"सकस"

बुधबार, ११ फागुन २०७३

 

बाबाको

पशिना सुख्नु अगावै

किन्नुछ मैले

बिरामी आमालाई सिटामोल।

 

भाइलाई,

साइन्सका किताब।

बहिनीलाई,

एक छाल लुगा।

दिदीलाई,

लोक सेवाको किताब।

भान्जालाइ घडी,

भान्जीलाई एक जोर चप्पल।

हजुरबुबालाई धाका टोपी,

अनि बाबालाई,

पशिना पुछ्न रुमाल।

साथीलाई एक प्लेट म:म:।

 

हो!

बाबाको पशिना

सुख्नु अगावै

किन्नुछ मैले बर्षौ देखि

बेपत्ता भको मेरो परिवारको खुशी।

 

त्यही खुशी खोज्न,

तय गर्दैछुँ यात्रा मरुभूमि तिर।

 

अनि!

उनको र मेरो,

प्रेमको महाकाव्य,

लेख्नेछुँ तातो बालुवामा।

 

पखेटा काटेको चरा जस्तो,

हुनु अगावै,

उड्नु छ मलाई त्यो खुशी सम्म।

 

अनि बनाउलानी देश,

सोचौंलानी समाज,

हुर्काउला देशभक्ति।

 

आजलाई,

यी सबथोक छोडी,

किन्नु छ मैले,

साँझलाई एक छाक।

 

"दार्चुला" नरेश​

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको