बेलायतको नेशनल हेल्थ सर्भिसमा कति नेपाली डाक्टर र नर्स छन् ?

आइतबार, १८ चैत २०७४

 

एजेन्सी– बेलायतको नेशनल हेल्थ  सर्भिस (एनएचएस) मा १ हजार ५ सय ३९ नेपाली कार्यरत रहेको खुलासा भएको छ । संसदीय अनुसन्धान समूहले तयार पारेको रिपोर्टमा एनएचएसमा ११ लाख १३ हजार २ सय ८८ जनशक्ति कार्यरत रहेकोमा नेपाली उक्त संख्यामा कार्यरत रहेको देखिएको हो । रिपोर्टअनुसार बेलायती नागरिक भने ९ लाख ७६ हजार २ सय ८८ छन् । यो संख्या एनएचएसको कूल जनशक्तिको ८७.५ प्रतिशत हो।

एनएचएसमा १ लाख ३७ हजार डाक्टर, नर्स तथा स्वास्थ्य पूर्वाधारका अन्य क्षेत्रमा कार्यरत रहेको पाइएको छ । तीमध्ये ६२ हजार युरोपियन युनियन मुलुकका छन् । इयुपछि सबैभन्दा धेरै भारतीय छन् । उनीहरुको संख्या १८ हजार ३ सय ४८ छ । तेस्रो नम्बरमा भने फिलिपिन्स छन् । १५ हजार ३ सय ९१ फिलिपिनोहरु एनएचएसमा काम गर्छन्। 

देशको हिसाबले एनएचएसमा २ सय २ मुलुकका मानिसहरु काम गर्छन् । जसमा सार्क मुलुकबाट नेपाल तथा भारतबाहेक पाकिस्तानका ३ हजार ३ सय ७५, श्रीलंकाबाट १ हजार २ सय ४४, बंगलादेशबाट ५ सय ९८ कार्यरत छन्।

अफ्रिकीमुलुक जिम्बाबे र नाइजेरियाले अष्ट्रेलियालाई समेत पछाडि पारेका छन् । जिम्बाबेका ३ हजार ८ स य ९९ र नाइजेरियाका ५ हजार ४ सय ५ नागरिक एनएचएसमा कार्यरत छन् । जबकि अष्ट्रेलियाका २ हजार ४० नागरिकमात्र छन् । रिपोर्टका अनुसार गरिब र द्वन्द्वग्रस्त अफ्रिकी मुलुकबाट आएको जनशक्तिले युरोपेली मुलुकलाई समेत पछाडि पारेको छ । एनएचएसमा ४ सय ८९ युगान्डा, ४ सय ६९ सुडान र ४ सय ६५ जाम्बियाका नागरिक काम गर्छन् । यस्तै, भोकमरीग्रस्त मुलक सोमालिया, क्यामरुन, मौरीसस, गाम्बिया, मलावीका भन्दा थोरै स्वीस नागरिकहरु एनएचएसमा छन् । १ सय ५७ स्वीस नागरिकमात्र एनएचएसआबद्ध छन्।

गृहयुद्धग्रस्त मुलुकका नागरिकहरु पनि एनएचएसमा आबद्ध छन् ।  सिरियाका १ सय ४८, इराकका २ सय ८९ र अफगानिस्तानका १ सय ४४ नागरिक एनएचएसमा काम गर्छन्।

नर्स कति ?

नर्सको रुपमा मात्र एनएचएसमा आबद्धको संख्याका हिसाबले भने बेलायतीहरु २ लाख ५०हजार ७ सय ८८ छन् । दोस्रो नम्बरमा फिलिपिनोहरु छन् । उनीहरुको संख्या ९ हजार ५सय ४४ छ । तेस्रो नम्बरमा भारतीय नर्स ६ हजार ३ सय १३ छन् ।  संख्याका हिसाबले बढी नर्सहरु भएका शीर्ष १० देशको सूचीमा आयरल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जिम्बाबे, रोमानिया, पोल्याण्ड, नाइजेरिया र घानका नागरिकहरु छन्।

डाक्टर कति ? 

बेलायती डाक्टरहरु एनएचएसमा ८१ हजार ३ सय ७६ छन् भने दोस्रो नम्बरमा भारतीय छन् । उनीहरुको संख्या ६ हजार ४ सय १३ छ । पाकिस्तानीहरु तेस्रो नम्बरमा पर्छन्् । उनीहरु २ हजार ३ सय ३० छन् । बढी डाक्टर भएका देशको शीर्ष सूचीमा आयरल्याण्ड, ग्रिस, मलेसिया, इटाली, इजिप्ट, जर्मन, नाइजेरिया, श्रीलंका र रोमानिया छन् । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको