पनि नाजायज बच्चा छ साथमा बिना बाउनको अनि समाजलाई त हुनुसम्मको भएको छ । सबैले रात दिन ताना मात्रै सुनाउँछन् ।

 

आखिर किन यो मोडमा ल्याएर छोडिदियौ तिमीले मलाई सविन किन यसरी तड्पाएर छाडेका छौ मलाई । किन तिमी मेरो अगाडि रोएका थियौ त्यतिबेला अहिले एक्लै रुवाउनु थियो भने अनि किन साथ माग्यौ सविन अहिले छोडेर जानु थियो भने ।


आफु जन्मेको हुर्केको ठाउँ हो र पनि मलाई खोटाङको लामीडाँडा एकदमै बिरानो लाग्छ । तिमीसँग बिताएको केही जिन्दगी सायद यही भएर होला ।

 

तिमीसँग बिताएको मिठा पल धेरै भएपनि कुनै एक तितो पलले मेरो जिन्दगी नै नमिठो बनाईदियो सविन । कसरी भनुँ म तिमीलाई तिमी मेरो जिन्दगीको एउटा पाटो थियौ भनेर कसरी मानुँ कि म तिमीले मलाई त्यतिबेला चोखो माया गरेका थियौ भनेर । फिल्मको कथामा बजारबाट आएको हिरोले गाउँकी केटीलाई माया गरेको नाटक गर्छ अनि छोडिदिन्छ हो त्यस्तै गरिदियौ तिमीले पनि । बजारबाट आयौ मसँग माया लायौ अनि कहिल्यै फर्केर नआउने गरी गयौ । साँच्चै तिमी खेल्यौ मेरो जिन्दगीसँग तरपनि मेरो मन तिमीलाई आफ्नो भन्न छाडेको छैन । सायद यही होला माया भनको अन्धो हुन्छ माया भनेको थियो कसैले हो रहेछ ।

 

तिमीले मेरो जिन्दगी बर्बाद गर्न कुनै कसर बाँकी नछोड्दा पनि अँझै तिम्रो यादमा तड्पिन्छ यो मन । कहिलेकाहिँत मलाई दलित कस्ले बनाईदियो उस्लाई धेरै गाली गर्न मन लाग्छ तर के गर्नु भाग्यमा दुःख पाउन लेखेको रहेछ भने मैले मन दुखाएर के गर्नु ?? आखिर मेरो जिन्दगी बिग्रीयो यस्को दोष म कस्लाई दिउँ सविन । तिमी त एउटा मुख्य पात्र हौ मेरो जिन्दगीको अनी अरु धेरै मलाई धोका दिए । थाहा छैन सविन आज म कतिसम्म लेखिसक्छु मेरो कथा । अनलाईनबाट प्रदेश एफएमको अतितको डायरी सुनेर मलाई यतिसम्म लेख्ने आँट आएको छ । सायद तिमीले दिएको पिडा बन्दैछ आज यति लामो कथा ।

 

मन कति रुन्छ कति भुलाउनै सक्दिन, सायद आज मेरो कथासँग रुने चाँदनीसँग अरु धेरै पाउनेछु मैले । यति टाढाबाट मैले मेरो कथा प्रेसीत गरेकी छु आज तिमीलाई सुनाउन । तिम्रो बारेमा सबै भनुँ भने पनि तिम्रो ईज्जतमा दाग लाग्ला भनेर भनेकी छैन । कसैले भन्छन् तिमी दैलेखमा छौ कसैले भन्छन् काठमाण्डौ छौ अनि कसैले भन्छन् सुर्खेतमा छौ थाहा छैन तिमी कुन ठाउँ छौ । तिम्रो सबै ठेगाना आज म भन्दिन यहाँबाट । यदि तिम्रो कर्तुतको बारेमा तिम्रो बुवाआमाले थाहा पाउनुभयो भने पनि के भन्नुहोला सविन त्यसैले म तिम्रो बारेमा केही भन्दिन आज । धोका त तिमीले मलाई बारम्बार दियौ सविन बारम्बार तर मैले सहिँरहेँ …पटक पटक सहेँ मैले ।

 

सविनको र मेरो पहिलो भेट कहिले २०५६ साल साउनको ३ गते भएको थियो । म बजारबाट फर्किँदै थिएँ । बाटोमा पानी प¥यो । मसँग छाता पनि थिएन, त्यसपछि म बाटो छेउमा रहेको प्रतिक्षालयमा ओत लागेँ । त्यसको केही समयपछि त्यहाँ एकजना व्यक्ति आएर ओत लाग्यो, एक्लै एक्लै भुनभुनायो कस्तो एक्कासी पानी परेको भन्दै । मैले केही प्रतिक्रिया जनाएन । अनि उस्को फोन आयो, सायद साथीको हो जस्तो मलाई लाग्यो एकैछिन कुरा ग¥यो अनि राख्यो ।

 

म चुप थिएँ त्यसपछि उस्ले नै कुराको सुरुवात ग¥यो । तपाईँ कहाँसम्म पुग्ने हो । मैले भने लामीडाँडा थाहा छ तपाईँलाई हो त्यहीँ हो अनि तपाईँ नि मेरो प्रश्न, म पनि त्यही नजिकै हो जाने तपाईँकै गाउँको स्कुलमा पढाउँछु नि म केही समय भयो यहाँ आएको उस्को जवाफ अनि एए भनेर मैले सहमति जनाएँ । केही बेर भलाकुसारी चल्यो मेरो नाम देखि कामसम्म सबै सोध्यो उस्ले मैले पनि भनेँ करिब करिब आफ्नो बारेमा पनि सबै भन्यो उस्ले ।

 

त्यही सविन थियो उ, जुन अजनवी मान्छे मेरो जिन्दगीको प्राण भन्दा प्यारो मान्छे भईदियो कुनै दिन । त्यसपछि पानी पनि रोकियो अनि हामी सँगै हिँड्दै गयौ, बाटोमा एउटा पसलमा चिया पनि पियौँ अनि छुट्टिने ठाउँ आयो । त्यतिबेला उस्ले भनेको थियो कि अब भेट फेरी हुनेछ म नजिकै छु है तपाईँको ,म हाँसे अनि छुटिएँ । समय बित्दै गयो, कहिले बाटोमा कहिले पसलमा त कहिले म बाख्रा चराउन जाँदा हाम्रो भेट प्राय भईरहन्थ्यो ।

 

मैले आफ्नो घरको स्थिति कमजोर भएकाले पढ्न पनि छोडेकी थिएँ । उसैको पहलमा मैलै नौ कक्षा देखि पढाई शुरु गरेँ । मलाई हरेक पलमा सविनले साथ दिन्थ्यो । मेरो पढाईदेखि लिएर मेरो सानोतिनो कुरामा उस्ले साथ दिएको थियो त्यतिबेला । मेरो नयाँ जिन्दगी दिलाईदिएको थियो उस्ले, यस्तो लाग्थ्यो कि मेरो जीबनमा कोही देउता नै आएको छ मान्छेको रुपमा । उ मेरो दर्जाभन्दा सबै कुराले अलि माथि नै थियो ।

 

म एकदमै सामान्य परिवारकी छोरी थिएँ तर उ भने धनी केटा थियो, म दलित थिएँ तर उ माथिल्लो जातको । कुनै कुराले पनि म उभन्दा अगाडि थिएन । उस्को पढाई पनि एकदमै राम्रो थियो, उ शिक्षक थियो तर म भने सामान्य विद्यार्थी । कुनै तवरले पनि मैले सविनसँग जिन्दगी बिताउँछु भनेर सोच्नु व्यर्थै हुने थियो । मलाई हरेक पल साथ किन दिन्छ होला किन यति धेरै ख्याल गर्छ होला सविनले मेरो भनेर म सोच्न बाध्य भएकी थिएँ त्यतिबेला तर कुनै पनि तवरले उस्को जिन्दगीको सहयात्री बन्न म सुहाउँदैनथे ।

 

त्यसैले मनमा त्यस्तो सोच आएपनि मैले आफुलाई सम्हाल्थे । सविन मेरो हुन सक्दैन भनेर । यसैगरी जिन्दगी चल्दै थियो, एकदिन नसोचेको कुरा भयो, सविनले मसँग प्रेम प्रस्ताव राख्यो मैले नसोचेको कुरा भयो । मलाई त विश्वासै लागको थिएन त्यतिबेला कि सविन जस्लाई मैले सर भनेर सम्बोधन गर्थे उसैले मलाई प्रेम प्रस्ताव राख्यो भनेर । मैले कुनै जवाफ दिएन किनकी उस्को र मेरो दर्जा धेरै फरक थियो ।

 

मैले स्वीकार गर्न सकेन, अनि भन्दिएँ, हजुर मेरो सर हो म हजुरको विद्यार्थी अनि म र हजुरमा धेरै फरक छ न जात मिल्छ न वर्ग त्यसैले हामी एक हुन सक्दैनौँ सर हुँदैन यस्तो घरमा थाहा पाएपछि मलाई मार्नुहुन्छ । अँह सर यस्तो त हुँदैन । मैले अस्वीकार गरेपछि मलाई सविनले धेरै कर ग¥यो तर मैले मानेन । उस्ले धेरै विश्वास दिलायो कि म तिमीलाई यो समाजबाट तिरस्कृत हुन दिँदैन भनेर तैपनि मैले मानेन ।

 

करिब दुई वर्षको चिनजानपछि उस्ले मलाई प्रेम प्रस्ताव राखेको थियो त्यतिबेला । मैले अस्वीकार गरेपछि उ हरेक रात मेरो घर छेउमा रहेको पिपलको बोट मुनि नै बस्थ्यो अनि मेरो प्रतिक्षा गथ्र्यो तर म भने जान्नथेँ । केही दिन त्यसरी नै बित्यो । त्यतिखेर म एसएलसी पास गरेर बसेकी थिएँ । मसँगै पढेकी साथीले एकदिन मेरो घरमा उस्को नामको चिठी लिएर आईन् । मैले चिठी पढेँ चिठीमा लेखेको कुरा देख्दा यस्तो लाग्थ्यो कि मेरो अभावमा उ धेरै तड्पिएको छ, बाहिरी रुपमा जस्तो भएपनि उस्को दर्जा म भन्दा धेरै माथि भएपनि उस्को मन मेरो मनभन्दा पनि कोमल छ भन्ने लाग्यो । उ धेरै रोएको छ म बिना जस्तो लाग्न थाल्यो मलाइृ ।

 

अनि चिठीमा उस्ले मलाई पिपलको बोटमुनि मलाई भेट्न आईनौ भने म जे पनि गर्न सक्छु भनेर धम्की पनि दिएको थियो । मलाई डर लाग्यो कतै केही भईदियो भने मैले के गर्ने भनेर अनि त्यो रात म त्यही पिपलको बोट मुनि गएँ जहाँ उस्ले मलाई हरेक रात पर्खिन्थ्यो । उ घोप्टी परेर रोईरहेको थियो । मैले सर भनेर बोलाएँ, उ एक्कासी मलाई अंगालोमा हालेर रुन थाल्यो, मलाई छोडेर नजाउ म तिमीबिना बाँच्न सक्दैन । मैले जिन्दगीम केही कुरालाई पनि यति धेरै माया गरेन तर तिमीलाई गर्छु बिन्ती नाई नभन ।

 

उस्ले त्यसरी रोएर मागेको साथलाई मैले नाई भन्न सकेन त्यसपछि सहजै उस्को मायालाई स्वीकार गरिदिएँ मैले । उस्को मनसँग पनि मेरो मन जोडिदिएँ । मैले लुकेर गरेको माया खोलिदिएँ त्यस दिन । अनि जिन्दगी सुम्पिदिएँ उसैको नाममा सदाका लागि ।

 

रोएर माग्यो उस्ले साथ मैले पनि नाईँ भन्न सकेन त्यतिबेला । यस्तै हुन्छ नारीको कोमल मन कसैको आँशु देख्न नसक्ने त्यसैले होला आज सविनले मसँग आँशु साथी छोडिदिएर गएको । कसरी विश्वास लाग्ला कसैलाई कि मेरो लागि यति धेरैपटक मर्ने मान्छेले कसरी मेरै जिन्दगी बर्बाद गर्न सक्छ भनेर । हो,, मलाई पनि यस्तै लाग्छ कि मेरो सविनले मलाइृ धोका दिने कुरा त मैले सपनामा पनि सोचेन ।

 

आखिर डुवाईदियो उस्ले मलाई नारकीय संसारमा अनि दुःखको भुवँरीभित्र । समय बित्दै गयो, जिन्दगीले कोल्टे फेर्दै थियो । मलाई डर लाग्थ्यो एकतर्फ कि तल्लो जातकी केटीसँग माया गरेको भनेर सविनलाई केही गर्छन् कि कसैले भनेर अनि डर लाग्थ्यो कि कसैले मेरो मायालाई म देखि टाढा बनाईदिन्छन् कि भनेर अनि मैले सविनलाई यो कुरा भन्दा उस्ले मलाई सम्झाउँथ्यो, केही हुँदैन म छु त, सबैले बुझ्छन् बिस्तारै । तिमी राम्रोसँग पढ अरु दायाँबायाँ नसोच ।

 

सविन थियो मेरो साथमा त्यसैले लाग्थ्यो जस्तोसुकै दुःख आएपनि हाँसी हाँसी झेल्छु तर सविन नै नरहेपछि त जिन्दगी नै नभएजस्तो लाग्दोरहेछ । विस्तारै शुरु हुँदै थियो सविन र मेरो विछोडको कथा । समय राम्रैसँग बित्दै थियो । समय मेरै पक्षमा थियो तर एक्कासी उल्टो पर्दियो समय ।। सविनसँग बिताएका धेरै पलले मेरो जीबनमा उथलपुथल ल्याईदियो । सविनलाई मैले धेरै माया गरेकी थिएँ जस्का कारण अस्तित्व सुम्पिन पनि म पछाडी परेन । सविनले भनेका हरेक कुरा मैले मान्थे । उस्ले चाहको कुरामा मैले कहिल्यै विपरित प्रतिक्रिया जनाएन । कहिल्यै पनि मैले सविनको चित्त दुखाउने काम गरेन तर उस्ले मेरो त जिन्दगी नै दुखाईदियो ।

 

केही समयपछि यस्तो कुरा थाहा पाएँ कि मैले मेरो पेटमा उस्को र मेरो मायाको चिनो हुर्कदैँ रहेछ । एक मनले त खुसी नै भएँ बिहे गरेपछि यो समस्या समाधान हुन्छ भनेर तर यदि बिहे नहुँदै घर परिवार अनि समाजले थाहा पाएपछि मैले के गर्ने ?? अनि यो कुरा सविनलाई भनेँ । सविनले मलाई भन्यो कि अहिले नै हामी बिहे गर्ने होईन नानु, समाजलाई बुझाउनुछ, घर परिवारलाई मैले मनाउने बाँकी छ त्यसैले केही बिग्रेको छैन तिमीले यो बच्चा एभोर्सन गराउनुपर्छ । मैले यो कुरामा पनि केही प्रतिक्रिया जनाएन । उस्ले भनेको ठिकै होला भनेर मैले पनि हुन्छ भने ।

 

मलाई धेरै डर लागेको थियो कसैलाई थाहा भयो भने के हुने हो भनेर, त्यही दिन भोलीपल्ट हामी एभोर्सनका लागि जाने भन्ने योजना बनाएर अघिल्लो दिन छुटियौँ । रातभर निन्द्रा लागेन भोली के हुने हो भनेर । पेटमा मायाको चिनो थियो, आफ्नै जिन्दगी जीबन मरणको दोसाँधमा भएको जस्तो लाग्यो, आफैदेखि घृणा जागेर आयो । मैले ठुलो भुल गरेछु जस्तो लाग्यो । त्यो रात त्यस्तै छट्पटाहटमा बित्यो भोलीपल्ट बिहानै मैले मेरो साथीलाई भनेर सविनलाई हामी सधैँ भेट्ने ठाउँमा बोलाउन लगाएँ ।

 

रीता बोलाउन भनेर गईन् तर सविन त बिहानैको बस चढेर एक्कासी घर गए रै भन्ने खबर उन्ले लिएर आईन् । म छाँगाबाट खसेजस्तो भएँ । सारा संसार अँध्यारो लाग्न थाल्यो । न उस्को फोन गरुँ भने आफुसँग फोन पनि छैन, जिन्दगी धरापमा परेको बेला सविनले छाडेर गयो मलाई । कारण थाहा थिएन मलाई उ किन गयो भनेर । मलाई धोका दियो होला भन्ने लागेन त्यतिबेला । केही आपत नै परेर गएको होला आईहाल्छ भन्ने लाग्यो अनि पर्खिएँ उस्लाई तर आएन । दिनसँगै पेटको बच्चा बढ्दै थियो । एभोर्सन गराउन कहाँ जान्छन् भन्ने पनि मलाई थाहा भएन । पर्खाईमा नै बसेँ तर उ आएन । मलाई छोडेर गयो सविन । मेरो जिन्दगी बर्बाद गरेर गयो सविन ।

 

मलाई आँशु दिएर गयो सविन । मेरो त्यतिबेला कोही थिएन पिडा सुनिदिने कस्लाई सुनाउने मैले त्यति ठुलो कुरा । कस्लाई भनुँ मैले सविनले मलाई धोका दिएर गयो भनेर ?? अरु कोही नभएपछि मन हल्का गराउन भएपनि त्यही साथी रीतालाई भनेँ । रीता मेरो कुरा सुनेर रोईन्, उन्ले पनि के गर्न सक्थिन् र सविनलाई गाली मात्र गरीन् तर अब अगाडि के गर्ने होला भन्ने कुराले सताउन थाल्यो ।

 

तीन महिना बितिसकेको थियो सविन गएको तर केही खबर आएन । अनि सोचेँ मेरो माया बलियो रहेछ भने आउनेछ सविन एकदिन फर्केर । अब जे हुन भैगो समाजले मलाई जे भनेपनि म यो बच्चा जन्माउँछु भनेर सोचेँ । यो कुरा रीतामार्फत आमालाई भनेँ, आमाले पनि के गर्न सक्नुहुन्थ्यो र त्यतिबेला मलाई गाली गर्नुभो तर नारीको मन न हो, त्यो माथि म उहाँकी छोरी थिएँ, साथ दिनुभयो मलाई मेरी आमाले अनि मैले जन्माएँ यो छोरा संगमलाई । जो मेरो जिउने आधार हो जस्ले मलाई तिम्रो झल्को दिलाउँछ, जस्ले मलाई प्राण भन्दा पनि प्यारो ठान्छ । तर के गर्नु सविन तिमीले मलाई आफ्नो ठानेनौ, समाजको अगाडि बद्नाम गराएर गयौ मलाई । थाहा छ, के भन्छ मलाई समाजले ?? यो चरित्रहिन हो भन्छ ।

 

यो बच्चाको बाउ को हो भनेर औँला सबैले उठाउँछन् तर मसँग जवाफ छैन , म निस्तब्ध छु सविन कहाँ छौ तिमी, के दिउँ म जवाफ यो समाजलाई ?? कसरी भनुँ म यो बच्चाको बाउ तिमी हो भनेर, म भन्न सक्दिन सविन किनकी तिमीलाई यो समाजले पुजा गथ्र्यो तर अब थुक्छ तिमीलाई यदि यो कुरा थाहा पाएपछि । टाढाबाट पाहुना बनेर आयौ मेरो जीबनमा अहिले फेरी टाढिएर गयौ । जहाँ पनि तिम्रै अभाव खड्किन्छ सविन मलाई ।

 

यदि मलाई माया गर्थेनौँ भने किन यति धेरै ख्याल राख्यौ मेरो । यो बच्चाले गर्दा केही समस्या भएको थियो भने मलाई भनेको भए हुन्थ्यो किन तिमी भागेर गयौ हँ ??? के मानेको थिएन सविन मैले तिमीले भनेको के मानेको थिएन ?? सारा जिन्दगी सुम्पिएकी थिएँ तिमीलाई । महादेवले कालकोटको विष पिएसरी माया गरेँ तिमीलाई तर तिमीले मलाई छाडेर गयौ । कहाँ गयौ सविन तिमी कहाँ गयौ ।बाध्यताले गर्दा छोडेर गएका हौ भने बिन्ती पर्खिएर आईदेउ न बिन्ती । मलाई यहाँ साथ दिने कोही पनि छैन, आखिर मैले धेरै माया गरेको मान्छे हौ तिमी ।

 

यो छोरालाई तिम्रो खाँचो छ अनि यो समाजले मलाई धिक्कार्न छोड्नेछ तिमी फर्केर आयौ भने । सविन मलाई तिम्रो खाँचो छ पर्खिएर बसेकी छु तिमीलाई बिन्ती फर्किएर आईदेउ ।


( यो कथा प्रदेश एफ.एम बाट प्रसारण हुने कार्यक्रम अतितको डायरिबाट लिएको एउटा मान्छेको यथार्थ जिन्दगीको कथा हो । )


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको