प्यूठानमा प्रादेशिक स्वास्थ्य कार्यालय स्थापना

मङ्गलबार, १८ मङि्सर २०७५

 

प्यूठान- संघीय संरचना अनुसार प्युठानमा प्रादेशिक स्वास्थ्य कार्यालय स्थापना गरिएको छ। 

प्यूठान र रोल्पा जिल्लामा सेवा प्रदान गर्ने गरि सोमबार कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। जिल्ला समन्वय समितिका संयोजक केशवराज आचार्यले रिवन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। जिल्लामा सेवा दिदै आएको कार्यालयले अबदेखि रोल्पा जिल्लामा समेत सेवा प्रदान गर्नुपर्नेछ। 

पाँच नम्बर प्रदेश सरकारको निर्णय अनुसार पाँच नम्बर प्रदेशमा रहेको १२ जिल्लामध्ये दुई जिल्लालाई कार्यक्षेत्र बनाएर ६ वटा स्वास्थ्य कार्यालय रहनेछन्। 

 

स्वास्थ्य कार्यालय स्थापनाले आफुहरुलाई थप जिम्मेवार बनाएको जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए। ‘हाल प्रदान गर्दै आएका सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउँदै थपिएको रोल्पा जिल्लाको जिम्मेवारी पनि बहन गर्नेछौं’ उनले भने।

नयाँ संरचना अनुसार स्वास्थ्य कार्यालयले प्रर्वधनात्मक, प्रतिकारात्मक, उपचारात्मक र निदानात्मक सेवा सहज ढंगले सम्पादन गर्दै निरन्तरण निःशूल्क, अत्यावश्यक औषधि आपुर्ति, व्यवस्थापन, भण्डारण र वितरण, नियमित खोप सेवा कोल्डचेन तथा खोपजन्य सामाग्रीको व्यवस्थापन, जनस्वास्थ्य सम्बन्धी गतिविधि एवंम राष्ट्रिय अभियानका कार्यक्रम संचालन गर्ने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। 

जिल्ला अस्पताल बिजुवारका प्रमुख डा. अच्युतराज कार्कीले रोल्पाबासीलाई यसअघि पनि सेवा दिदै आएकोले थप जिम्मेवारीलाई मध्येनजर गर्दै उपलब्ध श्रोत र साधनको प्रयोग गरि गुणस्तरिय सेवा दिन तयार हुनुपर्ने बताए।

 

हाल प्यूठान र रोल्पा जिल्लामा गरि ४ लाख ७६ हजार २ सय ५ जनालाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्यूठानमा ५० शय्याको र रोल्पामा १५ शय्याको दुईवटा अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९५ वटा स्वास्थ्य चौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाइ, ५वटा शहरी स्वास्थ्य केन्द्र, ४ सय ६६ वटा खोप क्लिनिक, ३ सय ३५ वटा गाउँघर क्लिनिक, ९ सय १ महिला स्वास्थ्य स्वयंमसेविकाहरु रहेका छन्। 

 

प्यूठानका १६ र रोल्पाका २१ गरि ३७ वटा वडामा स्वास्थ्य संस्था नभएकाले स्थापना गर्नुपर्नेछ। 

हाल स्थापना भएको कार्यालय ख वर्गको हो। यो वर्गका कार्यालयमा प्राविधिक र प्रशासन तर्फका कर्मचारी गरि ११ जनाको दरबन्दी कायम छ। रोल्पा र प्यूठानका १३ जना स्वास्थ्यतर्फका कर्मचारी फाजिलमा परेका छन्। हाल फाजिलमा परेका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई छुट्टै हाजिरि रजिष्टर राखी हाजिर गराई आवश्यकता अनुसार कामकागजमा लगाउन सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको प्रमुख सुवेदीले बताए। फाजिल कर्मचारीको व्यवस्थापन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ।  

 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रसंग सरोकार राख्ने सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको