स्वास्थ्य कार्यालय भित्र सुर्ति माड्छन सेवाग्राही, मुकदर्शक बन्छन् कर्मचारी

आइतबार, ०९ माघ २०७३

 

स्वास्थ्य सम्वन्धी हरेक नीति नियमको कार्यान्वयनमा अगुवाई गर्न रुचाउँने नवलपरासी जिल्ला स्वास्थ्य सुर्तिजन्य पदार्थ सम्वन्धी कानून कार्यान्वनय गर्न भने अहिलेसम्म चुकेको छ । जिल्लामा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसारका कुनै पनि प्रावधानको राम्ररी कार्यान्वयन हुन सकेको छैन् ।

 

ऐनले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गर्न बन्देज लगाएको छ । त्यस्तै ऐनले सरकारी कार्यालय, विद्यालय, धार्मिकस्थलका एक सय मिटर वरपर विक्री बिरतण गर्न समेत निशेध गरेको छ तर त्यसको समेत उलंघन भएको पाइएको छ ।

 

विक्रीवितरण निशेधित क्षेत्रमा निर्वाधरुपमा सुर्तिजन्य पदार्थको विक्री भईरहेको छ भने सेवन गर्न निशेध गरिएका क्षेत्रमा निर्वाधरुपमा सेवन भईरहेको पाइएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्मा भन्छन्, ‘अरु सबै नियममा नवलपरासी अगुवा भएर सफल कार्यान्वनय गराउँदै आएको हो तर सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कानून कार्यन्वयनमा कठिनाई भईरहेको छ ।’  उनले स्वास्थ्यका कार्यलयमा स्टिकर टाँगेर सेवन गर्न निशेध गरिएको दावी गरे तर उनकै कार्यलयमा कर्मचारीहरुले सुर्ती माडेर बसेको र सेवाग्राहीसंग सुर्ति बाँढेर सेवन गरेको देखिएको थियो ।

 

शर्माले तराई र त्यसमा पनि भारतको खुल्ला सिमानाका कारण सिमाक्षेत्रमा खुल्लारुपमा सुर्तिजन्य पदार्थ भित्रिएको र त्यसको नियन्त्रण गर्न गाह्रो भएको बताए ।

 

तिलकपुर गाविस खोकरपुराकी सामाजिक कार्यकर्ता सुनिता भट्टराईले सुर्तिजन्य पदार्थको सेवनकर्तालाई कहाँ बसेर खान पाइने वा नपाईने भन्ने बारेमा जानकारी नभएको बताइन् । ‘सचिवको कार्यकक्षमा सुर्ति माडिरहेका हुन्छन्, सर्वदलिय बैठकमा सहभागीहरुले निर्वाध रुपमा सुर्ति खाने र फाल्ने गर्छन् । नियममा यसलाई पूर्णरुपमा निशेध गरिएको छ,’ उनले भनिन् ।

 

तिलकपुर स्वास्थ्य चौकीका सीअहेव बाबुराम तिमल्सेनाले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि आफूहरुले प्रयास गरेपनि पूर्ण रुपमा ऐन कार्यन्वयन गराउन नसकिएको बताए । उनले आफूले देखेसम्म सुर्तिजन्य पदार्थको प्रयोग कर्तालाई सेवन गर्न रोक्ने गरेको बताए । यद्धपी आफ्नो प्रयास प्रभावकारी नभएको उनी आफैले स्वीकारे ।

 

मनरी स्वास्थ्य चौकीका सीअहेव ओमनारायण देवकोटाले गाविसमा सुर्तिजन्य पदार्थको नियन्त्रणसम्वन्धी जनचेतनामुलक कार्यक्रम अघि सारिएपनि प्रभावकारी नभएको बताए ।

 

स्वास्थ्यका निमित्त प्रमुख शर्माले अहिलेसम्म सुर्तिनियन्त्रण कार्यक्रम प्रभावकारी नभएपनि अवका दिनमा यसलाई प्रभावकारी बनाउने बताए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको