बच्चा खेर जाने समस्याको समाधान के हो ?

शुक्रबार, १० फागुन २०७५

 

पटक-पटक गर्भ खेर जाने समस्याबाट हैरान काठमाडौंका एक दम्पत्ति उपचारका लागि अनेक ठाउँ धाए । तर, पैसा र समय व्यय मात्र भयो, समस्या समाधान भएन । त्यही क्रममा डा. पवन शर्माको नाम सुनेर उनीहरु पाटन अस्पताल पुगे ।

 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ शर्माले परीक्षण गर्दा श्रीमानको क्रोमोजोम समस्याग्रस्त देखियो । प्रा. डा. शर्माले उनीहरुलाई बच्चाका लागि अन्य प्रविधि अपनाउने सल्लाह दिए । उनी भन्छन्, ‘किनभने क्रोमोजोम नै खराब भए जति पटक गर्भ रहे पनि अडिँदैन ।’

यस्तै समस्या भएकी तराईका एक महिलाले आफ्नो सल्लाहअनुसार टेष्टट्युव प्रविधि अपनाएर बच्चा जन्माएको उनले बताए ।

पछिल्लो समय गर्भ नअडिने समस्याले धेरै दम्पत्तीलाई सताउन थालेको देखिन्छ । तर, यो समस्या नयाँ हैन । ‘२० वर्ष अघि पनि यो समस्या उत्तिकै थियो’, प्रा. डा शर्मा भन्छन्, ‘अहिले मानिसहरु यो समस्याबारे खुल्न थालेकाले बढेको जस्तो लागेको हो ।’

 

एकाध पटक गर्भ खेर जानुलाई ‘आम’ समस्या मानिन्छ । डा. शर्माका अनुसार, सयमा १५ जना महिलाको एकाध पटक गर्भ खेर जान्छ, जसलाई उनी भबितव्य भन्छन् ।

तर, यो क्रम दोहोरिन थाल्यो भने केही खास कारण छ भनेर बुझ्नुपर्ने उनी बताउँछन् ।

 

गर्भ तुहिनुको कारण र उपचार

डा. शर्माका अनुसार गर्भमा बच्चा बन्ने प्रकृयामा कुनै त्रुटि भएर वा विगि्रएर राम्ररी नबने जन्मन र बाँच्न अयोग्य हुने हुँदा प्रकृतिले गर्भबाटै फालिदिन्छ । यसरी गर्भबाट बच्चा खेर जानुलाई आम रुपमा तुहिने समस्या भनिन्छ । यो समस्या लगातार र अन्तरालमा पनि हुन्छ ।

पटक पटक गर्भ खेर जाने समस्यालाई चिकित्सकहरु ‘रिकरेन्ट मिसक्यारेज’ भन्छन् । पाटन अस्पतालमा महिनामा पाँचसम्म यो समस्या लिएर आउँछन् ।

गर्भको बच्चा विभिन्न अवस्थामा खेर जान्छ । त्यसमध्ये ‘केमिकल लस’को अवस्थामा गर्भ बसेको र ‘रिकरेन्ट मिसक्यारेज’ भएको थाहै नहुने प्रा. डा. शर्मा बताउँछन् । ‘महिलाको शारीरिक अवस्था ‘केमिकल लस’मा छ भने अल्ट्रासाउण्डमा पनि गर्भ देखिँदैन’, उनी भन्छन्, ‘रगत परीक्षणमा चाहीँ ‘पोजेटिभ’ देखिन्छ ।’

उनका अनुसार, ‘केमिकल लस’को अवस्थामा महिनावारी समेत ढिलो भइरहेको हुन्छ । त्यस्तो बेला गर्भ बसेको र केहि समयमै ‘रिकरेन्ट मिसक्यारेज’ थाह हुँदैन ।
खराब जिन वा क्रोमोजोम लगायतका कारणले २० हप्ता भित्र ‘रिकरेन्ट मिसक्यारेज’ हुनुलाई चिकित्सकहरु ‘अर्ली प्रेग्नेन्सी लस’ भन्छन् । बाबुआमाको जीन वा क्रोमोजोम खराब भए, क्रोमोजोमको बनावट र संख्यामा गडबडी भए बच्चा खेर जान्छ ।

‘क्रोमोजोम ठिकठाक भए पनि जीन स्वस्थ नभए पनि त्यस्ता बच्चा खेर जान्छ’ डा. शर्मा भन्छन्, ‘सुरुको १२ हप्तालाई हेर्दा ‘रिकरेन्ट मिसक्यारेज’को प्रमुख कारण यही देखिन्छ ।’

शरीरमा एन्टी बडी उत्पादन भइरहेको अवस्थालाई इम्युनोलोजीकल समस्या भनिन्छ । यो अवस्थामा शरीरमा रगत जम्ने ‘एन्टी फोस्पोलिपिड सिन्ड्रोम’ पनि देखिन सक्छ । यस्तो बेला पटक पटक गर्भ खेर जान्छ । त्यस्तै, सिस्टाटिक लुपस इरेटेमिटोसिस् -एसएलई) र थाइराइडको समस्याले पनि ‘रिकरेन्ट मिसक्यारेज’ गराउने डा. शर्मा बताउँछन् ।

त्यस्तै, हर्मोन सम्बन्धी समस्या, पूरानो मधुमेह, अनियन्त्रित मधुमेह, उच्च रक्तचाप, पोलिसिस्टिक ओभरी सिन्ड्रोम लगायत प्रोजेस्टेरोन हर्मोनको कमीले पनि गर्भ खेर जान्छ ।

त्यसबाहेक, पाठेघरको बनोट असामान्य हुँदा, पाठेघरमा ट्यूमर हुँदा, क्यूरेटका कारण पाठेघर टाँसिदा र पाठेघरको मुख खुकुलो हुँदा पनि ‘रिकरेन्ट मिसक्यारेज’ हुन्छ । डा. शर्माका अनुसार, पाठेघरको मुख खुकुलो भए गर्भावस्थाको बीचतिर ‘मिसक्यारेज’को सम्भावना उच्च हुन्छ ।

त्यसबाहेक, प्रदुषण, धुमपान, मद्यपान जस्ता कारणले पनि ‘रिकरेन्ट मिसक्यारेज’ गराउँछ । ग्याँस वा विकिरण नजिक रहेर काम गर्ने महिला पनि यो समस्याको जोखिममा हुन्छन् । रगत जम्ने र पातलिने क्रम नमिल्दा, गर्भवतीको उमेर ३५ वर्षभन्दा माथि वा १९ वर्ष भन्दा मुनी हुँदा, पुरुषको शुक्राणु खराब हुँदा गर्भ खेर जान सक्छ ।

४० वर्षभन्दा माथिका महिलाको ओभरीमा अण्डाशय उत्पादन कम हुन थाल्छ । त्यसले पनि कमजोर गर्भ रहने सम्भावना बढाउँने डा. शर्मा बताउँछन् । त्यसबाहेक, गर्भवतीलाई कुनै कडा रोगको संक्रमण भयो भने पनि गर्भ खेर जान सक्छ । ‘तर, त्यस्तो जोखिम संक्रमण अवधिभरका लागि मात्र भएकाले ‘रिकरेन्ट मिसक्यारेज’ नै हुन्छ भन्ने हुदैन’, डा. शर्मा भन्छन् ।

गर्भ खेर जाने सम्भावना सामान्यतः १०-१५ प्रतिशत सम्म हुने उनी बताउँछन् । दुई पटक भन्दा बढी लगातार गर्भ खेर गए ‘रिकरेन्ट मिसक्यारेज’ को सम्भावना ३० प्रतिशतसम्म बढ्छ भने लगातार तीन पटक गर्भ खेर गए ४५ प्रतिशतसम्म ।

डा. शर्माका अनुसार गर्भ खेर जाने समस्याको उपचार हुन्छ भनेर ढुक्क बस्न मिल्दैन । गर्भ खेर जाने विभिन्न कारणमध्य पाठेघरको बनावट नै अस्वभाविक छ उपचार हुदैन । यो समस्यालाई टेष्ट ट्यूब प्रविधिले ५० प्रतिशतसम्म घटाएको उनले बताए ।

पाठेघरको बनावट असामान्य भएमा, पाठेघरमा सिस्ट वा ट्यूमर भएमा शल्यक्रिया गरेर ‘रिकरेन्ट मिसक्यारेज’ रोक्न सकिन्छ । थाइराइड, मधुमेह आदीलार्य नियन्त्रण गरेर, विभिन्न रोगको संक्रमणमा उपचार गरेर यो समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, वातावरणाीय समस्या भए धुमपान नगरेर, स्वच्छ ठाउँमा गएर, विकिरणबाट बचेर यो समस्याबाट निजात पाउन सकिन्छ ।

‘रिकरेन्ट मिसक्यारेज’ को समस्याबाट पीडित नवविवाहित जोडीहरुलाई तुरुन्त परामर्श लिन अस्पताल जान डा. शर्माको सुझाव छ । ‘एउटा बच्चा जन्मेपछि छ हप्तामा अस्पताल आउन दिइएको सल्लाहलाई पनि बेवास्ता गर्नु भएन’, उनी भन्छन्, ‘नत्र, दोस्रो बच्चा खेर जान सक्छ ।’
हो हुन् डा. शर्मा ?

प्रा. डा. शर्मा अहिले जहाँ कार्यारत छन्, त्यस नजिकैको नमुना मछिन्द्र माविका एसएलसी हुन् उनी । एसएलसीपछि चिकित्सा शिक्षा अध्ययन संस्थान -आईओएम) बाट हेल्थ असिस्टेण्टको अध्ययन पूरा गरेका उनले आईओएमबाटै एमबीबीएस र एमडी (डक्टरेट इन मेडिसिन) गरेका हुन् ।

करिब अढाई दशकको सेवाकालमा ‘निःसन्तान दम्पत्तीका डाक्टर’ भन्ने उपनाम पाएका प्रा. डा. शर्मा सुरुमा प्रसुती रोग विशेषज्ञ बन्छु भन्ने नसोचेको बताउँछन् । उनी भन्छन्, ‘यही पाटन अस्पतालमा मेडिकल अफिसर भएर काम गर्ने क्रममा प्रसुती विभागमा नाम निकाले र त्यही क्षेत्रमा लागेँ ।’

सुरुमा परिवार र कतिपय आफन्तजनले किन यो विषय रोजेको भनेर सोधेको उनी सम्झन्छन् । ‘सुरुमा क्लिनिकहरुमा विरामी नआएको देख्दा मैले गल्ती गरेंछु भन्ने पनि लाग्थ्यो’, उनी भन्छन्, ‘तर अहिले अरुकै कारणबाट भए पनि सतप्रतिशत ठीक गरेछु भन्ने लागेको छ ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको