यसकारण मैले विदेशबाट घरमा फोन गरिन

आइतबार, २५ भदौ २०७४

 

उमेर त भर्खर १८ वर्ष मात्रै पुग्दै थियो । तर घरको जिम्मेवारी बढ्दै गयो । छरछिमेकका छोराछोरीले विदेश गएर कमाउदै थिए । त्यसैले मलाई पनि विदेश जान पाए कमाइन्थ्यो कि जस्तो लाग्यो । 

 

मैले त कोही चिनेको थिइन । त्यसैले बजारमा हुने दिदीले फुलबारीको एकजना महिला चिन्नुभएको रहेछ । उनैले मलाई घरको काममा कुवेत पठाइदिने भइन् । पहिलो पटक पासपोर्ट बनाउन काठमाडौं गएँ । एक हप्तामै फर्किएर आएँ । अनि दोस्रो पटक त उड्ने गरी गएँ र उडेँ पनि । 

कुवेत पुग्दा सुरुमा त साह्रै रमाइलो लाग्यो । ठूल्ठूला घर अनि वातावरण पनि राम्रो तर सबै मान्छेले मुख छोप्ने लुगा लगाएको देख्ता डर पनि लाग्यो । कुवेत पुगेको भोलिपल्ट अफिसमा लग्यो अनि त्यहीँबाट घरमा पु¥याए । मैले काम गर्ने घरमा बुढाबुढी थिए । बुढो कुवेती अनि बुढी चाहिँ पाकिस्तानी । बुढीले हिन्दी बोल्ने भएकाले मलाई गाह्रो भएन् ।

मेरो काम सजिलो हुँदा हुँदै पनि मसँगै गएका अरु दुई जना साथीहरुको काम गाह्रो भएकाले हामी तीनै जना त्यहाँबाट भाग्यौँ । कुवेत गएपछि परिवारसँग सम्पर्क भइरहेको थियो । तर त्यहाँबाट भागेपछि सम्पर्क गर्न सकिन । 

मलाई त राम्रो थियो तर घरमा सबै जना आत्तिएछन् । अनि सूचना केन्द्रसम्म पुगेछन् । सूचना केन्द्रबाट मलाई फोन गरेर फर्किनु भन्नुभयो तर मलाई राम्रो थियो त्यसैले म आउँदिन भने । पैसा कमाउन भनेर विदेश गएको तर त्यतिञ्जेल कमाउन सकेको थिइन ।

त्यसैले पैसा कमाएर फर्किन्छु भनेर बसेँ । साढे ६ वर्ष बसेर फर्किएँ । केही पैसा पनि ल्याएँ । म जस्तै परिवारसँग सम्पर्क नगरी बसेकाहरु धेरै भेटेँ । धेरै केटाहरु थिए । उनीहरु मध्ये धेरै मेरै जस्तो पैसा कमाउन नसकेर नै सम्पर्कविहीन भएको भेटेँ ।

कोही चाहिँ रमाइलो गरेर पैसा सक्ने अनि घरमा पैसा पठाउन नसकेपछि सम्पर्क विहीन भएर बस्ने गरेको पाएँ । अनि केहीले त उतै बिहे गरेका पनि रहेछन् । 
विदेश गएकाहरु सम्पर्कविहिन भए भने रमाइलोमा भुलिए भन्ने गरिन्छ, तर रमाइलो त एउटा मात्रै कारण हो । अरु पनि धेरै कारण छन् । 


(मोहन पौडेलले गरेको कुराकानीमा आधारित )

Source: Sajhasabal


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको