कुन कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ । जानिराखौ

बिहिबार, ०८ साउन २०७७

 

केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार चल्दै आएको छ ।

 

खानाकै सवालमा एक व्यक्तिगत प्रश्न पनि आउन सक्छ, के तपाई प्रायः पेटको भारीपन, ग्यास र अन्य पाचनसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ? छ भने यसको पछाडि हामीले खान नजानेको खानपान शैली नै कारक पनि हुन सक्छ । जुनसुकै खाद्य पदार्थ पनि एउटा निश्चित संयोजनमा नखाने हो भने त्यसले हामीलाई हानि गर्न सक्छ । शोधकर्ताहरू यस्तै खानाका सारथिको खोजीमा हुन्छन् जसले शरीरलाई फाइदा गर्छ ।


हाम्रो संस्कृतिले खाद्य पदार्थहरूको मात्रा र विधिको बारेमा उल्लेख गरेको छ । जस्तो, छोकडाको साथमा दूध, खानाको साथमा नरिवल र दालको साथमा दहीको संयोजनले सम्पूर्ण पोषणलाई बढाउने काम गर्छ । यद्यपि पनिरसँग पालक, दहीको साथमा फलफूल जस्ता केही बेमेल हुने खानेकुरालाई पहिचान गरेर आफ्नो खानपान संस्कार बनाउने हो भने यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने पोषणविद्हरू बताउँछन् ।

 

आँप र काँक्रोको नमिल्दो संयोग

आँप आफैँमा गर्मी खालको फलफूल हो । तराईतिर यसलाई गर्मी समयको फलफूलको राजासमेत मान्ने गरिन्छ । यो गर्मी मौसममा हरेक घरमा उपभोग हुने फलफूल हो । यही आँपसँग काँक्रोको प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

 

पोषणविदहरु आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । यी दुवै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।

 

दुग्ध उत्पादन र पालक

पालकबाट बन्ने विभिन्न किसिमका परिकारहरू आफैंँमा स्वादवद्र्धक हुन्छ । पालकसँग पनिर खाने चलन पनि कताकतै पाउन सकिन्छ । तर त्यो आफैँमा हानिकारक रहेको न्युट्रिसियनहरू बताउँछन् । पनिरलगायत दुग्ध उत्पादनहरूमा क्याल्सियम प्रशस्त मात्रामा पाउने गरिन्छ । तर जब दुग्ध उत्पादनहरू पालकसँग मिसिन्छन् दुग्ध पदार्थमा रहेको क्याल्सियम र पालकको अक्सेलिक एसिड मिसिन्छ । जसले शरीरले क्याल्सियम लिन सक्दैन । त्यसैले यो आफैँमा हानिकारक हुन्छ । बरु पालकलाई दाल र च्याउसँग मिसाएर खान सकिन्छ ।

 

दूध र दाल

भुटेको सिमी, भट्टमासजस्ता दलहन र दूधलाई मिसाएर खानु पनि स्वास्थ्यको लागि राम्रो कुरा होइन । दूध र दलहनलाई साथमा सेवन गर्ने हो भने यसले पेटको पाचन प्रणालीमा समस्या सिर्जना गर्ने बताइन्छ । फेरि दूधको साटो दहीको प्रयोगले आँतलाई राम्रो गर्ने गर्छ । पोषणविद्हरूका अनुसार दूधको पाचन प्रणाली पेटमा नभई डुओरेअम अर्थात् भित्री आँतको एक भागमा हुने गर्छ । अर्कोतर्फ पेटमा पाचन प्रणाली रहेको दलहनमा रहेको ओलिगोसाकराइड्स नामको गुलियो पदार्थ पनि पचाउनको लागि कठिन हुने खानाको कोटीभित्र पर्छ । यसरी दुई किसिमको खानेकुरा एकैपटक प्रयोग गर्दा शरीरको पाचन प्रणाली ढिला हुनसक्ने बताइन्छ ।

 

दूध र एन्टिबायोटिक

गिलासमा दूधको साथ एन्टिबायोटिक लिनु धेरैको लागि सामान्य बानी भइसकेको हुन सक्ला । तर यो स्वास्थ्यका लागि राम्रो कुरा भने होइन । एन्टिबायोटिक प्रभावकारी हुनका लागि मुखदेखि पेटसम्मका अंगले त्यसलाई बिस्तारै थोरै मात्रामा शोषण गर्दै गएको जानुपर्छ । जहाँबाट ती पोषक तत्वहरू रगतभित्र जान्छ । दुग्ध उत्पादनहरूमा क्याल्सियम धेरै मात्रामा पाउने गरिन्छ । जसले एन्टिबायोटिकसँग मिसिँदा औषधिलाई प्रभावहीन बनाउँछ । साथै, शरीरका अरू अंगले पनि एन्टिबायोटिकलाई शोषण गर्न सक्दैन ।

 

सिमी र चिज

भुटेको गेडागुडी र चिज जस्ता परिकारले शरीरको पाचन प्रणालीमा असर गर्ने एवं शरीरको ऊर्जा अधिक खर्च गर्ने गर्छ । यस्तो खानाका कारण शरीरले प्रोटिनबाट अमिनो एसिडको थोरै मात्रा अवशोषण गर्छ । जबकि बाँकी प्रोटिन खेर जाने गर्छ । जसले बढी विष र अम्लियपना उत्पन्न गर्छ । शरीरमा रहेको एसिडले हड्डीको द्रव्यमानलाई कम गर्न र प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने गर्छ ।

 

खानासँग रक्सी

खानासँग चिसो खाले पेय पदार्थ खानु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्ता पेय पदार्थ खानासँगै खाँदा त्यसले पाचन प्रणालीमा अवरोध गर्नसक्ने पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार कार्बोनेटेड पेयले पाचन प्रणालीमा असर गर्छ । फलस्वरुप पाचन प्रक्रिया नै ढिलो हुन जान्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको