हाम्राै भान्सामा छन् यस्ता मूल्यवान् ओखती, यसरी चिनौं

सोमबार, ०७ फागुन २०७४

 

हाम्रो भान्समा थरीथरीका मरमसला हुन्छन्, जसलाई स्वादको लागि प्रयोग गर्छौ । ति मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न भने जान्नुपर्छ ।

 

बेसार, अदुवा, टिमुर, लसुन, प्याज, ज्वानो, जिरा, मेथी, नुन लगायतका औषधिय गुणले भरिपूर्ण हुन्छन् ।

कति  रोगमा यिनीहरुको प्रभावकारिताबारे शास्त्रीय एवं वैज्ञानिकरुपमा प्रमाणित भएको छ । आयुर्वेद चिकित्साका ग्रन्थहरुमा पनि यी जडिबुटीहरुको बारेमा स्पष्ट व्याख्या गरिएको छ ।

आयुर्वेद चिकित्सामा केही औषधिहरुमा यिनीहरुको केही सम्मिश्रण हुन्छ र साथै अन्य औषधिहरुसँग मिलेर काम गर्न सक्ने भएकोले बिरामीलाई सँगै मिलाएर प्रयोग गर्न सल्लाह दिइन्छ । तसर्थ यी जडिबुटीको प्रभावकारिता एवं यिनीहरुको प्रयोगसम्बन्धी जानकारी दिने प्रयत्न गरिएको छ ।

 

भान्सामा प्रयोग हुने जडिबुुटीको प्रभावकारिता

 

बेसार :

यसमा पाइने रासायनिक तत्व करक्यूमिन एन्टिअक्सिडेन्ट, एन्टीइन्फलामेशन (सुजन हुनबाट रोक्न) को लागि प्रभावकारी मानिएको छ । बेसारले शरीरको कोषको आकारलाई बढ्न नदिने र उक्त कोषहरु अर्को अङ्गमा फैलिने नदिने क्यान्सरविरुद्ध प्रभावकारी काम गर्दछ । परम्परागत रुपमा बेसारलाई घाउमा राख्ने, खसी काटिसकेपछि तेल र बेसार लगाउने प्रचलन पनि हाल आएर सही प्रमाणित भएको छ ।

आयुर्वेद चिकित्सामा छालाको रोगहरुमा बाहृय एवं आन्तरिक प्रयोगको लागि ज्यादै प्रभावकारी मानिएको छ । रक्तनलीभित्र जम्ने बोसो (कोलेस्ट्रोल) कम गर्न प्रभावकारी देखिएको छ । यीबाहेक जीवनशक रक्तस्राव रोक्न, रगतको कमी एवं जन्डीसमा रोगीको अवस्था हेरेर प्रयोग गर्न सल्लाह दिइन्छ ।

 

अदुवा :

यसमा पाइने जिङ्गीवारिन र विसावोलिन रासायनिक तत्वले मुट एवं रक्तनलीमा जम्मा भएको बोसायुक्त तत्वलाई – कोलेस्ट्रोल) पगाल्न मदत गर्छ । रक्त रञ्चार क्रियालाई व्यवस्थित राख्छ । उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिङ्गटा र खाद्य विषाक्तमा प्रभावकारी मानिएको छ । आयुर्वेद चिकित्सामा श्वास प्रश्वास एवं जोर्नीसम्बन्धी रोगहरुमा प्रयोग गरिने औषधिको साथमा अदुवाको रस प्रयोग गर्ने सल्लाह दिइन्छ ।

 

टिमुर :

यसका विभिन्न जातिहरु भए तापनि अरमेटम जाति नेपालमा पाइन्छ । दाँतको दुखाई कम गर्न प्रयोग गरिन्छ । दाँत, मुख र घाँटीको संक्रमण एवं दुखाइमा प्रभावकारी छ । बजारमा पाइने जडिबुटीबाट निर्मित दन्तमन्जनहरुमा टिमुरको समिश्रण पाइन्छ । आयुर्वेद चिकित्सामा रस बनाएर दाँत र घाँटी कुल्ला गर्ने सल्लाह दिइन्छ ।

लिनालोल, लाइमोनिनलगायत अन्य रासायनिक तत्व यसमा भएकोले संक्रमण नाश गर्न र पीडा कम गर्न महत्वपूर्ण भूमिका खैल्छन् । साथै पाचन अङ्गका ग्रन्थीहरुबाट रस निकाल्न मदत गर्ने भएकोले पेटको पीडा, अजीर्ण र ग्यास हटाउन यसका विभिन्न सम्मिश्रणयुक्त औषधिहरु प्रयोग गरिन्छ ।

 

मेथी :

यसमा पाइने डाइसोजेनिन रसायनले आमाशयको घाउ हुनबाट जोगाउने भएकोले आयुर्वेद चिकित्सकहरुले अम्लपित्त एवं पेट फुलेको अवस्थामा मेथीको प्रयोग गर्न सल्लाह दिन्छन् । हालै भएको एक अध्ययन अनुसार मधुमेह (चिनी रोगमा ) यसको प्रयोगबाट ग्लुकोजको मात्रा कम देखिएको पाइएको छ । परम्परादेखि चिनी रोगीहरुले मेथीको रस खाने बानीलाई पनि यस अध्ययनले पुष्टि गरेकेा छ ।

 

 

यी औषधी प्रभावकारी रुपले प्रयोग गर्नका लागि त्यसको सही प्रयोग हुन पनि उत्तिकै आवश्यक छ ।

 

प्रयोग विधिः

-सामान्य परिस्थितिमा ३ देखि ५ ग्राम शुद्ध बेसार खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ । जबकी मृगौला एवं पित्त थैलीको पत्थरी हुनेहरुले बेसार प्रयोग गर्नुहुँदैन किनकि यसमा अत्यधिकमात्रामा क्याल्सियम रहेको हुन्छ

-जोर्नी, श्वास प्रश्वास एवं पाचन अङ्गहरुको समस्याहरुमा दिनमा दुुईपटक २ देखि ३ ग्राम अदुवाको प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । तर मुटु रोगीहरु तथा पित्त थैली एवं मृगौलाको पत्थरी भएको अवस्थामा भने अदुवाको प्रयोग गनु हुँदैन ।

-टिमुरको तेलको प्रयोग दाँत तथा बाहय पीडा कम गर्न प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । त्यस्तै, मुख सुख्खा भएमा एक दुईवटा टिमुरको दाना दिनमा तीनदेखि चार पटकसम्म चुस्न सल्लाह दिने गरिन्छ ।

 

-मेथीको धुलोलाई वाह्य एवं भित्री रुपमा एवं जेलको रुपमा प्रयोग गरिन्छ । यिनीहरुको प्रभावकारीता भए पनि पाश्र्व प्रभाव नभएको भने होइन ।
कहिलेकाहि मेथीको तीतोपनलाई कम गर्न अत्यधिक चिनीको प्रयोग गर्दा चिनी रोगीहरुलाई असर गने हुदाँ यसबारे ध्यान दिन आवश्यक छ । त्यस्तै, रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा मेथीको पानी खाएर मात्रै बस्नुहुदैन । चिकित्सकसँग परामर्श गर्न जरुरी छ । मेथी तरकारीमा प्रयोग गर्ने भन्दा बढी स्तनपान गराउने वा गर्भवती महिलाले प्रयोग गर्नु हुँदैन ।

तसर्थ यी जडिबुटीहरु प्रयोग गर्दा गर्भावस्था, स्तनपान बच्चाहरुको स्थिति पनि ख्याल गर्नुपर्दछ । राम्रो सँग नजचाइकन यी जडिबुटीहरु प्रयोग गर्दा शरीरमा असर गर्छ भन्ने कुरालाई पनि ख्याल राख्नु पर्छ । कुनै स्वास्थ्य समस्या आउनासाथ परामर्श लिएर मात्र जडिबुटी एवं यसबाट निर्मित औषधिहरु सेवन गर्नु उपयुक्त हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको