वसन्तपुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर

बुधबार, २८ असार २०७४

 

तेह्रथुमको वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मङ्गलबार सुरु भएको छ । शिविरको पहिलो दिन ८६ जना महिलाले परीक्षण तथा पाठेघरको क्यान्सरबारे जानकारी लिएका छन् ।

त्यसमध्ये छ जनालाई क्यान्सर हुनसक्ने देखिएपछि उपचारका लागि रिफर गरिएको छ । सभासद् सीता गुरुङमार्फत संसद् विकास कोषको सहयोगमा प्रगतिशील तमु युवा समाजले आयोजना गरेको शिविरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण तथा पाठेघरको क्यान्सरसम्बन्धी सचेतीकरण गरिरहेको अध्यक्ष हेमन्त गुरुङले बताउनुभयो ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याका रुपमा पाठेघरसम्बन्धी रोग र समस्याको निदानका लागि शिविर महत्वपूर्ण भएको बताउनुभयो ।

“गाउँका आमा दिदीबहिनी प्रसूति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्छ, खानपिन र सरसफाइ पनि मिल्दैन,” उहाँले भन्नुभयो, “त्यसैले आमा–दिदीबहिनीको पाठेघरमा छिट्टै सङ्क्रमण हुनेगर्छ ।” गाउँका महिलाले पाठेघरसम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यससम्बन्धी सचेतना जरुरी देखेर कार्यक्रम राखिदिएको गुरुङले बताउनुभयो ।

यससम्बन्धी कार्यक्रम संसद् विकास कोषको सहयोगमा वर्षेनी भइरहेको छ । योभन्दा अगाडि पनि पाठेघर र स्तन क्यान्सरसम्बन्धी शिविर र सचेतना कार्यक्रम म्याङलुङ्ग, आठराई र छथरमा पनि भइसकेको तमु युवा समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।

 

Source: Osnepal


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको