कस्ता स्वास्थ्य समस्यामा कस्ता डाक्टरलाई भेट्ने?

शनिबार, २७ जेठ २०७४

डा. ओममूर्ति अनिल


 

बिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ। जसका लागि बिरामीले आफ्नो रोगअनुसार विशेषज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ। रोगअनुसार सही डाक्टर पहिचान गर्न दुई वटा कुरामा ध्यान दिनुपर्छ। पहिलो, डाक्टरको डिग्री र दोस्रो, उसको विशेषज्ञता। जानकारी अभावमा मेडिकल समस्यामा सर्जनकहाँ जानु, सर्जरीका लागि फिजियसनलाई भेट्नु र आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञबारे थाहा नहुँदा अर्को रोगका विशेषज्ञ डाक्टरलाई भेट्नु आमसमस्याका रुपमा देखिएको छ।

 

सही डाक्टर पहिचान गर्न नसक्दा उपचार खर्च बढी पर्ने, अनावश्यक जाँच गर्नुपर्ने, समय बर्बाद हुने, सही उपचार हुन नसक्ने र रोग जटिल बन्दै जाने समस्या उत्पन्न हुन सक्छन्। शारीरिक समस्या देखिएमा सकभर पहिला फिजिसियनलाई देखाउनुपर्छ। फिजिसियनको सल्लाहअनुसार मात्र विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ।

डाक्टरहरु विभिन्न प्रकारका हुन्छन्। जस्तैः मेडिकल अफिसर, कन्सल्टेन्ट, जनरल फिजिसियन, एमडिजिपी र स्पेसलिस्ट। एमबिबिएस पास गरेको डाक्टरलाई मेडिकल अफिसर भनिन्छ। एमबिबिएस डाक्टरलाई मेडिसिन र सर्जरीका विषयमा आधारभूत ज्ञान हुन्छ। यस्ता डाक्टर सबै रोगको प्रारम्भिक उपचारमा सहभागी हुन मिल्छ। उनीहरु बिरामीको उपचार पछि अवस्था र आवश्यकताअनुसार विशेषज्ञ डाक्टरलाई रिफर गर्छन्। एमबिबिएस स्नातक डिग्री हो।

 

एमबिबिएसपछि एमडि वा एमएस गरेको डाक्टरलाई कन्सल्टेन्ट भनिन्छ। एमडि भनेको डक्टर अफ मेडिसिन र एमएस भनेको मास्टर्स इन सर्जरी हो। यो स्नातकोत्तर डिग्री हो। यस्तै, मेडिसिन विषय लिएर एमडी गरेको डाक्टरलाई जनरल फिजिसियन भनिन्छ । जनरल फिजिसियनलाई शरीरका सम्पूर्ण अंगको मेडिकल समस्याका बारेमा ज्ञान हुन्छ। जटिल रोग लागेको छ भने जनरल फिजिसियनले बिरामीको रोग पहिचान गरी सामान्य उपचारपछि विशेषज्ञलाई रिफर गर्छन्। जस्तैः नसासम्बन्धी रोगमा न्युरो फिजिसियन, मिर्गौला रोगमा नेफ्रोलाजिष्ट तथा पिसाबसम्बन्धी समस्या भए युरोलोजीस्टलाई रिफर गर्दछन्।

कुनै एक रोगका बारेमा अध्ययन गरेको डाक्टरलाई विशेषज्ञ भनिन्छ। सामान्यतय भन्नुपर्दा जनरल फिजिसियन वा जनरल सर्जनले कुनै एक रोग विशेषमा अध्ययन वा तालिम लिएमा त्यस्ता डाक्टरलाई विशेषज्ञ ९स्पेशलिस्ट० भनिन्छ । हाल एमबिबिएसपश्चात् कुनै रोगमा सिधै विशेषज्ञ अध्ययन पनि गर्न सकिने व्यवस्था छ।

एमडि वा एमएसपश्चात् कुनै एक रोगको विषयमा डिएम वा एमसिएच गरेको डाक्टरलाई सुपरस्पेसियालिटी भनिन्छ। यो पिएचडि डिग्री हो। यो विषय अध्ययन गर्ने डाक्टरहरुले कुनै एक रोगको तीन वर्षसम्म सघन अध्ययन, अनुसन्धान र उपचारमा संलग्न भएका हुन्छन्। यो डिग्री मेडिकल विषयमा हुने सबैभन्दा विशिष्ट अध्ययन हो। डिएम गरेका डाक्टरलाई कुनै एक रोगको सुपरस्पेसियालिटी फिजिसियन र एमसिएच गरेमा सुपस्पेसियालिटी सर्जन भनिन्छ।

एमडि वा एसएस गरेका विशेषज्ञ डाक्टरले डिएम वा एमसिएच गरेका डाक्टरलाई रिफर गर्छन। डाक्टरी विषयमा गरिने अर्को डिग्री एमडिजिपी हो। यस्ता विषय पढेका डाक्टरलाई पारिवारिक फिजिसियन पनि भन्ने गरिन्छ। यो डिग्री लिएका डाक्टरलाई मेडिसिन र सर्जरी दुबै विषयको ज्ञान हुन्छ। प्रायः अस्पतालका इमर्जेन्सी विभागमा एमडिजिपी हुने गर्छन्। यो स्नातकोत्तर डिग्री हो।

 

कुन समस्यामा कस्ता डाक्टरलाई देखाउने?

 

न्युरोलोजिष्ट

मष्तिस्क र नसासम्बन्धी अध्ययन गरेका डाक्टरलाई न्युरोलोजिष्ट भनिन्छ। टाउको दुख्ने, माइग्रेन, नसासम्बन्धी समस्या, छारे रोग, रिंगटा लाग्ने, हिड्न गाह्रो हुने, बेहोस हुने र अन्य  मष्तिस्क र नसासम्बन्धी समस्या भएमा न्युरोलोजिष्टलाई देखाउनु पर्छ।

 

नेफ्रोलोजिष्ट

मिर्गौलासम्बन्धी अध्ययन गरेका डाक्टरलाई नेफ्रोलोजिष्ट भनिन्छ। पिसाब गडबडी भएमा, पिसाबमा रगत आएमा, मिर्गौला प्रत्यारोपणसम्बन्धी जाँच र उपचार गर्नुपरेमा नेफ्रोलोजिष्टलाई देखाउनुपर्छ।

 

पल्मोनोलोजिष्ट

फोक्सो रोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई पल्मोनोलोजिष्ट भनिन्छ। स्वाँस्वाँ हुने, फोक्सोको संक्रमण, घुर्ने, दम, सिओपिडिजस्ता समस्या भएकाले पल्मोनोलोजिष्टलाई देखाउनुपर्छ।

 

इन्डोक्राइनोलोजिष्ट

हर्मोन र मेटाबोलिजमसम्बन्धी अध्ययन गरेका डाक्टरलाई इन्डोक्राइनोलोजिष्ट भनिन्छ । मधुमेह, थाइराइड र अन्य हर्मोन गडबडीले लागेका रोगमा इन्डोक्राइनोलोजिष्टलाई देखाउनुपर्छ।
इन्डोक्राइनोलोजिष्टमा डिएम गरेका डाक्टर नेपालमा एकजना मात्र छन्।

रिउयुमेटोलोजिष्ट

बाथरोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई रिउमेटोलोजिष्ट भनिन्छ। नेपालमा ३ जनामात्र इन्डोक्राइनोलोजिष्ट रहेको जानकारहरुले बताएका छन्।

 

युरोलोजिष्ट

मुत्रनली र पिसाबसम्बन्धी अध्ययन गरेका डाक्टरलाई युरोलोजिष्ट भनिन्छ। प्रोस्टेट, मुत्रथैलीमा पत्थरीलगायत पिसाबमा गडबडी भएमा युरोलोजिष्टलाई देखाउनुपर्छ।

यसैगरी हाडको समस्या भएमा अर्थोपेडिक्स तथा मुटुसम्बन्धी समस्या भएमा कार्डियोलोजिस्टलाई देखाउनुपर्छ। नेपालमा आँखा, दाँत, क्यान्सर, मधुमेहलगायत सबै प्रकारका रोगका विशेषज्ञ डाक्टर उपलब्ध छन्।

 

ध्यान दिनुपर्ने

रोगको लक्षणका आधारमा आफैले विशेषज्ञ डाक्टर खोज्नुभन्दा फिजिसियनको सल्लाहअनुसार जानु उपयुक्त हुन्छ। फरक–फरक रोगमा पनि एकै प्रकारको लक्षण देखिन सक्छ । डाक्टरलाई आफ्ना समस्या खुलेर बताउनुपर्छ। समस्या लुकाएमा वा भन्न नसक्दा सही उपचार नहुन सक्छ।

डाक्टरलाई देखाउन जानुअघि आफ्ना समस्या लेखेर लाँदा राम्रो हुन्छ। डाक्टरलाई देखाएपछि औषधिका बारेमा पनि राम्रोसंग बुझ्नु पर्छ। सबै औषधि सबै ठाउँमा उपलब्ध नहुने भएकाले सो जिज्ञासा पनि डाक्टरलाई भन्नुपर्छ। औषधिले निको नभएमा डाक्टर फेर्नुभन्दा पुनः सोही डाक्टरलाई भेटि समस्या बताउनुपर्छ। डाक्टरको सल्लाहविना औषधि छाड्ने, मात्रा घटबढ गर्ने, सुरु गर्ने गर्नु हुँदैन।

अरुको लहलहैमा लागेर डाक्टरकहाँ जानुभन्दा सही डाक्टर पहिचान गरी जानुपर्छ । डाक्टरलाई भेट्न जाँदा आफ्ना पुराना समस्या खुलेर बताउनु पर्छ र पुराना पर्चा पनि लिएर जानुपर्छ। डाक्टरलाई आफ्नो बारेमा सही जानकारी नदिँदा ज्यानै जान सक्ने पनि हुनसक्छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको