महिनावारी हुदा मेडिकलको ‘सेनिटेरी प्याड’ किन्ने क्षमता नभएका महिलाहरुले प्रयोग गर्ने गरेको ‘कपडा’ के सुरक्षित छ त ?

शनिबार, २८ साउन २०७४

 

-सर्मिला बुढाथोकी

 

दोलखा । पाठेघरको मुखमा संक्रमण भएर प्रस्तावित चरिकोट अस्पतालमा उपचार गर्न आउनुभएकी भीमेश्वर नगरपालिका–७ की ईश्वरी मुग्राती सुरक्षित प्याडको बारेमा अनभिज्ञ हुनुहुन्थ्यो । स्वास्थ्यकर्मीले त्यसबारे जानकारी गराउदा अनभिज्ञताले पाएको दुख सम्झेर उहाँ पछुताउनुभयो, महिलाखबरमा समाचार छ।

महिनावारी हुँदा पुरानो कपडा प्रयोग गर्दै आउनु भएको मुग्राती असुरक्षित प्याडको प्रयोगबाट पाठेघरमा संक्रमण भै स्वास्थ्यमा असर पार्छ भन्ने कुरा पहिले नै थाहा पाएको भए लामो समयसम्म पीडित हुनु नपर्ने बताउनु हुन्छ । मुग्राती भन्नुहुन्छ– ‘महिनावारी हँुदा प्रयोग गरेका कपडा अरुले देख्ने गरी सुकाउनु हुदैन भन्थे, किटाणु मर्ने गरी घाममा सुकाउनु पर्ने कुरा त बल्ल पो थाहा पाएँ ।’

सुरक्षित प्याड प्रयाेग वारे सिक्दै महिला

भीमेश्वर नगरपालिकाकै २३ बर्षिया प्रमिला मुग्रातीलाई पनि पाठेघरको संक्रमण भएको छ । ‘मेडिकलको प्याड किनेर साध्य नहुने भएकाले पुरानो कपडा प्रयोग गर्थे, प्रमिला भन्नुहुन्छ,– मैले प्रयोग गरेको कपडा सुरक्षित छैन भन्ने कुरा अहिलेमात्र थाहा पाए ।’

दोलखामा महिनावारी भएका महिलाहरुमा सरसफाइ तथा सुरक्षित प्याडको प्रयोग बारे चेतनाको अभावले पाठेघरको संक्रमण तथा बाझोपनको समस्या देखिएको भुकम्प पछिको एक अध्ययनले देखाएको छ । जसको समाधानका लागि लण्डनको एक्जुडस ट्राभल्सको आर्थिक सहयोग तथा हेल्थ पाटर्नरशीप नेपालको समन्वयमा सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा फ्रीडम किट व्याग वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।

फ्रीडम किट व्याग वितरण कार्यक्रममा प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटकी डाक्टर अर्चना केसीले सुरक्षित प्याड प्रयोग नगर्दा हुने संक्रमण र सरसफाईको तरीकाको बारेमा जानकारी दिनु भएको थियो ।

प्रस्तावित चरिकोट अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आएका पाठेघरमा संक्रमण भएका महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने प्याड, पेन्टी, साबुन, प्याड सुकाउन प्रयोग गरिने डोरी लगायतको सामाग्री रहेको फ्रिडम किड व्याग वितरण गरिदै आएको छ ।

सुरक्षित प्याडको प्रयोगले घरमै पाठेघरको संक्रमण नियन्त्रण गर्न सकिने र त्यसैको लागि संक्रमणको कारण समाधानको उपाएबारे जानकारी गराउदै फ्रिडम किड व्याग वितरण गरिएको डाक्टर केसीको भनाई छ । डाक्टर केसीका अनुसार प्रस्तावित चरिकोट अस्पतालमा दैनीक तीन सय ५० जनासम्म विरामी उपचारको लागि आउने गरेका छन् । त्यसरी आउने विरामीमा ७० प्रतिशत महिला हुने गरेको र त्यसमा ३० प्रतिशत महिला पाठेघरको संक्रमण भै उपचारको लागि आउने गरेको डाक्टर केसीको भनाई छ ।

पाठेघरमा संक्रमण हुने मुख्य कारण असुरक्षित प्याडको प्रयोग भएपनि अन्य रोगहरुले पनि पाठेघरको संक्रमण हुनसक्ने भएकोले समस्या भएमा तत्कालै स्वास्थ्यकर्मीसंग जाँच गराउनु पर्ने डाक्टर केसी बताउनु हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको