दरमा के खाने, के नखाने ?

आइतबार, २९ साउन २०७४

 

हिन्दू महिलाको ममत्त्वपूर्ण चाड तीजनजिकै छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन् । सहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन्। 

दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्‍याउनुपर्छ। 

 

धेरै नखाने
नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञ मदन चापागाईं सुझाव दिन्छन् । 

स्वच्छ खाने 
मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।  

 

भारी नखाने 
दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञ चापागाइँ बताउँछन् । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने उनी बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् । 

 

पोषिलो खाने 
पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ । शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा उनी सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ ।  त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । 
दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको