बी एण्ड सीलाई सम्बन्धन दिने तयारी रोकियो, डा. केसीले राखे नयाँ माग

शनिबार, २० जेठ २०७४

 

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी रोकिएको छ । यससँगै डा. गोविन्द केसीको अनसन रोकिएको छ ।

 

तर, उनले नयाँ माग राख्दै सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् र माग पुरा नभए सोमबारबाट अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

 

बुधबारको मन्त्रिपरिषद् बैठकमा बिर्तामोडको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे छलफल भएको थियो । बैठकमा स्वास्थ्यमन्त्री गगन थापा अनुपस्थित थिए भने कांग्रेस मन्त्रीहरुले स्वास्थ्यमन्त्री नभएको भन्दै यसबारे निर्णय नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

 

तर, बी एण्ड सीलाई सम्बन्धन दिएको भन्दै समाचारहरु आएपछि डा. केसीले अनसन बस्ने चेतावनी दिए ।

 

उनले सम्बन्धन दिने निर्णय फिर्ता हुनु पर्ने, आफूसँग भएको सम्झौता कार्यान्वयन र चिकित्सा शिक्षा ऐनलाई आफूहरुको सुझाव अनुसार पास गर्न माग राख्दै सरकारलाई शनिबार २ बजेसम्मको अल्टिमेटम दिए ।

 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सम्बन्धनको प्रक्रिया अघि नबढाउने निर्णय गर्‍यो । स्रोतका अनुसार स्वास्थ्यमन्त्री गगन थापाले डा. केसीसँग भएको सहमति अनुसार सम्बन्धन प्रक्रिया रोक्नु पर्ने बताएका थिए । साथै सरकारले निर्णय गरे डा. केसी अनसन बस्ने र असार पहिलो साता गएर फेरि अनसन तोडाउन अर्को सम्झौता गर्नु पर्ने बताए ।

 

लगतै प्रधानमन्त्री प्रचण्डले ल ठीक छ भन्दै सम्बन्धन प्रक्रिया अघि नबढाउने बताए ।

 

डा. केसीले राखे नयाँ माग

सरकारको यो निर्णयपछि डा. केसीले शनिबार ४ बजेबाट सुरु गर्ने भनिएको अनसन स्थगित भएको छ ।

 

तर, उनले नयाँ माग राखेर सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । उनले आईओएममा सहायक डिन र क्याम्पस प्रमुख वरिष्ठताका आधारमा तत्काल नियुक्त गर्नु पर्ने, विद्यार्थी भर्ना र शुल्क निर्धारणबारे आईओएमबाट खोसिएको अधिकार फिर्ता गर्दै त्रिवि पदाधिकारीलाई कारबाही गर्नु पर्ने, आईओएमलाई पूर्ण स्वयत्तता दिनु पर्ने र स्नातकोत्तर तहमा योग्यथा क्रमका आधारमा २३ ला ५० हजार शूल्क कायम हुने गरी भर्ना लिनु पर्ने माग अघि सारेका छन् ।

 

आफ्ना माग ४८ घन्टा अर्थात सोमबार ४ बजेसम्म पुरा नभए अनसन बस्ने डा. केसीको चेतावनी छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको