धेरै पोलिस लगाउँदा कमजोर हुन सक्छ नङ...

आइतबार, २८ जेठ २०७४

 

महिला आफ्नो ड्रेसअपअनुसार कम्बिनेसन मिल्ने गरी गहना तथा मेकअप पनि गर्ने गर्छन् । यसरी ड्रेस, गहना तथा मेकअपको म्याचिङ कम्बिनेसनले जो–कोहीलाई पनि स्मार्ट तथा फेसनेबल देखाउँछ । पछिल्लो समय कलर कम्बिनेसन मिलाएर नेल आर्ट गर्ने ट्रेन्ड पनि निकै छाउन थालेको छ । नङमा विभिन्न रङका पोलिस लगाएर हात सुन्दर बनाउन महिलाहरू प्रतिस्पर्धा नै गर्ने गरेका छन् ।

 

अझ विवाहित महिलाले बढी पोलिस गर्ने गरेको पाइन्छ । महिलाहरूले आफ्नो ड्रेसअप तथा मेकअपअनुसार दिनहुँजसो हातका पोलिस पनि परिवर्तन गरिरहन्छन् । अझ, नेल आर्टको नाममा आएका विभिन्न डिजाइनका कारण कतिपय महिलाको नङले त आराम पनि गर्न पाउँदैन । यसरी हातखुट्टाका नङमा सधैँ पोलिस लगाइराख्नु नङका लागि फाइदाजनक हुँदैन  । त्यसैले आवश्यक समयमा मात्र नङमा पोलिस लगाउने बानी गर्नु राम्रो हुन्छ । नङमा पोलिस लगाउन नछुटाउने तथा छोटो समयमा नै कलर पनि परिवर्तन गरिरहँदा नङलाई हुने हानिका विषयमा साज ब्युटिपार्लरकी सञ्चालक अर्चना गौतमका सुझाब यस्ता छन् :

नङमा पोलिस लगाइराख्दा हात आकर्षक देखिन्छ । तर, हरेक समय नङमा पोलिस लगाइराख्दा नङले प्राकृतिक वातावरण पाउन सक्दैन । लगातार नङमा पोलिस लगाइराख्दा नङले आराम पनि पाउँदैन र हरेक समय रसायनको बन्धनमा रहनुपर्ने अवस्था आउँछ । जसले गर्दा नङ पातलो हुँदै  कमजोर हुन थाल्छ र नङ टुट्ने, भाँचिने सम्भावना बढी हुन्छ ।

 

आजकल महिलाहरू हरेक दिनजस्तो फरक–फरक ड्रेसअप तथा मेकअपमा रम्न रुचाउँछन् । फरक खालका स्थान तथा कार्यक्रममा जानुपर्ने हुनाले विभिन्न कलरको पोलिस फेरीफेरी लगाउने प्रचलन बढ्दो छ । यसरी नेलपोलिस परिवर्तन गर्दा अवश्य पनि नेल रिमुभरको प्रयोग बढी नै हुन्छ । पोलिस सफा गर्न प्रयोग गरिने नेलपोलिस रिमुभरमा एसोटिन हुन्छ । यसले नङमा रहेको प्राकृतिक तेललाई सुकाउने काम गर्छ । जसले गर्दा नङनजिक रहेको छाला सुक्खा हुन सक्छ ।

 

पोलिस लगाएको केही दिनपछि पुरानो भएर नराम्रो देखिन्छ । यसरी उप्किन लागेको पोलिसलाई चक्कु या अन्य कुनै पनि सामग्रीले खुर्किने धेरैको बानी हुन्छ । यस्तो बानीले नङलाई कमजोर बनाउने भएकाले सुधार्र्नुपर्छ । पोलिस खुर्किंदा नङको माथिल्लो भाग पनि खुर्किएर पातलो हुन सक्छ । जसले गर्दा नङ कमजोर भएर चाँडै भाँचिने डर हुन्छ ।


नङमा पोलिस गर्नुअघि सधैँ बेस कोट लगाउने बानीको विकास गर्नुपर्छ । बेस कोट नलगाई प्रयोग गरिएको नेलपोलिसले नङलाई पहेँलो बनाइदिन सक्छ । त्यसैले यस्तो पहेँलो दागबाट जोगिन पनि बेस कोट अनिवार्य लगाउनुपर्छ ।

 

एक दिन या छोटो समयका लागि त हो नि भनेर सस्तो पोलिस रोज्ने धेरैको बानी हुन्छ । सस्तो खालको ननब्रान्डेड नेलपोलिसमा नङ तथा छालालाई असर पुर्‍याउने केमिकल प्रयोग गरिएको हुन सक्छ । जसले नङ मात्र होइन, स्वास्थ्यलाई पनि असर पुर्‍याउन सक्छ । त्यसैले यस्तो नेलपोलिस प्रयोग गर्नुपर्छ, जुनमा कमभन्दा कम केमिकल प्रयोग गरिएको होस् । बजारमा भिटामिनयुक्त नेलपोलिस पनि उपलब्ध छन् । यस्तो पोलिसले नङलाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको