बाँझोपनको पीडा....!

आइतबार, १० बैशाख २०७४

 


विवाह भएको बाह्र वर्षसम्म सन्तान नभएपछि इश्वरी विकले घरभित्र मात्र होइन समाजबाट पनि रुखो व्यवहार सहनुपर्‍यो। आफ्नै लोग्नेले पनि सम्पूर्ण दोष लगाउँदै अर्को बिहे गर्ने धम्की दिएपछि सन्तान प्राप्तिका लागि उनले मन्दिरहरु चहार्दै भाकलसमेत गरिन् तर उनको कोख बाँझै रह्यो। काखमा आफ्नै बच्चा खेलाउने इच्छाले लोग्नेसँग काठमाडौं आएर जँचाउँदा बच्चा नहुनुको भेद थाहा पाएपछि उनी छक्क परिन्। भेद खुलेपछि उनका श्रीमान्ले नै पश्चात्ताप गरे। दुवैलाई निःसन्तान केन्द्रमा उपचार गराउँदा इश्वरीको पाठेघरको मुखमा सानो घाउ देखियो, जुन उपचार गराउँदा ठीक हुन्थ्यो। विडम्बना, उनको लोग्नेको वीर्य जाँच गराउँदा शुक्रकीट नै नभएको पाइयो। अन्त्यमा कृत्रिम उपचार प्रविधिद्वारा सन्तान जन्मिएपछि परिवारमा खुसी छाएको छ।



 

 

 


एक अध्ययनअनुसार नेपालका विवाहित दम्पतीमध्ये झन्डै १५ प्रतिशतले विभिन्न समस्याले गर्दा सन्तान जन्माउन सकेका छैनन्। निःसन्तान हुनुको पीडासँगै आपसी मनमुटाव, पारिवारिक पीडा र समाजको होच्याउने व्यवहारले दम्पतीलाई ठूलो चोट पुर्‍याइरहेको हुन्छ। त्यसमा पनि विशेषगरी महिलामाथि नै सम्पूर्ण दोष थोपर्ने गरेको पाइन्छ। डेढ दशकदेखि निःसन्तान दम्पतीलाई परामर्श र उपचार सेवा दिंदै आउनुभएकी स्त्रीरोग तथा हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तव महिला वा पुरुषमध्ये कुनै एक अथवा दुवैमा समस्या भयो भने सन्तान नहुने बताउनुहुन्छ। सन्तान नहुनुमा ३५ प्रतिशत पुरुष, ३५ प्रतिशत महिला र झन्डै ३० प्रतिशत दुवै दम्पतीमा समस्या रहेको पाइएको छ। परिवार नियोजनका साधन प्रयोग नगरीकन दम्पतीबीच शारीरिक सम्बन्ध भएको दुइ वर्षसम्म पनि गर्भ रहन नसकेको खण्डमा निःसन्तान अथवा बाँझोपन भएको मानिन्छ। यौनसम्पर्कको बेला साधनको प्रयोग गरिएको छैन भने झन्डै ८० प्रतिशत दम्पतीको एक वर्षमै सन्तान जन्मिन्छ। त्यस्तै गरी झन्डै ९० प्रतिशतको विवाह गरेको दुइ वर्षामा बच्चा जन्मिनसक्छ।

 

 


परिपक्व अण्डकोष र स्वस्थ शुक्रकीट जरुरी

नेपाली समाजमा सन्तान जन्माउन नसक्नुमा धेरैजसो महिलालाई नै दोष लगाउने गरिन्छ तर निःसन्तान हुनुमा पुरुषको पनि विभिन्न कमजोरी र समस्या रहेको हुन्छ, तैपनि यसतर्फसमाजको त्यति ध्यान गएको पाइँदैन। वीर्य एवम् शुक्रकीट पैदा गर्ने अण्डकोषमा परिपक्वता नआए सन्तान जन्माउन नसकिने डा. श्रीवास्तव बताउनुहुन्छ। १७-१८ वर्षको उमेरसम्ममा पुरुषहरुको अण्डकोषमा परिपक्वता आउनु जरुरी हुन्छ।


 


विभिन्न कारणबाट अण्डकोषलाई नराम्रो असर पर्‍यो भने अण्डकोषले स्वस्थ र परिपक्व शुक्रकीट उत्पादन गर्न सक्दैन। वरिष्ठ सर्जन एवम् युरोलोजिस्ट डा. सीपी मास्केका अनुसार क्षयरोग, कुष्ठरोग, गोनोरिया रोग लागेको छ भने शुक्रवाहिनी नली बन्द हुन सक्छ, जसले गर्दा पुरुष सन्तान जन्माउन अक्षम हुन पुग्छ। कुनै दुर्घटनामा परेर अण्डकोषमा असर पुग्न सक्छ। त्यस्तै पटक-पटक हाइड्रोसिल भइरह्यो भने पनि शुक्रकीट बन्न नसकी निःसन्तान हुन सक्छ। कतिपय बच्चाको आमाको पेटमै छँदा पनि अण्डकोष सुकेको हुन्छ। बच्चा जन्मने बेला अण्डकोष अण्डथैलीमा नझरी बीचैमा अड्किन सक्ने उल्लेख गर्दै डा. मास्के भन्नुहुन्छ- 'अण्डकोष बीचैमा अड्किएको छ भने अप्रेसन गरी अण्डथैलीमा झार्नुपर्छ। अन्यथा अण्डकोष बटारिएर क्यान्सर, हर्नियाजस्ता रोग लाग्न पुग्छ।’


 

अण्डकोष सेकाउनु घातक

अण्डकोष आफ्नो ठाउँमा नझरेमा, अण्डकोषमा पानी जम्ने -हाइड्रोसिल) भएमा, तातो ठाउँमा कडा परिश्रम गर्ने व्यक्तिमा निःसन्तान हुने सम्भावना हुन्छ। कस्सिएको अन्डरवेयर लगाउँदा पनि अण्डकोषमा नराम्रो असर पुग्छ। कतिपयले अण्डकोष सेकाउने समेत गर्छन्। यसो गर्दा बाँझोपनको समस्या आउन सक्ने बताउँदै डा. मास्के भन्नुहुन्छ- 'अण्डकोष सेकाउँदा शुक्रकीट नबन्न सक्छ।’ अण्डकोषलाई सन्तुलित तापक्रममा राख्नलाई नै अण्डथैली गर्मी मौसममा झोलिन्छ भने जाडोमा चाउरिन्छ। पुरुषहरुमा स्वस्थ, गतिशील र सबल शुक्रकीट उत्पादन हुनुपर्छ। शुक्रकीट उत्पादन र परिपक्वतामा खानपान, जीवनशैलीले प्रभाव पार्ने चिकित्सकहरु बताउँछन्। धूमपान, मदिरा सेवन, दुर्व्यसनी, कामको बोझ आदिले गर्दा पनि पुरुषको वीर्य तथा शुक्रकीटको उत्पादनमा कमी आउनुका साथै शुक्रकीट सक्षम नहुन सक्छ। 

 


मस्तिष्क र अण्डकोषबीच पनि आपसी अन्तरसम्बन्ध रहेको हुन्छ। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थ्रिले अण्डकोषसँग समन्वय गरी टेस्टेस्टेरोन हर्मोन पैदा गर्नुपर्छ। युरोलोजिस्ट डा. सीपी मास्के टेस्टेस्टेरोन हर्मोन आवश्यकताभन्दा बढी भएमा वीर्य कम बन्ने वा बन्दै नबन्ने बताउनुहुन्छ। त्यस्तै प्रोल्याक्टिन बढी भएमा शुक्रकीट बन्दैन। यस्तो अवस्थामा रगत जाँच गरेर औषधि उपचार गर्न सकिन्छ। क्रोमोजोमको गडबडी, हर्मोनहरुको असन्तुलन आदि कारणले पनि शुक्रकीट स्वस्थ र सक्रिय नहुने धारणा चिकित्सकहरुको छ।


 

 

शीघ्र स्खलनको समस्या

कतिपय पुरुषको विभिन्न शारीरिक र मानसिक कारणबाट लिंग उत्तेजित नहुँदा यौनसम्पर्क गर्न अक्षम भएको पाइएको छ। त्यस्तै यौनसम्पर्कका बेला लिंग पूर्णरुपमा उत्तेजित हुनुभन्दा अगाडि नै वीर्य स्खलन हुने समस्या लिएर पनि पुरुषहरु उपचार गराउनतिर लागेका छन्। वीर्य स्खलन छिटो हुँदा शुक्रकीट पाठेघरसम्म जान पाउँदैन। फलस्वरुप गर्भ नरहन सक्छ। दम्पतीले यौनआनन्द पनि पाउँदैनन्। यौनसम्पर्क गर्ने तरिका नजानेर पनि राम्रोसँग वीर्य स्खलन हुन पाउँदैन। शुक्रकीट बग्ने शुक्रवाहिनी नलीमा अवरोध पुग्यो भने पनि सन्तान जन्मन पाउँदैन। पुरुषको शुक्रकीट प्रवेश गर्ने क्रममा महिलाको योनि र पाठेघरमा रहेका रसायनले आक्रमण गरी शुक्रकीटलाई नष्ट गरेका कारण पनि दम्पती निःसन्तान हुन पुग्छन्। सामान्यतया वीर्यको आयतन ३ देखि ५ मिलिलिटर हो। प्रत्येक मिलिलिटरमा कम्तीमा ६० मिलियन -६ करोड) शुक्रकीट हुनुपर्छ। अण्डकोष भने सामान्यतया ४ देखि ५ सेन्टिमिटरको हुने गर्छ। बन्दै नबनेको शुक्रकीट उपचार गरेर बनाउन सकिंदैन। तर अन्य अवस्थामा भने उपचार गरेर सन्तान प्राप्ति गर्न सकिन्छ।


 

 

परिपक्व डिम्बको आवश्यकता

सन्तान हुन नसक्नुमा महिलामा पनि विभिन्न किसिमका समस्याहरु हुन सक्छन्। महिलाको डिम्बाशय, डिम्बवाहिनी नली तथा पाठेघरमा समस्या देखिएमा बाँझोपन हुन जान्छ। डा. उमा श्रीवास्तवका अनुसार सन्तान हुनका लागि पुरुषको सक्षम शुक्रकीट र महिलाको अण्डबीच मिलन हुनुपर्छ। तर महिलाको योनिमार्गको विकास नभएको वा सेप्टमद्वारा योनिमार्ग बन्द भएमा सन्तान हुन सक्दैन। महिनावारी हुने महिलाको प्रत्येक महिना डिम्बाशयबाट दुइ-तीनवटा डिम्ब बढ्न खोज्छन् तर कतिपय डिम्ब बढ्न नसकेर सुक्छन्। एउटा डिम्ब भने परिपक्व हुन पुग्छ। सो परिपक्व डिम्ब फुटेको बेला यौनसम्पर्क गरेको खण्डमा गर्भ रहन पुग्छ। डा. श्रीवास्तवका अनुसार कतिपय महिलाको राम्रो डिम्ब उत्पादन नहुने हुन्छ भने कसैको डिम्ब नै उत्पादन हुँदैन। यस्तो बेला राम्रो डिम्ब उत्पादन नहुनेले औषधि उपचार गरे परिपक्व डिम्ब उत्पादन भई सन्तान प्राप्तिको बाटो खुल्छ।

 



वीरगन्जकी तृष्णा यादवको विवाह भएको तीन वर्षसम्म सन्तान नभएपछि उपचार गराउँदा डिम्ब उत्पादन गर्ने हर्मोनको कमी भएका कारण गर्भ नरहेको पाइएको चिकित्सकहरुले बताएका छन्। डिम्ब उत्पादन गर्ने हर्मोनहरुको परीक्षणपश्चात् लगातार पाँच महिनाको उपचारपछि गर्भ बोक्न सफल यादव खुसी हुँदै भन्छिन्- 'लोग्नेले अर्को बिहे गर्ने कुरा गर्न थालेका थिए, घरमा अब सौता होइन नयाँ सन्तान आउने थाहा पाएपछि सबैजना खुसी हुनुभा’ छ।’ महिलाको डिम्ब उत्पादन र परिपक्वतामा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रा सन्तुलन हुनुपर्छ। इस्ट्रोजन हर्मोन आवश्यकताभन्दा बढी भएमा केटीहरु बढी उच्छृङ्खल हुन्छन्। त्यस्तै टेस्टेस्टेरोन हर्मोन बढी भएमा महिनावारी नियमित हुँदैन। यस बेला महिलाको गालामा डण्डिफोर आउने, चिडचिडाहट हुने र बढी मोटाउने गरेको डा. श्रीवास्तव बताउनुहुन्छ।


 

डिम्बवाहिनी नली खुला हुनुपर्छ

विवाह भएको १५ वर्षबित्दा पनि बुटवलकी शिखा श्रेष्ठको सन्तान नभएपछि जँचाउँदा डिम्बवाहिनी नली बन्द भएको पाइएको थियो। दुइ पटकसम्म गर्भपतन गराएकी शिखाको पाठेघर र नलीहरुको एक्सरे गर्दा दुवै डिम्बवाहिनी नली बन्द भएको देखिएको थियो। सन्तान प्राप्तिका लागि हाल उनी उपचार गराइरहेकी छिन्। डा. श्रीवास्तव असुरक्षित किसिमले गर्भपतन गराउँदा रगत जमेर डिम्बवाहिनी नली बन्द हुने बताउनुहुन्छ। फलस्वरुप पुरुषको शुक्रकीट डिम्बाशयमा जान सक्दैन र सन्तान प्राप्ति हुँदैन।



 

 

पाठेघर र डिम्बाशयको विकास

डिम्ब बस्ने डिम्बाशय र भ्रूण बस्ने पाठेघरको विकास भएको छैन भने बाँझोपन हुन पुग्छ। पाठेघरको मुखबाट उत्पादन हुने सर्भिकल म्युकस र योनिबाट उत्पादन हुने भेजाइनल सेक्रेसन (Vaginal secretion ) कम हुन गई सुख्खा भयो भने शुक्रकीटलाई नष्ट गर्छ, फलस्वरुप गर्भधारण हुन पाउँदैन। चार वर्षबित्दा पनि गर्भ नरहेपछि श्रीमान्लाई समेत थाहा नदिई उपचार गराउन आएकी एक महिलाको पाठेघर र डिम्बाशय दुवैको विकास नभएको पाइएको छ। डा. श्रीवास्तव ती महिलाले हर्मोन थेरापीबाट पाठेघरको विकास गराएपछि अरु कसैको डिम्ब दान लिएर टेस्टट्युब बेबी गर्भाधान गराउन सक्ने सुझाव दिनुहुन्छ। त्यस्तै सिन्धुपाल्चोक जिल्लाकी एक महिलाको हर्मोनका कारण डिम्बाशयको विकास नभएपछि निःसन्तान केन्द्रमा उपचार गराएपश्चात् डिम्बाशयको विकास त भयो तर पनि गर्भधारण नभएपछि श्रीमान्लाई जँचाउँदा उनको शुक्रकीट गुणस्तरहीन भएको पाइयो। यस्तो अवस्थामा दाताको शुक्रकीट लिएर टेस्टट्युब प्रविधिद्वारा गर्भाधान गराउन सकिन्छ। पाठेघर नै विकसित नभएकी महिलाले दिदी-बहिनी वा साथीलाई गर्भधारण (surrogate Mother) हुन लगाएर सन्तान जन्माउन लगाउनुपर्ने हुन्छ। विकसित मुलुकमा यस्तो प्रचलन भए पनि नेपालमा भने हालसम्म छैन।


 

 

संसर्ग तालमेलयुक्त हुनुपर्छ 
दम्पती स्वस्थ छन् भने पनि तालमेल नमिलेको खण्डमा बच्चा नहुन सक्छ। लिंग उत्तेजित नभएर अथवा राम्रोसँग यौनसम्पर्क नभएमा बाँझोपन हुन जान्छ। कहिलेकाहीँ मनोवैज्ञानिक कारणले पनि लि· उत्तेजित नहुन सक्छ। यस्तो बेला श्रीमतीले माया गर्ने तथा उत्तेजित गराउनुपर्ने चिकित्सकहरु बताउँछन्। त्यस्तै दम्पती चिन्तित भई यौनसम्पर्क राखेमा पनि गर्भधारण हुँदैन। चिन्ता र यौन उत्तेजनाबीचको चक्रले डिम्बवाहिनी नली र पाठेघरको मांसपेशीमा तर· उत्पन्न हुन्छ। फलस्वरुप साधारणतया शुक्रकीट र डिम्बबीच मिलन नहुन सक्छ। समयमा महिनावारी हुन्छ भने महिनावारी भएको १०-१२ दिनदेखि १८-२० दिनसम्म दिनदिनै वा एक दिन बिराएर यौनसम्पर्क गर्दा बच्चा हुने सम्भावना हुन्छ। महिलाको डिम्ब फुटेर बाहिर निस्किएको बेला संसर्ग भएमा गर्भधारण हुने सम्भावना बढी हुने डा. उमा श्रीवास्तव बताउनुहुन्छ। सामान्यतया २१ दिनमा महिनावारी हुन्छ भने महिनावारी भएको ५ देखि ११ दिनभित्र संसर्ग भएमा बच्चा हुन सक्छ। त्यस्तै २८ देखि ३० दिनभित्र महिनावारी हुने महिलाको महिनावारी भएको १०-१२ देखि १८-२० दिनसम्म यौनसम्पर्क भए सन्तान हुन सक्छ। महिलाको डिम्ब परिपक्व भएर फुटेको बेला संसर्ग गर्नु उपयुक्त मानिन्छ। अरु बेला गरिएको संसर्गले सन्तान प्राप्ति नभएर केवल आनन्द प्राप्ति मात्र हुन्छ। सेना, प्रहरीलगायत अन्य कतिपय पेसाका व्यक्तिहरुको आफू स्वयम् र पत्नी स्वस्थ हुँदाहुँदै पनि सन्तान नहुनुको कारण संसर्गको बेला उचित तालमेल नमिल्नु नै हो।


 

 

एउटै शुक्रकीटले डिम्ब छेड्छ

अण्डकोषले करोडौं शुक्रकीट पैदा गर्छ। एक मिलिलिटर वीर्यमा कम्तीमा ६ करोड शुक्रकीट हुन्छन्। जम्मा शुक्रकीटमध्ये ५० प्रतिशत स्वस्थ, गतिशील र सक्षम हुनुपर्छ। शुक्रकीटमा विभिन्न विकार देखा परे एन्टिबायोटिक औषधि खुवाएर सक्षम तुल्याउन सकिने डा. उमा श्रीवास्तव बताउनुहुन्छ। स्वस्थ पुरुषको क्षमतायुक्त शुक्रकीटले महिलाको डिम्बलाई छेड्न सफल भएमा महिला गर्भधारण गर्न पुग्छिन्। पाठेघरको मुखबाट डिम्बवाहिनी नली हुँदै बाहिर निस्केको डिम्बलाई पुरुषको स्वस्थ एउटै शुक्रकीटले छेड्यो भने भ्रूण बन्ने डा. श्रीवास्तव बताउनुहुन्छ।


संसर्गपछि महिलाको योनिमार्गबाट सिमेन (Semen) बगेर बाहिर आउँछ। यस्तो बेला कोल्टे फेरेर केही समय सुत्न लगाउनुपर्छ। यस्तो गर्दा शुक्रकीट भित्र जान पाउँछ र गर्भ रहने सम्भावना हुन्छ। यदि महिलाको योनिमार्ग साँघुरो छ भने शल्यक्रियाद्वारा ठूलो पार्न सकिन्छ। त्यस्तै हाइमेन कडा वा बाक्लो भएर शुक्रकीट पाठेघरमा पुग्न नसकेको हो भने शल्यक्रियाद्वारा प्वाल पार्नुपर्छ अथवा हाइमेन नै निकाल्नुपर्ने हुन सक्छ।


एक पटक पनि गर्भधारण हुन नसकेको अथवा एक पटक गर्भधारण भइसकेपछि दोस्रो पटक गर्भधारण हुन नसकेको हो भने संयमता अपनाउनुपर्छ। सन्तान जन्माउन महिला र पुरुष दुवैको भूमिका हुन्छ। दम्पतीले आफ्नो खानपान, यौनजीवनमा सुधार ल्याई तालमेलयुक्त संसर्ग गर्दा नै सन्तान प्राप्ति हुन सक्छ। सन्तान नहुनुमा एक-अर्कालाई दोषारोपण गर्दै मनमुटाव बढाउनुभन्दा सम्बन्धित चिकित्सकसमक्ष गई परामर्श र उपचार सेवा लिनु लाभदायक हुन्छ। 


आधुनिक चिकित्सा पद्धतिले सन्तान प्राप्तिका सन्दर्भमा आउने विभिन्न समस्याको समाधान सुल्झाएको छ। सन्तान प्राप्तिको सुखका लागि उपाय र उपचार धेरै छन्। तसर्थ सन्तानको सुख पाउन तत्काल परामर्श लिएर उपचार गर्नु राम्रो हुन्छ। बेलैमा गरिएको उपचारले सन्तान प्राप्तिको आनन्द महसुस गर्न सकिन्छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको