रुपन्देहीको मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम

बुधबार, ०६ असार २०७५

बुटवल / रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ ।

कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म प्रशिक्षण दिइयो ।

लुम्बिनी अञ्चल आयुर्वेद योग शाखा संयोजक तथा पतञ्जली योग समिति, लुम्बिनीका वरिष्ठ योग प्रशिक्षक विष्णुहरि आचार्यले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कार्यक्रममा जानकारी दिनुभएको थियो ।

जीवनशैली व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि उचित आहार विहार, व्यवहार र विचारले नसर्ने रोगलाई न्यूनीकरण गर्न सकिने समेत उहाँले बताउनुभयो ।

आयुर्वेद शाखा प्रमुख रवीन्द्रप्रसाद मिश्रले ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य क्षेत्रका समस्या बढ्दो रहेको भन्दै स्वस्थ जीवनका लागि सरसफाइदेखि योग, जीवनशैलीको महत्व बढी हुने धारणा राख्नुभएको थियो ।

तीनदिने कार्यक्रमको मंगलबार समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले स्वास्थ्य क्षेत्रलाई आफूले महत्व दिने उल्लेख गर्दै वार्षिकरुपमा तीनपटक यस किसिमका कार्यक्रम सञ्चालन गरी चेतना विस्तार गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले स्वस्थ जीवनका लागि योगको महत्व बढी हुने भन्दै अनुशासनमा ध्यान दिनुपर्ने बताउनुभयो । शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाका प्रमुख प्राम्सु ढकालले योगका बारेमा सहजीकरण गर्नुभएको थियो ।

योग प्रशिक्षणमा गाउँपालिकाका पदाधिकारीलगायतका जनप्रतिनिधि, दलका स्थानीय नेता कार्यकर्ता तथा सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको