आठ वर्षदेखि डाक्टर बेपत्ता

बुधबार, १९ माघ २०७३

 

जाजरकोट, १९ माघ । जाजरकोटमा कार्यरत एक स्वास्थ्यकर्मी आठवर्षदेखि बेपत्ता छन् । जिल्ला अस्पतालमा छैटौं तहको स्वास्थ्य सहायकमा कार्यरत डा.धनिकलाल यादव २०६५ सालदेखि बेपत्ता छन् ।

 

केही वर्ष जिल्ला अस्पताल जाजरकोटमा सेवा गरेका डा. यादव २०६१ सालमा सुर्खेतको मेहेलकुनास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा काज सरुवा भएका थिए । जिल्ला अस्पताल जाजरकोटका अनुसार काज फिर्ता भएपछि पुनः भेरी अञ्चल अस्पताल नेपालगन्ज काज सरुवा गराएर गएका थिए । क्षेत्रका अस्पताल र विभागमा केही वर्ष काजमा बसेका डा. यादवको काज फिर्ता भएपछि २०६५ सालमा जिल्ला अस्पताल फर्किएका थिए । उनको घर सप्तरी हो ।

 

केही समय काम गरेर बेपत्ता भएका यादव अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । स्वास्थ्य सहायक डा. यादवलाई हाजिर हुन आउनेबारे घर ठेगानामा पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि गोरखापत्रमा सार्वजनिक सूचनासमेत प्रकाशित गरिए पनि कानुनी अड्चनले कारबाही हुन नसकेको जिल्ला अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेले बताए ।

 

उनका अनुसार गत वर्ष मात्र डा. यादवले हुलाकमार्फत राजीनामा पठाएका थिए तर राजीनामा गर्दा स्वयं व्यक्ति उपस्थित भई सनाखत गर्नुपर्ने भएकाले राजीनामाको स्वीकृत सिफारिस गर्न समस्या परेको हो । कुनै पनि कर्मचारी बिनासूचना लगातार ९० दिनसम्म सम्पर्क्विहीन भए सेवाबाट बर्खास्त गरिने निजामती सेवा ऐनमा स्पष्ट व्यवस्था गरिएको छ तर कुनै पनि कार्यालयमा हाजिर नभएको आठ वर्ष बितिसक्दा पनि कारबाही हुन सकेको छैन ।

 

उनलाई कारबाहीका लागि स्वास्थ्य सेवा विभागले लोकसेवासँग परामर्श मागेर कारबाहीको स्पष्ट आधार भए नोकरीबाट हटाउन सक्ने राय दिई सके पनि पहुँच र शक्तिको आडमा उनलाई कारबाही हुन नसकेको जिल्ला स्वास्थ्यका एक कर्मचारीले बताए । उनलाई कारबाही नभए पनि आठ वर्षदेखि अहिलेसम्म तलब भने लिएका छैनन् । ‘उनलाई कारबाही नहुँदा दरबन्दी होल्ड भएर बसेको छ ।

 

उनको सरुवा वा कारबाही नहुँदा अर्को स्वास्थ्यकर्मीको पदस्थापना गर्नसमेत गाह्रो परेको छ । हाम्रोतर्फबाट गर्नुपर्ने सबै कारबाहीको प्रक्रिया अघि बढाइसकेका छौंं’, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चाँदनी जैसवालले भनिन्, ‘उनलाई कारबाही वा सरुवा गरी उक्त पदमा अर्को स्वास्थ्यकर्मी पठाउन सम्बन्धित निकायमा माग गरेका छौं ।

 

’ बेपत्ता डा. यादवले भने कारबाही भोग्दा सेवा सुविधा नपाइने भन्दै राजीनामा स्वीकृत गराउन शक्तिकेन्द्र धाइरहेको स्रोतले जनाएको छ । लामो समय उनको पद बिनाकाम होल्ड हुँदा उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा )

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको