औषधि पसलको टेन्डरमा मापदण्ड पुगेन

बिहिबार, ०६ माघ २०७३

 

विराटनगर, ६ माघ । कोसी अञ्चल अस्पताल विराटनगरमा सरकारको निर्देशनअनुरुप फार्मेसी सञ्चालनमा समस्या देखिएको छ । 

 

फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न अस्पतालले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत पर्याप्त औषधिका लागि आवेदन नपरेपछि फार्मेसी सञ्चालनमा ढिलाइ भएको हो । 

 

सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले टेन्डर खोलेको थियो । एक महिना समय दिई आह्वान गरिएको पहिलो टेन्डरमा मापदण्डअनुरुप आवेदन नपरेपछि पुनः टेन्डर खोलिएको थियो । दोस्रोपटक खोलिएको टेन्डरमा मापदण्डअनुरुप कम्तीमा ४०० प्रकारका औषधि हुनुपर्नेमा त्यसको २५ प्रतिशत औषधिका लागि मात्र आवेदन परेको अस्पतालका सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताए ।

 

“मापदण्डअनुरुप टेन्डरबाट औषधि नआउने देखिएकाले दोस्रो चरणबाट हामीले सय थरीका औषधिको टेन्डर बुझिसक्यौ, बाँकी ३०० प्रकारका औषधि आर्थिक नियमावली बमोजिम रु पाँच लाख बराबरको आफै व्यवस्था गर्छौं” – डा पोखरेलले बताए ।

 

सरकारको निर्देशनअनुरुप अस्पतालले आफ्नो भवनमा सञ्चालन भइरहेको औषधि पसललाई बन्द गराई आफै फार्मेसी सञ्चालन गर्नुपर्ने छ । यसअघि सर्वोच्च अदालतले समेत देशका सबै सरकारी अस्पताललाई आफै फार्मेसी खोल्न निर्देशन दिइसकेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको