मिर्गौला चोरी प्रकरणमा अस्पतालमाथि पनि छानबिन गरिने, अस्पतालका उच्च अधिकारी र डाक्टरको मिलेमताेका अाशंका

बिहिबार, १७ जेठ २०७५

काठमाडौं-

मानसिक बिरामी युवकलाई झुक्याएर मिर्गौला निकाली अर्का व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा प्रहरीले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमाथि पनि छानबिन गर्ने भएको छ।

अस्पतालकै मिलेमतोमा नक्कली कागजपत्रका आधारमा मिर्गौला निकालिएको आशंका भएपछि प्रहरीले छानबिन गर्न लागेको हो। प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गाैला निकालेर चिन्दै नचिनेका मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो। बस्नेतलाई पक्राउ गरेर भक्तपुर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

गिरी थर्कबहादुरको छोरो भएको भन्दै नक्कली नागरिकता लगायतका नक्कली कागजपत्र बनाएर अस्पतालमा पेश गरिएको थियो। कागजपत्र बाहेक मिर्गाैला प्रत्यारोपणका लागि गर्नुपर्ने ४ किसिमका परीक्षणका क्रममा पनि अस्पतालको लापरवाही देखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न थप व्यक्तिहरु पक्राउ परेपछि अस्पतालको मिलेमतो रहे/नरहेको खुल्ने भक्तपुरका प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठ बताउँछन्।

‘अस्पतालको  लापरवाहीको पाटोमा पनि हामीले अनुसन्धान गर्छाैं’, उनले भने, ‘घटनाको हामीले विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौं। थप व्यक्तिहरु पक्राउ परेपछि अस्पतालमाथि छानबिन सुरु हुनेछ।’

बैसाख १० गते गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो। गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको हो। आशिष फरार रहेकाले धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

करिब २ महिनाअघिदेखि गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मिर्गौला निकालिएको उनका आफन्तले बताएका छन्।

गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो। लुगा लगाउने क्रममा आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो। त्यसपछि उनका आफन्त प्रहरीमा पुगेका हुन्। बस्नेतलाई केन्द्रबाटै पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको हो। प्रहरीमा उजुरी दिएपछि उनीहरुले जग्गा दिने भन्दै प्रलोभनमा पार्ने प्रयास गरेका थिए।
दाताबाट मिर्गौला झिक्नुअघि अस्पतालले चार किसिमको परीक्षण गर्नुपर्छ। शारीरिक रुपमा स्वस्थ छ कि छैन? दोस्रो, कानुनी रुपमा सबै कागजात सक्कली छन् कि छैनन्। तेस्रो, दान गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ छ कि छैन। चौथो, सर्जिकल रुपमा फिट छ कि छैन। जसमध्ये दुई वटा परीक्षणमा अस्पतालको लापरवाही देखिएको छ।

कानुनी रुपमा कागजपत्र राम्रोसँग हेरिएको छैन भने अर्काेतर्फ मानसिक स्वास्थ्यमा पनि अस्पतालले गलत रिपोर्ट बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको एक प्रहरी अधिकारीले बताए। जसअनुसार त्यसमा संलग्न चिकित्सक लगायत अस्पतालका अन्य कर्मचारीहरु समेत कारबाहीको भागीदार हुनेछन्।  

केन्द्रमा यसअघि भएका मिर्गौला प्रत्यारोपणमा नक्कली नाता प्रमाणीकरणका आधारमा धेरै खरिद–बिक्री हुनेगरेको सूचनामा पनि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको