जाडोमा रुघाखोकी सताउँछ । रुघाखोकी आफैमा जटिल समस्या होइन । तर, यसले हाम्रो दैनिकीलाई प्रभावित बनाउँछ ।
अहिले कतिपय रुघाखोकीको समस्या झेलिरहेका छन् । यो संक्रमण स्वाइन फ्लु नभएर मौसमी रुघाखोकी हो । एउटा मानिसबाट अर्को मानिसमा सर्ने मौसमी रुघाखोकी कुनै नयाँ रोग नभई श्वास-प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले संक्रामक रोग हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरो (सिजनल इन्फ्लुएन्जा)बाट प्रभावित बिरामीको संख्या धेरै हुने गर्छ ।
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छिउ गर्दा सजिलै सर्न सक्छ । यो रोग प्रायः सामान्य रुघाखोकीको रुपमा देखा पर्छ र यी लक्षणहरु केही दिनमा आफैँ हराएर जान्छ । केही मानिसहरुमा भने मौसमी रुघाखोकीकै कारण थप जटिलता उत्पन्न हुनसक्छ ।
बिशेषगरी गर्भवती महिला, ५ वर्ष मूनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग (जस्तै, मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धि रोग, दम र अन्य श्वास-प्रश्वास सम्बधि दीर्घ रोग, आदि) बाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ ।
मौसमी रुघाखोकीको परिक्षण जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क हुने गर्छ ।
मौसमी रुघाखोकी लागेमा ३८ डिग्री सेल्सियस् भन्दा बढी ज्वरो आउने, खोकी लाग्ने तथा घाँटी दुख्ने गर्छ । बालबालिकामा वाकवाकी लाग्ने वा वान्ता हुने,पेट मडारिने, झाडा पखाला लाग्ने गर्छ । त्यसबाहेक, हाच्छिउ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने तथा शरीर आलस्य हुने जस्ता सामान्य लक्षण देखिने गर्छ ।
मौसमी रुघाखोकीको समस्याबाट बच्न यी उपायहरु अपनाउनु पर्ने स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ०७५ मंसिर महिना देखी पौष २६ सम्म ३३४ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएकोमा १६८ जना बिरामीहरुमा इन्फ्लुएन्जा प्रमाणित भएको थियो । ती मध्ये १४६ जनामा (इनफ्लुएन्जा ए एचवान्एनवान् पीडीएम ०९), नौ जनामा इन्फ्एन्जा ए एच ३ र १३ जनामा इन्फ्लुएञ्जा बी प्रमाणित भएको थियोमा एक जनाको गत पौषमा मौसमी रुद्धाखोकीकै कारण उत्पन्न थप जटिलताका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाले यो वर्ष पनि मौसमी रुघाखोकीबाट उत्पन्न जटिलतालाई ध्यानमा राखेर यी उपाय अपनाउन अनुरोध गरेको छ ।
मौसमी रुघाखोकीबाट बच्ने उपायः
-खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल,कपडा वा पाखुराले)
-सही तरीकाले साबुन पानीले पटक पटक हात धुने ।
-हात नमिलाउने, नमस्कार गर्ने ।
-दुरी कायम गर्ने । (अन्य व्यक्तिसँग कम्तीमा एक वा दुई हात टाढा रहने)
-रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्ति भन्दा अलग्गै राख्ने )
-आँखा, नाक तथा मुखमा अनावश्क रुपमा हात नलैजाने ।
-जथाभावि नथुक्ने वा सिंगान नफाल्ने ।
-शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने ।
-रुघाखोकी लागेका व्यक्तिहरु ३-५ दिन सम्म घरमै आराम गरेर बस्ने ।
-रोगी व्यक्तिलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस,तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने ।
-चुरोट रक्सी नखाने ।
-दुध चुस्ने उमेरका बच्चाहरुलाई साविक बमोजिम नियमित स्तनपान गराउने ।
-चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना औषधी नखुवाउने ।
मौसमी रुघाखोकी र स्वाइन फ्लु बीचको फरक
पछिल्लो समय केही सञ्चार माध्यमहरुमा मौसमी रुघाखोकीलाई लिएर भ्रामक समाचार आएको पाइन्छ । धेरैले यसलाई स्वाइन फ्लु भन्ने गरेको पनि पाइन्छ। जबकी स्वाइन फ्लु मौसमी रुघाखोकी भन्दा अलग्लै हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बंगुर (स्वाइन)बाट मानिसमा सर्ने स्वाइन फ्लु बंगुरबाट मानिसमा विरलै सर्ने गर्छ । यद्यपी, यो रोग अहिलेसम्म नेपालमा देखा परेको छैन । नेपालमा अहिले जुन किसिमको संक्रामक रोग देखिएको छ, त्यसलाई विभिन्न संचारमाध्यमहरुले स्वाइन फ्लु भनेता पनि यो रोग मानिसबाट मानिसमा सर्ने मौसमी रुघाखोकी -सिजनल इनफ्लुएन्जा, इन् लुएञ्जा ए एचवान्एन्वान् पीडीएम ०९) भएकोले भ्रममा नपर्न समेत महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्