आइसोलेसन सेन्टरमा आयुर्वेदिक उपचारको प्रभाव

आइतबार, ०४ असोज २०७७

 

काठमाडौं । बिहान ब्रह्म मुहूर्तमा पुग्ने हो भने कीर्तिपुरको आयुर्वेद अनुसन्धान केन्द्रमा राखिएका कोरोना संक्रमितहरूको दैनिकीले धेरैलाई अचम्म मात्रै बनाउँदैन, रोगलाई ठूलोे मान्नु हुन्न भन्ने उत्प्रेरणा पनि मिल्न सक्छ । बिहान उठ्नेबित्तिकै कोही आफूलाई पायक परेको ठाउँमा गएर योगा गर्न थाल्छन् भने चासो लाग्नेहरू आफ्नै किसिमको डान्समा रमाउन थाल्छन् । कोही बाद्यवादनमा बस्छन् त कोही दर्शक बनेर ।

झट्ट सुन्दा यहीँबाट त कोरोना सर्दैन ? भन्ने पनि लाग्न सक्ला तर यी सबै गतिविधि गर्दा भौतिक दुरीलाई भने ध्यान दिने गरिन्छ । भौतिक दुरी कायम गरेर केन्द्रका सुरक्षामा खटिएका सुरक्षा गार्ड र नर्सहरू समेत त्यस्ता मनोरञ्जनात्मक कार्यक्रममा कहिलेकाहीँ सहभागी हुने गर्छन् ।

 

यही पारिवारिक वातावरणमा राखिने केन्द्रको आइसोलेसनले कोरोना संक्रमितलाई अन्यत्रभन्दा छिटो निको गरेर घर फर्काउन सफल भएको केन्द्रका अधिकारीहरू बताउँछन् ।

यो केन्द्रलाई कोरोनाका संक्रमित राख्ने आइसोलेसन सेन्टरहरूको रूपमा विकास गरिसकेपछि यो केन्द्रलाई आइसोलेसनको राम्रो व्यवस्थापन गर्ने केन्द्रको सूचीमा समेत समावेश गर्ने गरिएको छ । केन्द्रको एउटा नारा छ ‘रोगको बललाई होइन, रोगीको बललाई बलियो बनाउनु पर्छ ।’  आखिर कस्तो छ त्यहाँ बस्ने संक्रमितको अवस्था र त्यहाँको व्यवस्थापन ?

केन्द्रका अनुसार सरकारले १४ दिन आइसोलेसन सेन्टरमा राखेर परीक्षण नै नगरी घर पठाउने निर्णय गर्नुपूर्वसम्म केन्द्रको आइसोलेसनमा कुनै पनि कोरोना संक्रमितलाई १० दिनभन्दा धेरै राख्नु परेको थिएन । केन्द्रका सहायक चिकित्सा विशेषज्ञ डा. विकासराज घिमिरेका अनुसार असार २५ गतेदेखि आइसोलेसन सेन्टरमा बिरामी राख्न सुरु गरिएकोमा अहिलेसम्म २ वर्षदेखि ७८ वर्षससम्मको मान्छेलाई आइसोलसनबाट कोरोना मुक्त गराएर पठाउन केन्द्र सफल भइसकेको छ ।

 

केन्द्रका प्रमुख तालिम अधिकृत डा. निर्मल भुसालका अनुसार कुल संक्रमितको ९० प्रतिशत बिरामी त ७ दिनमा नै कोरोना नेगेटिभ आएर घर फर्किएका छन् । उनी भन्छन् ‘बिरामी अधिकांश ७ दिनभित्रै कोरोना नेगेटिभ आएर घर फर्किने गरेका छन् । ढिला हुने पनि १० दिनमा घर फर्किएका छन् । यहाँ बिरामी अनुकूल वातावरणकै कारण उनीहरू छिटो कोरोना मुक्त भएर डिस्चार्ज भएको देखिन्छ ।’

अहिले आइसोलेसनमा आएका मात्रै नभएर होम आइसोलेसनमा बसेकाहरूले समेत निरन्तर टेफिफोन गरेर आयुर्वेदिक औषधिको बारेमा परामर्श लिने गरेको भुसाल सुनाउँछन् । उनी भन्छन् ‘समाजमा आयुर्वेदिक औषधिको बारेमा जुन भ्रम थियो त्यो चिर्न हामी सफल भएका छौं । आयुर्वेदिक औषधिले कोरोना रोक्छ भन्ने प्रमाणित अहिलेसम्म नभएपनि यसले मान्छेको रोग प्रतिरोध क्षमता बढाउन भने मद्धत गर्छ भन्ने प्रमाणित गराउन आफूहरू सफल भएको उनले बताए ।

 

नियमित आयुर्वेदिक औषधिको प्रयोग

कोरोना भाइरसको रोकथाममा आयुर्वेदिक औषधि कति प्रभावकारी छ भन्नेबारे कुनैपनि वैज्ञानिक प्रयोगले पुष्टि त गरेको छैन । तर यो आइसोलेसन सेन्टरमा भने नियमित आयुर्वेदिक औषधिको प्रयोगले संक्रमितमा इम्युनिटी बढाउन सहयोग गरेकोले छिटै निको भएको दाबी डा. भुसालको छ ।

भुसालका अनुसार केन्द्रमा रहेका संक्रमितहरूलाई सिंहदरबार वैद्यखानाले उत्पादन गरेका विभिन्न आयुर्वेदिक औषधिहरू नियमित सेवन गर्न दिने गरिएको थियो ।

केन्द्रका अनुसार गुर्जाे र सुठो, मरिज, पिपला, अभ्रक भष्म पाउडर, जेठीमधु, अश्वगन्धा आदि मिसाएर बनाएको औषधिलाई दिनदिनै खुवाउने गरिन्छ । ‘कीर्तिपुरको मनमोहक वातावरणले पनि बिरामीलाई छिटो निको गराउन सहयोग गरेको हुन सक्छ’ भुसाल भन्छन् ‘आइसोलेसन वार्डमा बाह्य एवं आन्तरिक व्यवस्थापनका कारण बिरामीहरूले म बिरामी हो भन्ने अनुभव गर्नै नपाऊन् भन्ने हाम्रो प्रयास थियो ।’

 

योगा र मनोरञ्जन

यो आइसोलेसन सेन्टरको अर्काे महत्वपूर्ण विशेषता भनेको मनोरञ्जनको साधन हो । हरेक संक्रमितलाई आइसोलेसन सेन्टरको व्यवस्थापन पक्षले नै नियमित योगा गर्नको लागि उत्प्रेरणा दिने गर्छ । भुसालका अनुसार सेन्टरमा बिहान उठेपछि संक्रमित आफैँले विभिन्न आसन र आफू अनुकुलका योगा गर्ने गरेका छन् । मनोरञ्जनको लागि लुँडो, क्यारमबोर्ड जस्ता विकल्पहरू दिइएको छ भने नृत्य र वाद्यवादन पनि आफूलाई मन लागेको बेला प्रयोग गर्न सक्नेगरी राखिएको भुसालले बताए ।

 

२० संक्रमितलाई एपीएफ अस्पतालमा रिफर

हालसम्मको तथ्यांक अनुसार केन्द्रमा आएका बिरामीहरूमध्ये २० जनालाई सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा रिफर गरिएको छ । भुसालका अनुसार निरन्तर ज्वरो बढ्दै गएपछि एक्सरे गर्नुपर्ने र थप जटिल बन्दै गए आईसीयूमा समेत राख्नुपर्ने भएकोले रिफर गर्नुपरेको हो । ‘निमोनिया जस्ता समस्या बढ्दै गएपछि आईसीयूमा राख्नु प¥यो भनेसमस्या हुन्छ भन्ने भएकोले रिफर गरिएको हो ।’ अनलाइनखबरसँग उनले भने ‘हामीहरूकोमा कोभिड संक्रमितको एक्सरे गर्र्ने र आईसीयूमा राख्नको लागि यहाँ पर्याप्त प्रविधिको अभाव भएको कारणले २० जनालाई हालसम्म रिफर गरिएको अवस्था छ ।’

 

अरू आइसोलेसन र यहाँको फरक के छ ?

सामान्यतया होम आइसोलेसनमा भन्दा त आयुर्वेदिक उपचार केन्द्रमा राखिएको यो आइसोलेसनमा धेरै फरक छ । घरमा एक्लै बस्नुपर्ने दिक्दार लाग्दो अवस्था यो आइसोलेसनमा रहँदैन । केही स्वास्थ्य समस्या भयो भने चिकित्सकहरूसँग तुरुन्तै स्वास्थ्य परामर्श लिन सकिन्छ । अरू आइसोलसन सेन्टरको भन्दा यसमा रहेको भिन्नता भनेको नै अरूले आधुनिक औषधिको प्रयोग गरेर लक्षण देखिएकालाई निको गराउने प्रयास गर्छन् तर केन्द्रमा भने आयुर्वेदिक औषधि र योग ध्यानको सहायताले रोग निको गर्ने प्रयास गरिने उनले स्पष्ट पारे ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको