अन्तिम आलेख - अभागी भीष्म पितामह

शनिबार, १७ भदौ २०७४

 

भीष्म पितामह कुरू राजा शन्तनुका गङ्गा पट्टिका छोरा थिए जो प्रख्यात राजनीतिक एवं रणनीतिक शास्त्रज्ञ मानिन्थे | यिनी अष्टवसुहरु मध्ये आठौँ वसु द्दौको अंशबाट जन्मिएका थिए भनेर वर्णन पाइन्छ [म.आ.९०.५०] | यिनको मूल नाउँ ‘देवव्रत’ मानिन्थ्यो | गंगाको छोरो भएका कारण इनलाई ‘गांगेय’ ‘जाह्रवीपुत्र,’ ‘भागीरथीपुत्र’ आदिपनि भन्ने गरिएको थियो | शव्दकोष अनुसार भीष्मको शाब्दिक अर्थ ‘भयंकर’ भन्ने जनिन्छ | यसको अर्थ इनले आफ्ना बाबु शन्तनुको सुखभोगकोलागि आजंम अविवाहित रहने निर्णयगरी राज्याधिकार नलिने प्रण गर्नसकेको कारण इनलाई ‘भीष्म’ भनिएको हो भन्नेकुरामा सबैको मतैक्यता रहेको पाइन्छ | यिनी राजकुमारपनि हुन | यिनलाई युवराज घोषणा गरिएपनि इनी आफ्नो जीवनमा लगभग १८६/१८७ बर्ष बाँचेरपनि कहिल्यै राजा हुन सकेनन , परिस्थितिले त्यो मौका आउन दिएन | यसवाहेक जुन कुरुवंशकोलागि उनी आजीवन ब्रह्मचारी भएर बसे , जस्कोलागि बोल्न सक्ने कुरोपनि बोलेनन् र मौन भएर त्यस वंशको चिरायूकोलागि टार्ने प्रयास गरे त्यै कुरूवंश यिनका आँखो अगाडि भष्म भएर गयो | आफ्नो नश्वर जीवन लगभग १८६/१८७ बर्ष बाँच्न सफल देखिएका इनको सम्पूर्ण कोशिश इनकै आँखोअघि सकिएको थियो | चित्रांगद, विचित्रवीर्य, पाण्डु, धृतराष्ट्र जस्ता अल्पायु, कमजोर एवं शारिरीक रुपमा रोगी राजाहरुलाई सँधै आफ्नो काँध थापेर सम्हालेका भीष्मलाई त्यो महाभारतको युद्धले जोगाउन सकेंन | मरणासन्न अवस्थामा पुगेपनि प्राण त्याग्न सकेनन | यिनी घाइते हुँदा सूर्य दक्षिणायनमा थियो | उनले आफ्ना बाबुबाट ईक्षामृत्यु वरदान पाएका कारण प्राणलाई रोकेर राखी माघ शुल्क अष्टमीमा अर्थात सूर्य उत्तरायण भएपछि मात्र इनको प्राण पखेरु उडेको थियो [म.अनु.१६८.७] ,[निर्णयसिंधु पृ.१६३] | इनको मृत्यु विनशन क्षेत्रमा भएको मानिन्छ [भा.१.९.१] | इनी उमेरमा आफ्नी सौतेनी आमा सत्यवतीको समतुल्य थिएभने तिनकै सत्यवती पुत्र व्यास, उनको कौमार्य अवस्थामा जन्मिन पुगेपनि इनि भन्दा निकै कान्छा मानिन्थे |

 

अटल व्यक्तित्त्व :

महाभारतमा महर्षि व्यासले भीष्मलाई पराक्रमी एवं ध्येयनिष्ठ राजर्षिको रुपमा चरित्रचित्रण गरेका छन् | जमादग्निका छोरा परशुराम जस्तै इनले धेरैलाई युद्धमा हराएका हुँदा भीष्म महाभारतकालीन समयका सर्वश्रेष्ठ पराक्रमी क्षत्रियमा गनिन पुगेका हुन् | कुरुकुलको संरक्षण गरी त्यस कुलको प्रतिष्ठा बढाउनु भीष्मको आफ्नो जीवन भरीको उद्देश्य रहेको थियो | कुरुवंशीय राजा शंतनुदेखि चित्रांगद, विचित्रवीर्य, पाण्डु, धृतराष्ट्र ,दुर्योधन सम्म कौरववंशको ‘संरक्षकको रुपमा देखा परेका भीष्मले आफ्नो पूर्ण तरुणकालमापनि भोग विलासमा कहिल्यै लाग्न पाएनन र वृद्धावस्थामापनि मोक्षप्राप्त गर्न लालायित भएको देखिएनन | उनको चाहना कुरुवंशको कल्याण र प्रतिष्ठा राख्नमै वितेको थियो | त्यसैले युद्धको दशौँ दिन अर्जुनलाई मलाई युद्धमा हराउन दुनियाँको कुनै शक्तिले सक्तैन | तर , मेरो दुर्भाग्य नै हो कि म हारेर मात्र मृत्यु प्राप्त गर्न सक्छु भन्न पुगेका थिए | त्यसैले तिमी मलाई हरेक हथकण्डा अपनाई हराएर विजय प्राप्त गर भनेर आफ्नो मृत्युको जानकारी गराउन उनले संकोच मानेनन् |

 

योग्यता :

भीष्म सर्वशास्त्रवेत्ता, परमज्ञानी एवं तत्त्वज्ञानका महापंडित नै मानिन्थे | कुनैपनि विषय वस्तुको समस्या तुरुन्त सुल्झाउन सक्ने क्षमता उनमा सुरक्षित रहेको थियो | जुनसुकै विषयवस्तुको शंका निवारण गर्न उनी सक्तथे | उनी सात्त्विक विचारधाराका उदार महापुरुष मानिन्थे | इनको रणकुशलता , राजनीति, अर्थशास्त्र, एवं अध्यात्मज्ञान , धर्म, नीति, एवं दर्शनको ज्ञान तत्कालिन समयमा वहु प्रचारित हुन् पुगेको थियो | इनि हरेक विषयका परमवेत्ता मानिन्थे | इनकि आमा गंगाले इनलाई वसिष्ठ ऋषिको आश्रममा राखेर समस्त वेदमा पारंगत बनाउन लाएकी थिइन भने बृहस्पति तथा शुक्राचार्यले इनलाई अस्त्रशस्त्रको ज्ञान दिएका थिए | परशुरामबाट इनले अस्त्रशास्त्रका साथ धनुर्वेद, राजधर्म पढेका थिए [म.आ.९४.३१-३६] | यस वाहेक च्यवन र भार्गव ऋषिबाट सामवेद, वसिष्टबाट अध्यात्म, एवं मार्कण्डेय ऋषिबाट यतिधर्मको ज्ञानपनि पाएका थिए | शुक्र तथा बृहापतिका त् यी साक्षात् शिष्य नै मानिन्थे | इनलाई मार्न सक्ने कुसलता कसैसंग थिएन कारण इनले इच्छामृत्यु वर् आफ्ना बाबुबाट पाएका थिए | अर्थात इनले चाहेमा मात्र इनको मृत्यु सम्भव थियो [म.शां.३८.५-१६,४६.१५-२३] ।

 

जन्म :

ब्रह्माको श्राप पाएका कारण गंगा पूरुवंशीय राजा शंतनुकी पत्नी बन्न पुगेकी थिइन् | वसिष्ठ ऋषिको श्रापको कारण जव इंद्रको आज्ञा पाएर अष्टवसुहरुले गंगाको पेटमा जन्म लिन पुगे त्यसमध्ये तिनका सात छोराहरु गंगामा फ्यालिए आठौँ छोरो द्द्यु नाउँ गरेको वसुको अंश थियो जसलाई फ्याल्न जाँदा शंतनुले विरोध गरेपछि तिनै भीष्म भनेर चिह्निंन पुगेका थिए | गंगा भीष्मलाई लिएर अन्तर्धान हुनपुगेकि थिइन | यी आठौँलाई ती वसुहरुले निःसंतान हुने श्राप दिएका थिए |आफ्नो छोरा भीष्म गंगालाई दिएर पठाएको करीब छत्तीस वर्षपछि एकदिन शंतनु हरिणलाई पिछागर्दै गंगानदी नजिक पुग्दा एकाएक गंगाको पानी कम हुन पुगेको देखे |उनी आश्चर्यमा परे | एउटा केटोले आफ्नो अचूक अश्त्रद्वारा गंगाको पानीको प्रवाह रोकेको देखेपछि उनी त्यस बच्चाको अस्त्रविद्या देखेर चकित भए [म.आ.९४.२२-२५] | त्यो बच्चो शंतनुपुत्र भीष्म नै थियो |तर उनले चिन्न सकेनन |त्यो केटो उनको दृष्टिबाट तुरुन्त ओझेल भयो | उनी छक्क परे तर कतै यो मेरै छोरो त होइन भन्ने उनको मनमा शंकापनि पह्लायो | त्यसैले उनले गंगालाई सम्बोधन गरेर पुनः देखाउने आग्रह गरे | त्यतिखेर गङ्गा सेतो पहिरनमा छोरो लिई निस्किन र पूर्वकथन दोहोर्याउदै भीष्म राजा शंतनुलाई सुम्पर अन्तर्ध्यान भइन [म.आ.९४.३१] |


- प्रविण अधिकारी को फेसबुक वाल बाट साभार ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको