३९ घरधुरी दलितमा ‘दश सन्तान ईश्वका वरदान’ !

बिहिबार, ०६ माघ २०७३

गुल्मी– विगत केही बर्षयता सरकारले शिक्षामा लगानी बढाएको छ । विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा आकर्षण बढाउन विभिन्न किसिमका आकर्षक योजना समेत ल्याइरहेको छ । तर सरकारको यति धेरै प्रयासका बाबजुद पनि गुल्मीको एक दलित बस्तीको सिंगै गाउँमा अहिलेसम्म एक जनाले पनि एसएलसी पास गरेका छैनन भन्दा पत्यार नलाग्न सक्छ । तर बास्तविकता भने त्यस्तै छ ।

 


गुल्मीको जुनियाँ गाविसको एक वडामा रहेका ३९ घरधुरी दलित परिवारमा अहिलेसम्म एसएली पास गर्ने एक जना सदस्य पनि छैनन ।
जुनियाँ गाविस वडा नम्वर–८ चिदीपानी सालघारीका पुरै बिश्वकर्मा जातीका दलित समुदायमा अहिलेसम्म एसएलसी पास गरेका कोही नभएको स्थानिय दलित अगुवा नरबहादुर बिश्वकर्माले बताए ।

 

गाउँबाट एउटी किशोरीले यसैवर्ष एसएलसी दिदैछिन् । पास भएको खण्डमा उनले इतिहास रच्नेछिन् त्यो गाउँमा । दलित समुदायमै सवैभन्दा बढि पढेकी १७ वर्षिया निशा बिकले कक्षा १० मा पढ्दैछिन् र एसएलसी दिदै छिन् ।
जसका पिता बिरबहादुर बिक मलेसियामा ७ वर्षदेखि वेखवर छन् । श्रीमान वेखवर भएपनि उनकी आमा गीता बिकले मजदुरी गरेर छोरी निशा र छोरा विवेकलाई पढाउँदै आएकी छिन् ।


‘जसोतसो एसएसलीसम्म त पढाउनसक्छु त्यस पछि भने मेरो केहि सिप लाग्दैन’ निशाकी आमाले भनिन् ,‘निमेक मजदुरीकै भरमा पढाएकी छु ।’
स्थानिय तेजबहादुर बिश्वकर्माकी छोरी टिका बिश्वकर्माले ३ वर्ष अघि एसएलसीको परिक्षा दिएकी थिईन् तर उनि फेल भईन र पढ्नै छाडिन् । उनिसंगै मनकला बिक पनि फेल भईन् । चिदीपानी माध्यामिक विद्यालय उनिहरुको घरै नजिकमै छ । विद्यालय नजिकै भएपनि त्यो समूदायका वालवालिकालाई विद्यालय जानुपर्छ भन्ने भावना नै नभएको जुनतारा आमा समुहकी अध्यक्ष सुमा बिक बताउछिन् । त्यस गाँउमा करिव ३ सय जना दलित समुदायको बसोबास रहेको छ ।


ति मध्ये ५ वर्षमाथी १८ वर्ष सम्मका करिव ९० जना बालबालिका छन् । जसमध्ये ७२ जना चिदीपानी माध्यामिक विद्यालयमा र करिव १० जना स्थानीय बोर्डिङ्ग स्कुलमा पढ्दै आएको माध्यामिक विद्यालयका प्रधानध्यापक हरिबहादुर खत्रीले बताए । घर दैलो गरेर उनिहरुलाई भर्ना गरिए पनि पछि विद्यालय नआउने उनको भनाई रहेको छ ।

 


गरिवी अर्को कारण
३९ घरधुरीमा कुनै एक परिवारमा पनि ३ महिना भन्दा बढि खान पुग्ने जमिन छैन । प्रौढहरु विहानै उठेर अरुको मेलापातमा जान्छन् । जसले गर्दा पनि छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने थाहा भएपनि बाध्यताले पठाउन नसकेको जुनतारा आमा समुहकी सचिव जुना बिक बताउँछिन् ।

 

जुनियाकै वडा नम्वर ८ चिदीपानी गैराका नेपाली थरका ८ घरधुरी दलितहरुमा २ जना युवती छन् । मिनबहादुर नेपालीकी छोरी रिजन र रेजिना रुद्रवती क्याम्पस चोरकाटेमा कक्षा ११ मा पढ्दै छन् ।


वडानम्वर ९ को जाईदेउका दुई घरधुरी मध्ये क्षेत्रबहादुर परियारकी छोरी लालु परियारले स्नातक गरेकी छिन्् । उनकी अर्की छोरी लिलाले यसपाली एसएलसी दिदै छन् । जुनियामा सवै गरेर करिव ९० घरधुरी दलित परिवार छन् । तर एसएलसी उतिर्ण गर्ने ६÷७ जना पनि रहेका छैनन् । विशेष गरी छोरीहरुको १४ / १५ वर्षको उमेरमा विवाह गराईदिने चलन रहेकोले पनि उनिहरुले यसएलसी पास गर्न नसकेको त्यहाँका अगुवाहरु बताउँछन् ।


छोरी मात्र होईन एसएलसी पास गरेका बुहारी समेत नआउँदा कहिले काँही संघ संस्थामा जागिर गराउने अवसर पाउँदा पनि मान्छे दिन नसिकएको गाविसका दलित प्रतिनिधी नरबहादुर बिक बताउँछन् ।

 


‘दश सन्तान ईश्वका वरदान ’
त्यस गाउँका ६२ वर्षिय शशीधर सुनारले आफ्ना १० सन्तानलाई ईस्वरकै वरदान ठान्छन् । उनकी श्रीमति ५५ वर्षिया सेती बिकले ६ वटी छोरी र ४ छोरा जन्माईन् । उनिहरु सवै हुर्के बढेका छन् ।


‘दशै तिहारमा बिकको घरमा २५ जना त नाती नातिना मात्रै निम्तो मान्न आउने हुँदा घरभित्र खुट्टा राख्ने ठाउँ हुन्न र दलिनमा खाना पाक्छ आँगनमा राखेर खुवाईन्छ ’– उनका छोरा पुरन सुनारले भने–‘ चाडपर्वमा एउटा विवाहका जन्ती कै जति सख्या हुन्छ ।’


उनका ६ वटी छोरीमध्ये कान्छी सिताले कक्षा ८ पास गर्न पनि सकिनन् । विवाह गराई दिएपछि उनले स्कुल छाडिन् । उनकी अर्की छोरी सुमा बिकले पनि कक्षा ७ मात्रै पढेर विवाहपछि पढाई छाडिन् । अन्य ८ सन्तानहरुले कक्षा ५ भन्दा बढि पढ्न सकेनन् । सोही गाउँका ५८ वर्षिय विष्णु बिश्वकर्माले १४ जना सन्तान जन्माए । ७ को मृत्यु भयो कुपोषणका कारण । ७ जिवितमध्ये ७ वर्षिय कान्छा छोरा कुपोषणकै कारण सुस्त मनस्थितीका हुँदै गएका छन् । लडेर हात भाँचेका उनले आर्थिक अभावका कारण उचित उपचार पाउन सकेका छैनन् । ३९ घरधुरीमा प्राय धेरैको सन्तानको सख्या ७ भन्दा बढि नै रहेको छ ।


अझै पनि होटलमा चियाको गिलास मझ्दै
गरिवीले त्यहाँका दलितहरुलाई ठाडो शिर गराउन दिएको छैन् । जो जसकोमा निमेक मजदुरी गर्न जान्छन उनिहरु । खाएको भाँडा माझ्नु त सामान्य छ । यहाँसम्म कि होटलहरुमा खाएको चियाको गिलास उनिहरुले आफै माझ्छन् र माझ्न बाध्य पारिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको