अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस्

सोमबार, ३१ बैशाख २०७५

 

बजरमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ । अनुहार, छाला तथा सम्पूर्ण शरीरलाई स्वस्थ एवं आर्कषक राख्न सकिने त्यस्ता खानेकुरालाई चिकित्सकीय भाषामा ‘व्युटी फुड्स’ भन्ने गरिन्छ । व्युटी फुड्सको नियमित सेवनले रक्तसञ्चार सुचारु हुन्छ, छालाको कोषिका स्वस्थ हुन्छ र अनुहारको सुन्दरता वृद्धि हुन्छ । यस्ता खानेकुराको सेवनले लामो समयसम्म जवान तथा सुन्दर देखिन सकिन्छ ।

 

दही

 

क्याल्सियम तथा फस्फोरसको खानी दहीले दाँतलाई मजबुती प्रदान गर्नुका साथै दाँतको क्याविटी हुनबाट बचाउँछ । दहीको नियमित प्रयोगले छाला चम्किलो हुनुका साथै नरम हुन्छ । यसले ओस्टियोपोरोसिस हुनबाट समेत रोक्छ । दहीलाई फेसमास्कको रूपमा समेत प्रयोग गर्न सकिन्छ । सफा अनुहारमा फिटेको दही करिब दश मिनेटसम्म मालिस गरी लगाउनाले अनुहार चम्किलो हुन्छ ।

आधा कम फुल फ्याट दहीमा तीन ठूलो चम्चा मह र एउटा अण्डाको पहेलो भाग हालेर त्यसलाई राम्ररी घोलेर कपालमा करिब १५ मिनेट राख्नाले कपाल आकर्षक तथा मुलायम हुने गर्छ ।

गाजर/चुकन्दर

गाजर तथा चुकन्दर महत्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ । यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ । दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ ।

सखरखण्ड

सखरखण्डमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । त्यसैले यसलाई  ‘एन्टी एजिङ्ग फुड’ पनि भन्ने गरिन्छ । एन्टी एजिङ्ग तत्व भएकै कारण यसको नियमित सेवनले छाला चिल्लो नरम, मुलायम तथा चमकदार हुने गर्छ ।

लसुन

लसुनले चाउरीपना हुनबाट रोक्नुका साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउँछ । दिनमा एक/ दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले छाला सम्बन्धी समस्या कम हुने गर्छ । अनुहारमा डण्डीफोर छ भने त्यसमा लसुनको पोटी दल्दा समस्या कम हुन्छ ।

उमारिएको गहुँ

दिनमा दुईदेखि तीन चम्चा गहुँलाई उमारेर तयार पारिएको टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै, यसको नियमित सेवनले छालालाई सुन्दर बनाउन सकिन्छ । गहुँको टुसालाई दही, पनीर आदिमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।

अमिलो फलफूल

अमला, कागती, सुन्तला लगायतका अमिलो फलफूलले छालालाई स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यसको सेवन एन्टीअक्सिडेन्टको रूपमा काम गर्छ । त्यति मात्र नभई यस्ता फलफूलको सेवनले छाला कोमल, नरम तथा चम्किलो हुनुका साथै सफासमेत हुने गर्छ ।

गोलभेँडा

भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ । यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ । टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ ।

ओख्खर/आलस

ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ । फ्याटी एसिडले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्छ । यसले छाला सम्बन्धी समस्याहरूबाट समेत बचाउँछ ।

डार्क चकलेट

डार्क चकलेट पौष्टिकता तथा एन्टी अक्सिडेन्ट तत्वले भरिपूर्ण हुन्छ । चकलेटको सेवनले घामको विकीरणबाट छालामा पार्ने असरबाट बचाउनुका साथै रक्तसञ्चार बनाउँछ ।

ग्रीन टी

ग्रीन टीमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ, जुले छाला चाउरी पर्नबाट जोगाउँछ । ग्रीन टीको प्रयोगले मुटु सम्बन्धी समस्या तथा क्यान्सरजस्ता रोग लाग्नबाट समेत बचाउँछ । यसमा पाइने प्लावोनाइट तत्व पनि छालाको लागि लाभदायक मानिन्छ । यसले शरीरमा भएका विषाक्तता कम गर्नुका साथै अतिरिक्त तौल कम गर्न मद्दत गर्छ ।

यी बाहेक किसमिस, रातो वा पहेलो भेँडे खुर्सानी, ब्रोकाउली, मेवा तथा बदामको प्रयोगले पनि सौन्दर्यमा निखार ल्याउन ठूलो सहयोग पुर्‍याउँछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको