गर्भावस्थामा कतिसम्म यौनसम्पर्क गर्न सकिन्छ – डा. राजेन्द्र भद्रा

मङ्गलबार, ०३ असोज २०७४

 

 डा. राजेन्द्र भद्रा

 

गर्भावस्थामा कतिसम्म यौनसम्पर्क गर्न सकिन्छ ? यस्तो अवस्थामा यौनसम्र्पक गर्नु हुन्छ कि हुँदैन ? यौनसम्पर्कबाट लिने आनन्द अरू कुनै उपायबाट लिन सकिँदैन ? अनि बढी हस्तमैथुनले केही असर गर्छ कि ?

तपाईंका सन्देशका आधारमा तपाईं विवाहित हुनुभएको अनुमान गरेका छौं र हस्तमैथुनको कुरा पनि विवाहित जीवनकै भन्ने मानेका छौं ।

 

गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?

गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई कुनै नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो तर यो प्रश्नको जवाफ भने सजिलै पाइने स्थिति छैन । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली

च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क गर्न नै अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क गरिएको पाइन्छ ।

तपार्इंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन्, तर मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन अर्थात् आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ र यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर पर्दैन ।

एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीले पहिलो केही महिनासम्म त गर्भ रहेको पनि थाहा पाउँदैनन् । कति पटक यौनसम्पर्क राख्न सकिन्छ भन्ने कुरा भने महिलाको इच्छामा छोड्नु बेस हुन्छ । गर्भवती महिलाले इच्छा गरेको तथा उनलाई कुनै असजिलो नभएको स्थिति छ भने यौनसम्पर्क राख्न परहेज गर्नुपर्ने कुनै कारण छैन । ध्यान पुर्‍याउनुपर्ने कुरा आफूलाई इच्छा लाग्यो भन्दैमा पुरुषले कुनै पनि किसिमको दबाब दिनु हुँदैन ।

 

गर्भावस्थामा किन यौनसम्पर्क राख्ने ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आकर्षण कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदिले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । गर्भ रहेका कारण यौनसम्पर्क नै नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यसबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ ।

अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छन् । गर्भावस्था कति महिनाको छ त्यसैअनुरूप केही फरक यौन आसन प्रयोग गर्नु श्रेयस्कर हुन्छ । यसमा फरक यौन आसनबाहेक अन्य सावधानी पनि अपनाउनुपर्छ । यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखे वा गर्भ तुहिन सुरु भएजस्तो अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क तत्काल बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ ।

 

हस्तमैथुनले कस्तो असर गर्ला ?

तपाईले किन यो प्रश्न गर्नुभयो, थाहा भएन । हस्तमैथुनले हानि गर्छ कि भन्ने चासो र चिन्ता धेरैलाई हुन्छ । विवाहित व्यक्तिले पनि विभिन्न परिस्थतिमा यौनचाहना शान्त पार्न यसको सहारा लिन्छन् । तपाईंलाई पनि थाहा भएकै कुरा हो कि यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौनअङ्गहरू एकआपसमा घर्षण गराइन्छ ।

 

मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौनअङ्गमा गराए मात्र यौन आनन्द प्राप्त गर्छ भन्ने होइन । सिद्वान्तत: सम्भोग गर्दा वा हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् । हस्तमैथुन गरे अनुहारमा दाग आउने, स्मरण शक्ति कम हुने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन् । यसमा तपाईंले कुनै पनि चिन्ता नलिए हुन्छ ।

 

बरु यसको फाइदा पो छ । अनेक भ्रम भए पनि हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ र उसको स्मरणशक्ति पनि बढ्छ । यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यवसायीसँगको यौनसम्बन्ध एवं यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगिन सकिन्छ ।

 

अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी नगर्ने भए पनि यसैसँग जोडिएर आउने हीनताबोधले समस्या उत्पन्न गराउन सक्छ । बुझ्नुपर्ने मुख्य कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि–नोक्सानी गर्दैन । कतिपय स्थानमा यो प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र त्यसमा प्रशस्त खर्च गर्ने–गराइन्छ, जुन आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे वा हीनताबोध गरे त्यसको भने नकारात्मक असर पर्न सक्छ ।

 

यौनसम्पर्क र हस्तमैथुनबाहेक पनि यौनसम्बन्धी दृश्यपान, ध्वनिपान, यौन साहित्यदेखि लिएर यौन संवेदनशील अङ्ग जस्तै स्तन वा नितम्बको स्पर्श वा मर्दन अनि यौन परिकल्पनाजस्ता कतिपय कुराबाट पनि यौन आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द लिनु भनेको जहिले पनि चरमसुख वा वीर्य स्खलनसम्म पुग्नु नै हो भनेर मान्नु आवश्यक छैन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको