सरकारले अनुमति नदिँदा सुनखानी साङ्बा सडक निर्माणमा ढिलाइ

आइतबार, ०३ असार २०७५

 

सरकारले रुख कटान अनुमति नदिँदा दोलखाको उपल्लो उत्तरी क्षेत्र जोड्ने मुख्य प्रवेश मार्ग सुनखानी—साङ्बा सडक निर्माणमा ढिलाइ भएको छ । ठेक्काको म्याद सकिन १ महिनामात्र बाँकि हुँदा पनि सरकारले रुख काट्न अनुमति नदिएपछि सडक निर्माणमा ढिलाइ भएको हो । सम्झौता अनुसार यही असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि उक्त सडकले अहिलेसम्म उल्लेख्य प्रगति हासिल गर्न नसकेको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ ।

 

भूकम्प आपतकालिन सहायता आयोजना अन्तर्गत एसियाली विकास बैंकको अनुदान सहयोगमा निर्माण हुन लागेको सुनखानी—साङ्बा सडकले ५६ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको छ । यो प्रगति न्यून भएको आयोजना कार्यान्वयन इकाइका इन्जिनियर नारायण शिवाकोटीले बताएका छन् । दोलखा सिंगटी सडकखण्डको भदौरे बजारबाट सुरु हुने उक्त सडक जिल्लाको उपल्लो उत्तरी क्षेत्रका लापिलाङ, लामिडाँडा, बाबरे, कालिञ्चोक, खोपाचागु, बिगु, आलम्पु र चिलंखा पुग्ने मुख्य मार्ग हो ।

२७ दशमलव ३७ किलोमिटर लम्बाई रहेको सडकको झण्डै ४१ करोड लागतमा २५ जुन २०१८ भित्र स्तरोन्नतिसहित ६ दशमलव २५ मिटरको चौडा बनाई शबवेस बिच्छाएर ग्राबेलिङ गरी काम सम्पन्न गर्ने सम्झौता अनुसार उक्त सडक निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवाले पाएको थियो । सम्झौता अनुसार आगामी असार मसान्त भित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म ५६ प्रतिशत मात्रै काम सकिएको छ ।

भूकम्प आपतकालिन सहायता आयोजना कार्यान्वयन इकाई दोलखाका इन्जिनियर नारायण शिबाकोटीले उक्त सडकले हालसम्म ९० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य भएपनि दुधपोखरी पहिरोले गत वर्षको जेठ देखिनै बाटो अवरुद्ध बनाएपछि वर्षात नसकिउन्जेल काम नभएकाले पनि केही ढिलाई भएको प्रतिक्रिया दिए । इन्जिनियर शिबाकोटीका अनुसार सरकारले रुख कटान अनुमति नदिएकाले पनि निर्माण कम्पनिलाई काम सम्पन्न गर्न असजिलो भएको हो ।

म्याद सकिन २७ दिन बाँकी, रुख कटान अनुमतिनै छैन
सुनखानी साङ्बा सडकमा ३ किलोमिटर वन क्षेत्र पर्दछ । तर सरकारले ठेक्काको म्याद सकिन एक महिना अर्थात २७ दिन मात्र बाँकी हुँदा पनि रुख कटानको स्विकृति नदिएको स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछानेले जानकारी दिए । निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्षसमेत रहेका लामिछानेले सडक क्षेत्रका रुख काट्न वन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने भएपनि अहिलेसम्म निर्णय नभएकाले सडक निर्माणमा ढिलाई भएको बताए । उनले समयमा कटान अनुमति पाएको भए तोकिएको समयभित्रै काम सकिने बताएका छन् ।

यता दोलखाका जिल्ला वन अधिकृत गोविन्दप्रसाद दाहालले डढ वर्ष अघिनै सो सडकको फाइल वन मन्त्रालय पठाइसकिएको बताएका छन् । उनले विकास निर्माणसँग सम्बन्धित फाइलहरु वनले रोकेर नराख्ने बताउँदै उक्त फाइल बुझाएलगत्तै वन मन्त्रालय पठाइएको जानकारी दिए । आयोजनामा परेको वन क्षेत्रका रुख काट्न मन्त्रिपरिषद बैठकले निर्णय गरी रुख कटान अनुमति दिने व्यवस्था छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको