आँखामा आँसु किन हुन्छ कम ?

शनिबार, ०५ चैत २०७३

 

आँखामा आँसु कम भएर सुक्खा हुनुलाई सामान्य समस्या मान्न सकिँदैन । यो समस्या लामो समयसम्म हुँदा आँखाको अवस्था जटिल बन्न सक्छ । सुक्खा आँखामा इन्फेक्सन हुने र विभिन्न संक्रमण निम्तिने खतरा रहन्छ । त्यसैले आँखामा आँसुको उपयुक्त मात्रा कायम राख्नुपर्छ । सुक्खापनका कारण र जोगिने उपायबारे प्रा.डा. सविना श्रेष्ठ भन्छिन्ः

 

सुक्खा हुने ४ कारण

१ आँसु उत्पादन गर्ने ग्रन्थिमा समस्या भएको अवस्थामा आँखा सुक्खा हुन्छ । आँखाको स्वास्थ्यका लागि गुणस्तरीय आँसु उत्पादन आवश्यक मात्रामा हुनुपर्छ ।

२. जाडो मौसममा सामान्य रहेको आँखा गर्मी मौसममा सुक्खा हुने समस्या कतिपयलाई हुन्छ । गर्मीमा तापक्रम वृद्धि, हुरी–बतास, धुवाँ र धुलोको असर आँखामा पर्न जाँदा आँसु चाँडै नै बाफ बनेर उड्ने भएकाले पनि सुक्खा हुन्छ । यो अवस्थामा आँखा रातो हुने, पोल्ने र चिलाउने समस्यासमेत निम्तिन्छ ।

३. एयरकन्डिसनमा लामो समय बस्ने बानीले पनि आँखा सुक्खा हुने समस्या निम्त्याउँछ । एसी र पंखाको चिसो लामो समयसम्म सीधा आँखामा पर्दा
सुक्खापन बढ्छ ।

४. लामो समयसम्म निरन्तर टेलिभिजन हेर्ने तथा कम्प्युटरमा काम गर्ने व्यक्तिको पनि आँखा सुक्खा हुन्छ । स्क्रिनमा एकोहोरो हेर्दा आँखा झिमझिम कम हुने भएकाले सुक्खापन बढ्छ ।

 

जोगिने ५ उपाय

१. कम्प्युटर, मोबाइल फोन, टेलिभिजनलगायत स्क्रिनमा लामो समय रहने व्यक्तिले वेला–वेलामा आँखालाई आराम दिने र चिसो पानीने मुख धुने गर्नुपर्छ । स्क्रिनमा रहने व्यक्तिले हरेक २० मिनेटको अन्तरमा पाँच मिनेट आँखालाई आराम दिनुपर्छ । ब्रेकको यो समयमा केही टाढाको सुन्दर र शान्त दृश्यतिर आँखा डुलाउनु फलदायी हुन्छ । त्यसो त कम्प्युटर/ल्यापटप/टेलिभिजन राख्ने तरिकाले पनि आँखा बिगार्न र जोगाउनमा भूमिका खेल्छ । यी सामान बस्ने कुर्सीभन्दा केही तल राख्नुपर्छ । यसो गर्दा आँखाभन्दा कम्प्युटर/ल्यापटप/टेलिभिजन केही तल पर्छन्, आँखा कम खुल्छ र सुक्खा हुनबाट धेरै हदसम्म जोगिन्छ । यी सामान प्रयोग गर्दा विशेष चस्मा प्रयोग गर्न पनि सकिन्छ ।

२. आँखालाई बाहिरी प्रदूषणबाट जोगाउनुपर्छ । चर्को घाममा निस्किँदा सनप्रोटेक्ट लेन्स भएको चस्मा लगाउनुपर्छ । चस्माले हुरी–बतास, धुवाँ र धुलोबाट पनि आँखालाई जोगाउँछ ।

३. एसी र पंखामा लामो समयसम्म बस्नु राम्रो हुँदैन । सबैभन्दा महत्वपूर्ण पाटो त के भने अफिस तथा घरमा आफू बस्ने स्थानको सीधा अगाडि एसी÷पंखा छ भने त्यसको चिसो सीधै आँखामा पर्छ र सुक्खा गराउँछ । त्यसैले यी सामान जहिल्यै आफ्नो आसनभन्दा पछाडि रहनुपर्छ ।

४. आँसु उत्पादन सहज गराउन तथा आँखा सुक्खा हुन नदिन दैनिक आवश्यक मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्नुपर्छ ।

५. आँखा धेरै नै सुक्खा भइसकेको छ र ग्रन्थिले उत्पादन नै गर्न नसकेको अवस्था छ भने कृत्रिम आँसु प्रयोग गर्नुको विकल्प रहँदैन ।

नयाँ पत्रिकाबाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको