दम भनेर झुक्किने रोगको शल्यक्रिया नेपालमै

सोमबार, ११ पुष २०७३

 

भर्खरै १५ वर्ष पुगेका सुमन श्रेष्ठलाई सास फेर्न गाह्रो हुन थाल्यो । स्याँस्याँ हुने र घाँटीबाट आवाज आउन थालेपछि अभिभावकले छोरालाई दम भएको ठाने । त्यही अनुसार उनको उपचार गरे । तर, सुमनको समस्यामा कुनै सुधार आएन ।

 

दमको नियमित उपचारपछि पनि समस्या बढ्दै गएपछि सुमनलाई थप उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल (केएमसी) लगियो । अस्पतालमा परीक्षणपछि थाहा भयो सुमनलाई त दम होइन घाँटीको नली साँघुरो हुने ‘ट्रयाकियल स्टेनोसिस’ भएको रहेछ ।


उपचारमा संलग्न चिकित्सक डा. सुजनसिंह क्षेत्रीले तुरुन्तै सुमनका अभिभावकलाई भने, ‘सुमनलाई ट्रयाकियल स्टेनोसिस भएको छ । यो घाँटीको नली साँघुरो हुने समस्या हो । नली फुलाउन शल्यक्रिया गर्नुपर्छ ।’

 

परिवारले शल्यक्रिया गर्न स्विकृति दिएपछि अस्पतालको नाक, कान घाँटी विभागका प्रमुख डा. तोरण केसीको नेतृत्वमा डा. क्षेत्री, डा. सुशिला तावेदासहितको टोलीले सुमनको शल्यक्रिया ग¥यो । शल्यक्रिया सफल भयो । संक्रमणका कारण साँघुरिएको सुमनको स्वास नलीलाई शल्यक्रिया मार्फत बेलुन राखेर फुलाइएको हो ।

 

डा. केसीका अनुसार यो निकै जटिल शल्यक्रिया हो । नेपालमा अहिलेसम्म यस्तो शल्यक्रिया बढीमा ७ वटा मात्र भएको छ । तीमध्ये ५ वटा केएमसीमा भएको छ भने बाँकी दुई अन्य अस्पतालमा ।

‘यो कम्पिकेट सर्जरी हो । यस्तो सर्जरी गर्न धेरैले आँट गर्दैनन्,’ डा. केसीले भने, ‘सुरुमा दम भनेर झुक्किने र पछि समस्या पहिचन भएपछि शल्यक्रिया गर्दा पनि खतरा हुने डर भएकाले धेरैले यसको शल्यक्रिया गर्न भारत पठाउँछन् । तर हामीकहाँ यो शल्यक्रिया गर्न सक्ने दक्ष टिम छ ।’

 

डा. क्षेत्रीका अनुसार सुमनको परिवारजस्तै यो रोगलाई धेरै मानिसले झुक्किएर दम भन्दै उपचार गराइरहेका छन् । ‘नेपालमा मात्र नभई यो समस्यामा विश्वभरका मानिस तथा मेडिक क्षेत्रमा कार्यरत व्यक्ति समेत झुक्किने गरेका छन्, उनले भने, ‘जसका कारण गलत उपचारमा रुमल्लिँदा धेरैको ज्यान गएको छ ।’ नेपालमा पनि यस्तो रोगको पहिचान नै नभई धेरैको ज्यान गएको हुनसक्ने उनको अनुमान छ ।

 

 

के कारणले हुन्छ ?

यो रोग धेरैजसोमा घाँटीको स्वासनलीमा संक्रमण हुँदा लाग्ने गर्दछ । विशेषगरी, अस्पतालको भेन्टिलेटरमा उपचाररत बिरामीहरुमा निको भएर गएपछि यस्तो समस्या देखिन सक्छ ।

 

‘भेन्टिलेटरमा कृत्रिम स्वास दिएर राख्दा स्वास नलीबाट खकार फोक्सोमा नजाओस् भनेर विशेष व्यवस्था गरिएको हुन्छ । तर, त्यो क्रममा नलीमा जम्मा भएको खकारले पछि संक्रमण गराएर स्वासनली साँघुरिन सक्छ,’ डा. क्षेत्रीले भने, ‘पहिला भेन्टिलेटरमा उपचार गराइसकेका बिरामीलाई सास फेर्न गाह्रो हुने समस्या देखिए सचेत हुनुपर्छ ।’

 

यसैगरी, स्वासनलीमा चोट लागेर, अन्य रोगका कारण, बच्चाहरुमा जन्मजात पनि यो रोग हुन सक्छ । अस्पतालले हालै सफल शल्यक्रिया गरेको सुमनलाई भने केही समयअघि भेन्टिलेटरमा राखेरका कारण ट्रयाकियल स्टेनोसिस भएको थियो । ‘दुर्घटनाका कारण सुमनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको रहेछ,’ डा. क्षेत्रीले जानकारी दिए ।

 

डा. क्षेत्रीका अनुसार घाँटीको स्वरबाहिनी नलीको तल्लो भाग र फोक्सोको माथिल्लो भागमा रहेको स्वास नलीमा यस्तो समस्या आउँछ । संक्रमणले बिरामीको साँघुरिएको नलीको आकारका आधारमा शल्यक्रिया गरिन्छ । संक्रमणका कारण नलीको भागमा थोरै मात्र साँघुरिएको छ भने बेलुन राखेर फुलाउने र धेरै साँघुरिएको छ भने नली नै काटेर जोड्ने शल्यक्रिया गरिन्छ ।

 

‘तर शल्यक्रिया गर्दा साइड इफेक्ट हुने खतरा पनि छ,’ उनले भने, ‘शल्यक्रियाका लागि दक्ष टिम भएन भने नसामा असर गरेर प्यारालाइसिस हुने, बिरामीको स्वर नै धोद्रो हुने जस्ता खतरा पनि रहन्छन् ।’

 

एक पटक बेलुन हालेर नली फुलाएका बिरामीको स्वासनली पुनः साँघुरिने खतरा रहेकाले नियमत स्वास्थ्य जाँच गराउनु पर्दछ । डा. क्षेत्रीका अनुसार शल्यक्रिया गरेका बिरामी एक वर्षसम्म नियमति चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको