कसले बुझ्छ प्रहरीकाे व्यथा ?

मङ्गलबार, २७ साउन २०७७


 

प्रकाश अधिकारी, 

६ बर्ष भयो मैले मेरो कर्तव्यलाई अनुशासित भएर पूरा गर्न थालेको । नेपाल प्रहरीको जागिरमा कर्तव्य निभाईरहँदा परिवारप्रतिको कर्तव्य चाहिँ भुलिरहेको हुन्छु । आखिर मेरो कर्तव्य घरमा पैसा पठाउनु मात्र त होइन । घरिघरी सोच्छु, म मात्र त होइन नि म जस्ता धेरै छ्न् ।

 

हाकिमको बोली भुइँमा खस्न नपाउँदै काम गर्न तम्सिहाल्ने बानीले पनि दिक्दार लाग्न थालेको छ अचेल । न राम्रो सेवा न राम्राे सुविधा । महिनाको थोरै रासनले यो खिरिलो ज्यान दिनरात नभनी दौडी रहेको हुन्छ । भोक प्यास निन्द्रा डर अनि परिवारप्रतिको जिम्मेवारी । अरु त अरु, शौचालय जाने फुर्सद समेत नहुने कहिलेकाहीँ त । यो बाटो मैले नै रोजेको हो । तलबको लागि मात्र म यो बाटो हिंडेको पनि होइन । देशको लागि केही गर्छु भन्ने अभिलाषाका साथ हिँडेको एउटा युवक हुँ म । हुन त अरु पनि छन् म सरहका कर्मचारी, जसले आफ्नो कर्तव्य र खाएको सपथलाई बिर्सेर पैसाको लागि देशको अभिमान बेचे । जसको यही अवधिमा कति घडेरी थपिए त केही घरका तल्ला थपिए ।

prakash adhikari

२४ सै घण्टा खटिरहँदा पनि सुविधा केही छैन, परिवार कसरी चलाउने ? न त एक्लो जिवन जिउन तलब नै पर्याप्त छ एउटा परिवार चलाउन को लागि पुग्छ । हप्ता वा महिना त कुरै छोडौँ चाडपर्वमा समेत छुट्टी मिल्दैन । यो कस्तो सेवा हो ? चाडपर्वमा आफ्नो परिवार साथीसङ्गीसँगै बसेर मिठो मसिनो खाएर रमाइलो गर्ने रहर आखिर कसलाई नहोला र ? के हाम्रो व्यत्तिगत जिवन छैन ? के हामीलाई पनि आफ्नो परिवार र आफन्तहरुसँग खुसी साट्ने अधिकार छैन ? यो मेरो व्यक्तिगत धारणा होइन, शब्द मेरो होलान् तर आवाज सबैको हो । फरक यति हाे, कसैले यस्ता सबै कुरा मनभित्रै दबाएर राख्छन् त कसैले यो परिवेश अन्त्यको लागि निर्धक्क भएर आवाज उठाउँछन् ।

हामी सूरक्षाकर्मीहरु जुन जनताको लागि भनेर दिन रात नभनी खटिरहेछौं, उनीहरु नै क्रुर छ्न् हामीसँग । एउटा लौरो को भरमा रात कटाउनुको पींडा । लौरो कै भरमा बन्दुकधारिको सामना गर्नुपर्ने पींडा जोसुकैले कहाँ बुझ्न सक्छ र ? र जसले बुझ्छन् उनीहरु बुझ पचाउँछन् । न आँफै बोल्न मिल्छ न अरु बोलिदिन्छ्न् कस्तो परिबन्ध हो यो ? सबै कुरालाई गाँठो पारेर मनभित्र राखी काममा गयो काम गर्दागर्दै मर्छ जोस जाँगर त्यो तनाबपुर्ण परिस्थिति देख्दा । राज्यले पनि यति धेरै उपहास गर्छ कि हामी राज्यका कुनै अङ्ग नै हैनौं । यस्तै –यस्तै अनौपचारिक बिग्रह मानसिक तनाबले हामी जस्ता धेरै प्रहरी साथीहरू प्रताडित छौं । अझै सत्ता शक्तिमा पहुँच नभएकै कारण भोग्नु पर्ने हैरानी त छँदै छ । यति हुदाहुँदै पनि “पैसा नै सर्वाधिक हाेइन छोरा । यो काम त सेवाको हो, देशको लागि महत्वपूर्ण योगदान हो” जस्ता अग्रजहरुको यही युक्तिले मनलाई हौसाइरहन्छ । तर पुण्य कमाउनकै लागि सबैको गाली सुनेर बस्दा अनि परिवार नै आफूसँग असन्तुष्ट हुँदा कहिलेकाहीँ मन पोलेर आउँछ । सायद हामीजस्तै अन्य साथीहरुको परिवारलाई पनि लाग्दो हो आस, कि आफ्नो छोरा–छोरी सरकारी जागिरे छ, टन्न पैसा कमाएर पठाँउनेछन् घर । यस्तै यस्तै…

अझ ठूला भनाउँदाहरु रक्सिले मात्तिएर आउँछ्न डर देखाउन, यसरी कि म उसकै घरको धनमाल चोरेर चोकमा उभिरहेको छु । अनि मसँग आत्मरक्षाका लागि एउटा सिठ्ठी हुन्छ अनि समय मध्यरातको १२ बजे । प्रहरीले दिनरात नभनि जनताको सूरक्षामा खटिए पनि उल्टै प्रहरीमाथि नै जाईलाग्न पुग्छौं हामी अनि द्वन्दग्रस्त क्षेत्रको माहोललाई कम गर्न र प्रतिरक्षाका निम्ति अश्रुग्याँस र लाठिचार्ज गर्न बाध्य हुन्छौं प्रहरी साथीहरू । जसको सूरक्षार्थ हामी दिनरात खटिरहन्छौं उसैमाथि आक्रमण गर्ने के हामीलाई रहर थियो होला र ? तर हामीलाई “प्रहरी दमन“ को उपमा भिराइन्छ । हुनसक्छ, केही खराब नैतिक चरित्र भएका र रिसले उन्मात केही प्रहरीले आक्रमक शैली प्रस्तुत गरे हाेलान् ।

हामीजस्ता सोझासाझा र आफ्नै क्षमताले नियुक्ति भएकाहरुको त झन् विना कसुरु जागिर खाईदिने देखि सरुवा सम्मका धम्की आउँछ । कहिले मन्त्रीका मान्छेको त कहिले अरु नेता, कहिले भने आफ्नै हाकिम । धेरैजसो भइरहन्छ । यस्तो सामान्य लाग्न थालिसक्यो अचेल । यद्यपि, सबै कुराको पोकोलाई एकातिर बिसाएर । कुकुरको पनि दिन आउँछ भन्छ्न् । म त मान्छे हो भन्दै कुदिरहेछु आफूलाई, मात्र धावक सूचिमा पारेर र पर्खिरहेछु त्यो दिन जुन दिन हामीजस्ता दिनरात देशको सूरक्षामा निरन्तर खटिरहने राष्ट्रसेवकहरुको प्रोत्साहनसँगै कार्यसम्पादनको निष्पक्ष मूल्याङकन हुनेगरि एक ठोस निर्णय पारित हुनेछ नेपाल सरकारबाट ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको