बिषको भण्डार बन्दैछ शरीर, यसरी गरौं शुद्धिकरण

सोमबार, १२ कार्तिक २०७५

 

अहिले वायुमण्डल नै दुषित छ । तपाईं/हामीले पलपल सास फेरिरहँदा धुलो, धूँवा, दुर्गन्धले फोक्सो भरिन्छ ।

अहिले पानी अशुद्ध छ । खासगरी प्लाष्टिकको जारमा राखिएको पानी सेवन गछौं, जसमा अनगिन्ती तर नदेखिने प्लाष्टिकको कण हुने अनुसन्धानहरुले देखाएको छ । यस्तो पानीले हामी आँत भरिरहेका छौं ।

 

हामीले खाने सागसब्जी विषाक्त छ । विउँ-बिजन राख्नेदेखि त्यसलाई उमार्ने, फलाउने र भण्डारण गर्ने प्रक्रियामा हानिकारक रसायन प्रयोग गरिएको हुन्छ । यसरी फलाइएका सागसब्जीले हाम्रो पेटलाई रोगी बनाइरहेको छ ।

अहिले आफै उत्पादन गरेका अन्नपातले पेट भर्ने होइन, बरु बजारमा आश्रति छौ । बजारमा उपलब्ध ति खाद्यपदार्थ विशुद्ध, अग्र्यानिक छैनन् ।

त्यसबाहेक हामी खाजा-नास्ताको रुपमा खाने, मम, चाउमिन, चाउचाउ, पिज्जा, बर्गर, कुरकुरे, विस्कुट, चिप्स यी सबैकुरामा पोषक तत्व भन्दा बढी हानिकारक तत्व छन् । यस्ता खानपानले हाम्रो शरीरलाई विषको भण्डार बनाइरहेको छ ।

 

स्वादको चक्करमा पोषणरहित खानपान

आफ्नै खेतीबाली, आफ्नै सागसब्जी, आफ्नै फलफूल उत्पादन गरेर खाने चलन हराएको छ । चामल चाहियो, बजारमा पुग्छौं । सागसब्जी चाहियो, बजार चाहर्छौ । माछा मासु, दही, दुध, घिउ, फलफूल, सागसब्जी सबै कुरा बजारबाट हाम्रो भान्सामा आइपुग्छ । र, यी अधिकांश खानेकुरा शुद्ध वा अग्र्यानिक हुन्छ भन्ने छैन ।

धेरैजसो खाद्य पदार्थ स्वादिलो त छ तर पोषणयुक्त छैन । त्यसमध्ये पनि कतिपय विषाक्त छन् । यस्तो अवस्थामा शुद्ध र अग्र्यानिक खानपान हाम्रो लागि दुर्लभ बनेको छ ।

अर्कोतिर कमाई, करियरको चक्करमा हाम्रो जीवन अस्तव्यस्त छ । विहान उठेदेखि राती ओछ्यानमा पुग्दासम्म कामको तनावमा घेरिएका हुन्छौं । अर्थात आफ्नो खातिर हामीसँग कतिपनि समय छैन । न योग गर्छौं, न व्यायाम गर्छौं, न ध्यान गछौर्ं ।

हामी यसै पनि सुविधाभोगी बन्दैछौं । पाँच मिनेटको बाटोमा पनि हामीलाई मोटरसाइकल चढ्नुपर्छ । कार्यलयमा होस् वा घरमा, हामी बढी सुविधा खोजिरहेका हुन्छौं । ऐश-आरम खोजिरहेका हुन्छौं । अर्थात शरीर निक्रिय छ ।

एकातिर अशुद्ध खानेकुरा सेवन गरिरहेका छौं, अर्कोतिर सुविधाभोगी जीवन विताइरहेका छौं । नतिजा, शरीर विषको भण्डार बन्दैछ । खानेकुराको माध्यामबाट शरीरमा विषालु तत्व त जम्दैछ नै, त्यसलाई शरीर बाहिर निकाल्नका लागि कुनै प्रयास गरिदैन । यसैले त अहिले धेरैलाई दीर्घ रोगले गाँजेको छ । कोही उच्च रक्तचापले थलिएका छन्, कोही मधुमेहले । कसैलाई मुटुको रोगले गाँजेको छ, कसैलाई मिर्गौलाको ।

यस्तो अवस्थामा पुगेपछि त्यतीका दुख गरेर कमाएको पैसाको के काम ? दिनरात नभनी जोडेको धनसम्पतिको के काम ?

 

शरीरको शुद्धिकरण

भनिन्छ, तन्दुरुस्त र निरोगी शरीर आफैमा एक अनमोल उपहार हो । जबकी रोगी शरीरलाई एक पीडादायक अवस्थाको रुपमा चित्रण गरिन्छ । त्यसैले स्वस्थ्य जीवनका लागि शरीरको शुद्धिकरण आवश्यक छ ।

 

शरीर शुद्धिकरण कुनै शल्यक्रियाबाट हुँदैन, न त कुनै औषधीबाट नै । प्राकृतिक शैलीले यसको शुद्धिकरण गर्नुपर्छ । यसका लागि केही सर्त छन् ।

 

सर्त एक

मदिरा, चुरोट जस्ता सोझै हानि पुर्‍याउने पदार्थ पूर्णत त्याग गर्नुपर्छ । जंकफूड, रेष्टुरेन्टका खानेकुरा, मैदाजन्य परिकार, प्याकेटबन्द खानेकुरा, तारेको-भुटेको मसलेदार खानेकुरा सेवन गर्नै हुँदैन । संभव भएसम्म मासुजन्य परिकार खान नियन्त्रण गर्नुपर्छ ।

 

सर्त दुई

खानाका लागि समय निर्धारण गरौं । विहान, दिउसो, मध्यन्ह र साँझ केही न केही खाने तालिका बनाऔं । खाना सुपाच्य, पोषिलो र ताजा हुनैपर्छ ।

 

सर्त तीन

शारीरिक रुपमा सक्रिय र सफा रहने । विहान व्यायाम, योग, ध्यान गर्ने । प्राणायाम गर्ने ।

अब हामी आफ्नो शरीरलाई शुद्धिकरणको प्रक्रियामा लान सक्छौं । माथि उल्लेखित सर्तहरु पालना नगरी शरीर शुद्धिकरण गर्न संभव छैन । वा शरीर शुद्धिकरणका लागि गरिने प्रयास एवं अभ्यासहरु प्रभावकारी नहुन सक्छ ।

 

कसरी सुरु गर्ने शुद्धिकरण ?

सबैभन्दा आफ्नो जैविक र शारीरिक विष हटाउने । चिया, चुरोट, कफी, रिफाइन्ड खानेकुरा आदि त्याग्ने । दैनिक प्रयोग गरिने रासायनिक सामाग्री जस्तो कि, क्लिन्जर, स्याम्पु आदि नियन्त्रण गर्ने । संभव भएसम्म प्राकृतिक उत्पादनमा जोड दिने ।

तनावको स्थिती पनि एक समस्या हो, जसलाई आउन नदिने । यसले हाम्रो शरीरमा रहेको स्ट्रेस हर्मोन सिस्टम रिलिज गर्छ । यो हर्मोनले शरीरमा ‘एड्रेनालाईन रश’ बनाउन थाल्छ, जसले शरीरमा विषाक्त पदार्थ फैलन्छ । तनाव नियन्त्रणका लागि योग एवं ध्यान सर्वोत्तम विकल्प हो ।

शुद्धिकरणको प्रक्रिया सुरु गरेपछि दुई दिनको उपवास बस्नुपर्छ । यद्यपी दुई दिन तरल पदार्थ सेवन गर्नुपर्छ । जुस, सुप, सर्वत आदि पिउन सकिन्छ । पाँच दिनसम्म एकदम सुपाच्य एवं हल्का खाना खानुपर्छ । खाना यस्तो होस, जसलाई पचाउनका लागि पाचन यन्त्रले कुनै भार उठाउन नपरोस् । विषाक्त पदार्थ बाहिर निकाल्नका लागि तीनदेखि सात दिनसम्म शुद्ध, ताजा फल र सब्जीको पेय पदार्थ सेवन गरौं । यस उपायबाट शरीरको विषालु पदार्थ निकाल्न सकिन्छ ।

 

अब हामीले यस्तो आहार र जीवनशैली अपनाउनुपर्छ ।

१. फाइबरले भरपुर खानेकुरा खाने । जस्तो ब्राउन चामल र अग्र्यानिक विधीले उत्पादन गरिएको ताजा फल एवं सब्जी । मुला, चुकन्दर, बन्दागोभी, ब्रोकाउली आदि एकदम प्रभावकारी विषहरण आहार हो ।

२.कलेजोलाई शुद्धिकरण गर्नका लागि ग्रीन टि, दुध जस्ता पोषक तत्व लिने ।

३. भिटामिन सियुक्त आहार लिने । यसले शरीरमा ग्लूटाथियोन उत्पादन गर्न मद्दत गर्छ । यसले कलेजोमा रहेको विषालु पदार्थ निकाल्छ ।

४. दिनभरमा कम्तीमा दुई लिटर पानी पिउनुपर्छ । पानी पिउँदा शरीरको अशुद्ध पदार्थ बाहिर निस्कन्छ ।

५. गहिरो सास लिने, यसले हाम्रो शरीरको सबै प्रणालीमा अक्सिजन राम्ररी पुग्छ ।

६. पाँच मिनेटका लागि एकदम अर्थात सहन सक्ने तातो पानीले हायड्रोथेरापीको अभ्यास गर्ने । त्यसपछि ३० सेकेन्डका लागि चिसो पानीले नुहाउने । यस प्रक्रिया तीन पटक गर्ने र फेरी आधा घण्टाका लागि बेडमा आरम गर्ने ।

७. व्यायाम गर्ने । सकेसम्म पसिना निकाल्ने । विहान एक घण्टा पूर्ण व्यायाम गर्ने, योग गर्ने, ध्यान र प्राणायाम गर्ने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको