प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अबस्था गम्भीर : टिचिङमा भर्ना

सोमबार, १२ कार्तिक २०७५

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।

उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।

प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । डा. सायमीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको हो । उहाँको स्वास्थ्य अहिले सामान्य छ ।’

डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिनेछ ।  ‘आज बिहान फेरि ९ बजे हामी हेर्छौं, त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ । मलाई लाग्छ, अझै १–२ दिन अस्पतालमै राख्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको