के हो फिजियोथेरापी ?

शुक्रबार, ०९ कार्तिक २०७५

 

फिजियोथेरापी विभिन्न प्रकारका हुन्छन् । हाडजोर्नी तथा नसासम्बन्धीलाई अर्थोपेडिक, मुटुसम्बन्धीलाई कार्डियोरासिक, बच्चासम्बन्धी पेडियाट्रिक, वृद्धवृद्धामा हुनेलाई जेरियाट्रिक, नसासम्बन्धीलाई न्युरोलोजी र खेलकुदसम्बन्धीलाई स्पोर्ट्स फिजियोथेरापी भनिन्छ ।

 

सामान्यतया फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्न सघाउने उपचार विधि हो । एलोप्याथीअन्तर्गत पर्ने यो विधि धेरै किसिमका रोगको उपचारका लागि उपयुक्त हुन्छ । फिजियोथेरापीले हिँड्न नसक्नेलाई हिँड्न सक्ने बनाउनुका साथै विभिन्न अर्थोपेडिक समस्याको सर्जरीपछि अंगहरूको सञ्चालन क्षमता फर्काउनसमेत सहयोग पु-याउँछ ।

फिजियोथेरापी औषधि विज्ञानको महत्वपूर्ण भाग हो । भौतिक चिकित्सा विज्ञान पद्धतिद्वारा यसको उपचार गरिन्छ । फिजियोथेरापी प्रत्येक उमेर समूहका व्यक्तिका लागि एकदमै महत्वपूर्ण उपचार पद्धति हो । जसमा औषधिको प्रयोगभन्दा पनि शरीरका जोर्नीहरू, चिसो–तातोको प्रयोग, मांसपेशीका तन्तुलाई चलाएर उपचार गरिन्छ ।

फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु, रोगीको अवस्थालाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत गर्नु हो । कतिपय अवस्थामा एउटा रोगको कारणले शरीरका विभिन्न अंगमा असर पारिरहेको हुन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर पु-याइरहेको हुन्छ । औषधिको प्रयोगविना विभिन्न तरिकाबाट गरिने थेरापीले बिरामीलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।

किन गर्ने थेरापी ?
फिजियोथेरापी आफैँमा एक उपचार पद्धति हो । यसमा रोग पत्ता लगाएर आवश्यक व्यायाम, मालिस आदि विधिद्वारा उपचार गराउन सकिन्छ । फिजियोथेरापी गरेर अन्तिममा चिकित्सककहाँ उपचारका लागि जानु आवश्यक हुन्छ, तर नेपालमा भने सम्बन्धित रोगको चिकित्सकले रिफर गरेर मात्रै फिजियोथेरापी गरिन्छ ।

फिजियोथेरापीले रोगसँग लड्न सक्ने शक्ति बढाउनुका साथै विभिन्न सरुवा रोगबाट पनि बचाउँछ । नसर्ने रोग र दीर्घरोग लागेका बिरामीलाई पनि थेरापीले सहयोग पु-याउँछ । फिजियोथेरापी गर्दा कुनै साइड इफेक्ट नपर्ने हुनाले विभिन्न खाले रोग सजिलैसँग निको पार्न सकिन्छ । यस्तै निमोनिया, दम, नसासम्बन्धी जटिल रोग आदिमा जेरियाट्रिक फिजियोथेरापी प्रभावकारी हुन्छ । यसका साथै स्ट्रोकले हुने पक्षाघात, अल्जाइमरजस्ता रोगको उपचार गर्न सकिन्छ ।

यस्तै, अर्थोपेडिक फिजियोथेरापीमा हाडजोर्नी तथा नसासम्बन्धी समस्याको उपचार गरिन्छ । काम गर्ने तरिका नमिलेर कमजोर भएका मासंपेशीको उपचार, हड्डी च्यापिएका, क्याल्सियमको कमीका कारण हड्डी बांगिएको, हड्डी कमजोर भएका बिरामीका लागि यो विधि अपनाउने गरिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको