दैलेख अस्पतालका प्रमुख डा पन्तको कोरोना उपचार अनुभव

बुधबार, ०७ साउन २०७७

 

काठमाडौं- दैलेख जिल्लामा कोरोना भाइरसबाट ८ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। कोरोना संक्रमणको ‘हट स्पट’ नै बनेको दैलेखमा संक्रमितको उपचार यहाँका स्वास्थ्यचौकी र अस्पतालहरुमा हुँदै आएको छ।

४ नगरपालिका र ७ वटा गाउँपालिकामा रहेको दैलेखमा कोरोना संक्रमितका लागि निर्माण भएको आइसोलेसन र नमुना संकलनको जिम्मा दैलेख जिल्ला अस्पतालले लिएको छ।  

अस्पतालका प्रमुख डा निराजन पन्तका अनुसार अस्पतालले स्थानीय विद्यालयको पक्की भवनमा अक्सिजन जडित ४० र १०० बेडको सामान्य आइसोलेसन वार्ड निर्माण गरेको छ। त्यस्तै जटिल खालका संक्रमितको उपचारको निम्ति अस्पतालले आइसियु र भेन्टिलेटर जडित ५ शय्या छुट्याएको डा पन्तले जानकारी गराए। 

दैलेख जिल्ला अस्पतालले बनाएको आइसोलेसनमा अहिलेसम्म ७० जनाभन्दा बढी कोरोना संक्रमित भर्ना भइसकेका छन्। डा पन्तका अनुसार ६५ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना आइसोलेसनमा उपचारत रहेका छन्। 

‘दुल्लु नगरपालिकामा आफ्नै अस्पताल भएकोले त्यो बाहेक सबै नगरपालिका र गाउँपालिकामा अस्पतालबाट मेडिकल टिम पठाउने गरेका छौँ। 

जिल्लाका अन्य आइसोलेसन सेन्टरमा भर्ना भएका करिब ५ सयभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्,’ उनले भने। 

विश्वमा कोरोनाको महामारी सुरु भएदेखि नै अस्पतालले आफ्नो तयारी गर्न सुरु गरिसकेको थियो। अस्पतालले नेपालमा सम्भावित कोरोना संक्रमणलाई ख्याल गरेर कोरोना संक्रमितको उपचारमा कर्मचारीहरुलाई कसरी परिचालन गर्ने भन्नेबारे पहिला नै टिम तयार गरिसकेको थियो। जसले गर्दा दैलेख जिल्लाभरकै कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारी आएको अस्पतालले कुनै कठिनाइ व्यहोर्नु नपरेको डा पन्तले बताए। 

‘हामीले फागुनको अन्तिमदेखि नै तयारी सुरु गरेका थियौं, तर त्यसको दुई महिनापछि मात्रै जेठ ६ गते पहिलो संक्रमित आइसोलेसनमा भर्ना भएका थिए,’ उनले भने, ‘अस्पतालमा संक्रमित भर्ना हुँदासम्म सबै स्टाफको मनोबल उच्च भएकोले जुनसुकै बेला पनि संक्रमित आउँन सक्छन् भनेर अस्पताल तयारी अवस्था थियो।’

स्वास्थ्यकर्मी र चिकित्सक कोरोना संक्रमितको उपचारका लागि उच्च मनोबलका साथ तयारी अवस्थामा रहे पनि एम्बुलेन्स चालकहरुमा डर देखिन्थ्यो। डा पन्तका अनुसार पहिलो पटक क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना देखिएपछि उनलाई अस्पताल ल्याउन जाने दिन एम्बुलेन्स चालक रोएका थिए। जुन घटना सम्झिँदा अहिले पनि डा पन्तलाई नरमाइलो लाग्छ।

‘जेठ ५ गते क्वारेन्टाइनमा बसेका एक युवकको परीक्षणमा कोरोना पोजेटिभ देखियो, त्यसपछि अस्पतालले संक्रमित व्यक्तिलाई ल्याउन कोको जाने भनेर पहिला नै तयारी गरेको थियो। एम्बुलेन्स पनि तयारी अवस्थामा थियो तर एम्बुलेन्स चालक घरबाट निस्कँदा धेरै रोएका रहेछन्, त्यो कुरा मैले पछि थाहा पाएँ,’ उनले भने, ‘कोरोना संक्रमित लिन जाँदा आफूलाई पनि सर्छ भनेर उनी रोएका रहेछन्। यो थाहा पाएपछि मलाई अत्यन्तै नमज्जा लाग्यो।’ 

अस्पतालले स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण हुन नदिन निकै सावधानी अपनाएको डा पन्तले बताए। उनका अनुसार संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १० दिन उपचारमा खटाउने र त्यसपछि १४ दिन क्वारेन्टाइन राख्ने गरेको छ। क्वारेन्टाइन बसाइपछि पिसिआर परीक्षण गराएर मात्रै बिदामा बस्ने नियम अस्पतालले बनाएको छ। 

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक कसैमा पनि संक्रमण देखिएको छैन। अस्पतालको इमर्जेन्सीमा काम गर्ने एक जना स्वास्थ्यकर्मीमा भने कोरोना संक्रमण देखिएको थियो। तर उनी अहिले निको भएर काममा फर्किसकेका छन्। 

देशभर स्वास्थ्यकर्मी  र चिकित्सकले सुरुमा भोगेको एउटा साझा समस्या पिपिई अभाव हो। जुन समस्या दैलेख अस्पतालले पनि भोग्नुपरेको थियो। एउटै पिपिईलाई धेरै दिनसम्म प्रयोग गर्नुपरेको पीडा डा पन्तले सुनाए। अहिले भने पिपिईको अभाव नरहेको उनले बताए। सुरुवाती दिनमा पिपिई प्रयोग गर्दा स्वास्थ्यकर्मीहरुले गाह्रो महसुस गरे। ‘पिपिई लगाएर बस्दा गर्मी भएर चिडचिड हुने समस्या हुन्थ्यो तर विस्तारै बानी पर्दै गयो, अहिले भने गाह्रो महसुस हुँदैन,’ उनले अनुभव सुनाए।

दैलेख जिल्ला अस्पतालले संक्रमितको हेरचार गर्न सिसिटिभी जडाउन गरे पनि स्वास्थ्यकर्मी  दैनिक ज्वरो र प्रेसर नाप्न संक्रमित भएको ठाउँमा जाने गरेको पन्तले बताए। ‘अस्पतालले संक्रमितको उपचारमा आयुर्वेदिक विधि पनि अपनाएको छ। संक्रमितलाई आयुर्वेदिक विधिमार्फत पनि उपचार गर्दै आएका छौं,’ उनले भने, ‘संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउनका साथै योग ध्यान गराउन लगाएका छौँ।’

पन्तका अनुसार अस्पतालले संक्रमितको खानामा माछा, मासु, अण्डा, चना जस्ता पोषिला खानेकुरा समावेश गरेको छ। 

संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम स्वास्थ्य सेवा विभागबाट प्रतिनिधि आएर गरिरहेको पन्तले जानकारी गराए। उनले भने, ‘विभागका प्रतिनिधिहरुले कोर गुप बनाएर कन्ट्याक्ट ट्रेसिङ गरिराख्नुभएको छ। सबै पालिकामा ल्याब सहयोगीहरुलाई करारमा नियुक्त गरेर क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेस्टमा लगाएका थियौँ।’

पन्तका अनुसार दैलेख जिल्लामा करिब १४ हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका थिए। अहिले भने दुई सय जनामात्र क्वारेनटाइनमा छन्। भारतबाट आउनेको संख्या बढेसँगै १५÷२० दिनको अन्तरालमा क्वारेन्टाइनमा बस्ने मानिसको संख्या ह्वात्तै बढेको थियो। अहिले भने बाहिरबाट आउनेको संख्या घटेको छ भने क्वारेन्टाइनमा बसेका धेरैको परीक्षणपछि घर फर्किसकेका छन्। 

क्वारेन्टाइनमा बसेकाहरु कोरोना परीक्षण रिपोर्ट ढिला आउँदा समस्या दैलेखमा पनि देखियो। जसले गर्दा क्वारेन्टाइनमा कयौं दिन नाराबाजी नै भए। ‘रिपोर्ट ढिला आउने गरेका कारण घर जानुपर्ने माग गर्दै दिनहुँजसो नाराबाजी भयो, सम्हाल्नै गाह्रो,’ दैलेख अस्पतालका कार्यालय प्रमुख डा पन्तले क्वारेन्टाइन अवस्थाबारे सुनाए।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको