धनुरासनबाट महिलालाई यस्तो फाइदा

सोमबार, २५ बैशाख २०७४

 

आइपर्ने हरेक समस्याको समाधान गर्ने शक्ति योगमा पाइन्छ । हरेक उमेर समूहलाई निकै महत्वपूर्ण मानिने योग महिलाका लागि त झन् महत्वपूर्ण छ । विविध क्षेत्रमा संलग्न महिलालाई शारीरिक तथा मानसिक रूपमा बलियो हुन पनि योग जरुरी देखिन्छ । महिलामा महिनावारी गडबडी, पाठेघरमा समस्या, छालासम्बन्धी समस्या, नसा च्यापिने, ढाड–कम्मर दुख्ने, टाउको दुख्ने, माइग्रेन, डिप्रेसन, शरीरमा हेमोग्लोबिन को कमी, भिटामिन डीको कमीजस्ता समस्या बढी देखिन्छन् ।

 

नियमित गरिने योगका आसन र प्राणायामले यस्ता समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ ।  महिलाहरूले आफूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउनुका साथै आफ्नो सुन्दरता कायम राख्न नियमित धनुरासन गर्दा लाभदायक हुन्छ ।

 

धनुरासन विधि:

पेटको बलमा सीधा घोप्टो परेर सुत्ने र दुवै हातलाई तिघ्राको नजिक राख्ने ।

अब दुवै हातलाई मेरुदण्डतर्फ लगेर दायाँ हातले दायाँ खुट्टा अनि बायाँ हातले बायाँ खुट्टा समाउने ।

त्यसपछि श्वासलाई तान्दै शरीरलाई धनुषजस्तो  आकार बनाई हातखुट्टा र छातीलाई एकै साथ आकासतर्फ तन्काउने ।

अब बिस्तारै श्वास छाड्दै फेरि छाती, हात र खुट्टालाई जमिनमा राख्ने ।

यसरी सामान्यतः ३ देखि ५ पटक गर्न सकिन्छ । यदि मोटोपना घटाउनु छ भने ९ देखि ११ पटकसम्म गर्दा  पनि हुन्छ ।

 

फाइदा :
मेरुदण्डलाई लचिलो र बलियो बनाउँछ ।

वक्षस्थल सुन्दर बनाई कम्मरको दुखाइ ठीक गर्छ ।

पेटसम्बन्धी समस्या हटाउँछ पाचन प्रणाली  बलियो बनाउँछ ।

महिलाहरूको महिनावारीसम्बन्धी समस्यालाई कम गर्छ ।

मोटोपनालाई घटाई शरीरमा ऊर्जा ल्याउँछ ।

 

सावधानी :
उच्च रक्तचाप र दमका बिरामीहरूले श्वासलाई नरोकी बिस्तारै बिस्तारै गर्ने ।

महिनावारी भएको अवस्थामा रक्तश्राव भइरहेको छ भने नगर्ने ।


सुजिता बस्नेत योग प्रशिक्षक   | 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको