बर्तमान राजनीतिको चित्रपट

बुधबार, १२ मङि्सर २०७५

बर्तमान राजनीतिको चित्रपट

लोकतन्त्रको गति आशंका र त्रासमा


झण्डै सत्तरीवर्षदेखि अस्थिरतावाट गुज्रदै गएको नेपालको राजनीति जननिर्वाचित संविधानसभावाट संविधान निमार्ण र कार्यान्वयन भएपछि स्थिरताको दिशातर्फ उन्मुख भएपनि भावी चित्र भने अझै धमिलो देखिन्छ । यसमा मूलभूतरुपले तीनवटा कारणहरु चित्रपटमा देखिन्छन् । लोकतान्त्रिक तथा संसदीय मूल्य मान्यता, कम्युनिष्ट अधिनायकत्वको खतरा र संघीयताले निम्त्याएको राष्ट्रिय अक्षुणता यी तीनवटा प्रश्नहरु नै अहिले प्रत्यक्ष देखिएका स्थिरताका वाधक हुन् ।

 

निश्चय नै नेपाली कांग्रेस पार्टी भनेको लोकतान्त्रिक संसदीय परिपाटीभित्र समाजवादी राज्यप्रणालीको पक्षपाती पार्टी हो । वी.पी. कोइरालाको विचार तथा नेपाली कांग्रेसले स्थापनाकालमा अंगीकार गरेको सिद्धान्तको मर्ममा पार्टीले खुट्टा टेकिरहेको छ कि छैन यो पार्टीभित्रै वहसको विषय होला तर राष्ट्रिय राजनीतिमा उसको भूमिका वी.पी.को निधन पछि वैचारिकरुपले स्पष्ट देखिदैन । पञ्चायत ढाल्ने वा गणतन्त्र स्थापना गर्ने मुद्धासम्म नेपाली कांग्रेसले लिएको नीति एकप्रकारले राष्ट्रिय स्वार्थ सापेक्ष थियो । त्यसपछिका दिनहरुमा पटकपटक भएका गठवन्धन र सहमतिहरुले पार्टीलाई कति फाइदा पु¥यायो वा कति घाटा पु¥यायो भन्नु भन्दा पनि लोकतान्त्रिक मूल्यका खातिर कति सकारात्मक रह्यो भन्ने संश्लेषणको विषय भएको छ । आन्तरिक गुटवन्दी र नेतृत्वको प्रश्न प्रतिस्पर्धाको विषय भएपनि यसले पार्टीको नीति र सिद्धान्तलाई क्षति हुने तहको वाटो अंगीकार गर्न हुँदैनथ्यो । कतिपय घटनाक्रम तथा गठवन्धनले नेपाली कांग्रेसलाई जनाधारमा क्षति पु¥याएको देखिन्छ । शिर्ष तहका प्रतिस्पर्धी नेताहरु वीच व्यक्तिगत सम्बन्ध र अनुनयका आधारमा हुने गठवन्धनले आफ्नो राजनीतिक वर्चश्व र स्थानीय जनाधारमा क्षति पु¥याउन सक्छ भन्ने कुरालाई नेतृत्वले नजरअन्दाज गर्नु हुँदैन । नेपालको चुनावी स्पर्धा र केही सानातिना घटनाक्रममा नेपाली कांग्रेसले आफ्नो जग छोडेको देखिन्छ जसले गर्दा महानिर्वाचनको परिणाम उसका लागि सुखद रहेन ।

 

नेपाली कांग्रेस भनेको नेपाली राजनीतिमा स्थिर जनाधार भएको पार्टी हो । कुनै पनि संकट, घेरावन्दी र विस्थापनको क्षणमा पनि आफ्नो अवस्थाबाट विचलित नभएका कार्यकर्ताले घेरिएको पार्टीको जनाधार वास्तवमा अत्यन्त लोभलाग्दो छ । तर यसलाई कसरी परिचालन, संरक्षण र सम्बद्र्धन गर्ने भन्ने विषयमा नेताहरु गम्भीर देखिदैनन् । हरेक नेताहरु आ–आफ्नो गुट र सिमित कार्यकर्ताको बृत्तभित्र रमाउनु तथा जनताको विसाल पंक्तिमा खेलिरहेका कार्यकर्ताहरु आस्थाकै भरमा टिकीरहनु परेको तथ्य नेताहरुले बुझ्नु पर्छ ।

 

नेपालको वर्तमान राजनीतिको परिदृश्यमा नेपाली कांग्रेसको भूमिका लोकतन्त्रको रक्षार्थ खबरदारी, कार्यकर्ता प्रशिक्षण र जनाधारको रक्षा र विस्तारमा भन्दा आन्तरिक गुटवन्दीमा मात्रै केन्द्रित देखिन्छ । वक्तव्यवाजीमा कम्युनिष्ट अधिनायकवादको खतरा भनिए पनि व्यवहारमा यसलाई निस्तेज पार्न र जनतालाई सचेत गर्ने दिशातर्फ अग्रसर हुन सकिरहेको छैन । जसले गर्दा नेपाली कांग्रेसको सुदूर भविष्य कम्युनिष्ट एकताले होइन आफ्नै अनेकताले धमिलिदै छ ।

 

नेपालमा कम्युनिस्टहरुको साठी प्रतिसत भन्दा ज्यादा जनाधार निर्वाचन परिणामले देखाएको छ । वास्तवमा यो यथार्थ साम्यवादी प्रणली चाहाने जनाधार हो कि चुनावी रणनीतिले मात्र वटुलेको जनाधार हो ? नेपालका कम्युनिस्टहरुको आत्ममुग्धता यस्तै परिणामले परिपोषित छ । विश्वमा रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट संगठनलाई मधयनजर राख्दा नेपालको यो चित्र औसतमा कम्युनिस्टहरुका लागि सकारात्मक परिणाम नै हो । तर यथार्थमा नेपाली समाजको राम्रो विश्लेषण गर्ने हो , सामाजिक चरित्र र चुनावी परिणामको लेखाजोखागर्ने हो भने नेपालमा कम्युनिष्टहरुको जनाधार अत्यन्त अस्थिर र क्षणभङ्गुर देखिन्छ । नेपाली जनताको भावना र मनोविज्ञानलाई राम्रोसंग संश्लेषण गर्ने हो भने कुनै पनि प्रकारको निरंकुशता र अधिनायकत्वको पक्षमा जनमत पुग्दैन । कम्युनिष्ट राज्य प्रणाली स्थापनाको सवालमा दर्जनौ पार्टी र पृथक विचार वोकेका कम्युनिष्टहरुको न्यून जनाधार चुनावी प्रतिस्पर्धामा हुने जोडघटाउ यथार्थ जनाधार होइन । यसका आधारमा तर्सने र खतार देख्ने भन्दा पनि सत्ता सञ्चालन विधिमाथि आफ्ना दृष्टिहरु पुग्नुपर्ने हुन्छ ।

 

झण्डै एकतिहाई जनाधार वोकेको नेकपा (एमाले) र खहरे खोला झै ह्वात्त भएर स्वात्तै सुकेको माओवादीको न्युन जनाधार र एकताले संसदीय गणितमा शक्तिशाली देखायो । संसदीय गणितको आधारलाई कम्युनिष्ट अधिनायकवादको खतराका रुपमा परिभाषित गर्नु राजनीतिक दूरदर्शिता होइन । कम्युनिष्टहरुका वेलावखतका एकता र विभाजन राजनीति र सैद्धान्तिक भन्दा पनि व्यक्तिगत महत्वकांक्षा र जूँगाको लडाई जस्तो देखिएका छन् । गएको निर्वाचन अघिको दुइ पार्टी वीचको पार्टी एकता कसैका लागि राजनीतिक हैसियतामा वढोत्तरी र कसैका लागि आस्तित्वको सम्मानपूर्ण रक्षामा केन्द्रित थियो । यसलाई दीर्घकालिन र सैद्धान्तिक मूल्यस्थापनाको कार्यदिशाको रुपमा हेर्न सकिदैन । त्यसैले यसलाई त्यही ढंगको खतरा देखाउनु मात्र लोकतन्त्रको पक्षपोषण हुदैन । नेपालको वर्तमान परिदृश्यमा विभिन्न खतरा भन्दा पनि लोकतन्त्रको मर्म अनुरुपको राजनीतिक शैलि र संस्कारको अभाव तथा संघीयताको अभ्यास भैनसकेको अवस्था हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

Loading...

सर्वाधिक पढिएको