नेपालमा नर्सिङ पेशाप्रतिको आकर्षण घट्दो, १० प्रतिशत नर्स विदेश पलायन

आइतबार, १६ माघ २०७३

 

नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।

 

दिवस मनाइरहँदा नर्सिङ्ग क्षेत्रमा व्याप्त कमजोरीहरु भने अझै चुनौतिकै रुपमा रहेका छन् । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर(स्वयंसेवी)का रुपमा काम गर्न बाध्य रहेको वास्तविकता छ । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन । 

 

नेपालमा हरेक वर्ष १ सय १७ नर्सिङ कलेजबाट सात हजारको हाराहारीमा नर्स उत्पादन हुन्छन् । बीएन अध्ययनरत नर्सिङकी विद्यार्थी ऋचा पाण्डेका अनुसार नर्सिङ पढाइ पुरा गर्न करिब ७ लाख खर्च हुन्छ तर रोजगारीको भने कुनै सुनिश्चितता छैन । उनले भनिन् ‘कुनै स्वास्थ्य संस्थामा जागिर खुलाएमा अनुभवको प्रमाणपत्र मागिन्छ, प्राक्टिकल विषय भएकोले काम नगरि बसेमा काम बिर्सने डर हुँदा भोलेन्टियर गर्न बाध्य हुनुपर्छ ।’ देशमा पेशा असुरक्षित हुँदै गएका कारण नर्सिङ पेशा र पढाइप्रति नयाँ पुस्ताको आकर्षण घटेको पाण्डेको बुझाइ छ । 

 

नेपाल नर्सिङ काउन्सिलमा हालसम्म अनमी र नर्स गरी ६७ हजार ८२ जना दर्र्ता रहेको नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले बताइन । जस मध्ये ३७ हजारको हाराहारीमा नर्सको संख्या रहेको छ । स्वास्थ्य मन्त्रालयको २०७१ को तथ्याङ्क अनुसार सरकारी स्वास्थ्य सेवामा २० हजार ४ सय २३ जना मासिका, अनमी र नर्स कार्यरत रहेका छन् । तर निजी क्षेत्रका स्वास्थ्य संस्थामा कतीको संख्यामा कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन । 

 

वर्षेनी नर्सको उत्पादन हुँदै आएपनि रोजगारीको अवसर नपाउँदा अहिले नर्सहरु धेरै संख्यामा बिदेश पलायन भईरहेका छन । नर्सिङ काउन्सिलका अनुसार १० प्रतिशत नर्सहरु विदेश पलायन भएका छन् । 

 

सरकारले केहीदिन अघिमात्रै पनि बढ्दो नर्सको बेरोजगारी, कम शुल्क, विदेश पलायन जस्ता समस्या र त्यसको समाधानका लागि भन्दै सुझाव समिति बनाएको छ । सरकारी र गैरसरकारी पहलमा पनि अहिलेसम्म यस क्षेत्रको सुधारका लागि भन्दै विभिन्न कदमहरु चालिएपनि अझै नर्सिङ पेशा सुरक्षित बन्न सकेको छैन । 
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको