"अन्त्यमा आधा"

आइतबार, १५ फागुन २०७३

 

"अन्त्यमा आधा"

 

जुनको ज्योति,

जुनकीरिले बोक्छ,

बोक्छ भरे बिहान सम्म,

रबिको किरण महत्त्वहिन उसलाई ।

 

 

हो यस्तै भाछ

बाबा!

मुहारको हाँसो बेपत्ता,

अनि

सुख शीत पारपाचुके भको होकि ?

 

 

सपनाका !

ठुला ठुला महल,

गर्ल्याम्म लडे यसरी कि,

जसरी

ढल्छन युद्धमा,

निर्दोष सिपाहीहरु,

कहिले नउठ्ने गरि ।

 

 

ति सिपाही,

कति सजिलै,

अनि सस्तै बगाइ दिन्छ रगतको खोला,

बग्छन कहिले आफै,

बगाउछ्न कहिले अरुलाई।

 

 

इलम सस्तो,

झरेका आँसु सस्ता,

मुल्यहिन बगेको पसिना,

बग्छ रगत फगतमा।

 

 

त्यो सिरानको पहाड,

पैताला मुनिको नदि,

सबै सस्तो।

 

 

अन्त्यमा,

आधा यो कविता जस्तो,

झनै सस्तो।

 

 

केवल!

तातो बालुवामा ढलेको,

मेरो लास,

ढाँकेको यो बाकस अनि पशुपतिमा पुराउने त्यो उडान,

साह्रै महंगो छ रे बाबा।

 

"दार्चुला" नरेश​

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको