अध्ययनविनानै दार्चुलामा १५ लाखको सडकले २ करोडको क्षति

बिहिबार, ०७ असार २०७५

 

दार्चुला । दार्चुलाका नौ ओटै स्थानीय सरकारहरुले यो वर्ष ४४ वटा ग्रामीण सडकहरु निर्माण गर्दै छन् । चुनावमा गरिएका बाचा पूरा गर्न र स्थानीयको सडकको माग सम्बोधन गर्न एउटै सरकारले १३ वटासम्म सडक निर्माणको योजना बनाएका छन् । तर ति कुनै पनि सडकको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन । हचुवाको भरमा जथाभावी सडक निर्माण गरिँदा शैल्यशिखर नगरपालिकामा १५ लाख रुपैयाँ बजेटको बगौरा-आगर सडकले झण्डै दुई करोडको क्षति गरेको छ ।

१३ सडक निर्माणको योजना बनाएको शैल्यशिखर नगरपालिकाले १० सडकको निर्माण कार्य सुरु गरेको छ । तीन सडक आगामी आर्थिक वर्षबाट सुरु हुनेछ ।

 

त्यसैगरी ११ सडक निर्माणको योजना बनाएको मालिकार्जुन गाउँपालिकाले यो वर्ष ६ सडकको निर्माण कार्य सुरु गरेको छ भने बाँकी अर्को आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाले ६/६ सडक निर्माणको योजना बनाई कार्यान्वयन गर्दैछन् । मार्मा गाउँपालिकाले ४, दुहुँले २ र लेकम गाउँपालिकाले १ सडक कार्यान्वयनमा ल्याएको छ ।

यसरी जिल्लामा ४४ सडक निर्माण गरिन लागेका भएपनि कुनै पनि सडकको वातावरणीय अध्ययन भने गरिएको छैन । डीपीआरको नाममा लागत स्टिमेट, लाभान्वित घरधुरी, कूल खर्च, दुरी आदिको मात्रै अध्ययन गरिएको तर वातावरणीय अध्ययन नै नगरिएको स्वयम् स्थानीय सरकारहरुले स्वीकार गरेका छन् ।

कुनै पनि विकास निर्माण गर्दा वातावरणीय अध्ययन गर्नै पर्ने प्रावधान रहेको भएपनि ४४ सडक निर्माण कार्य सुरु हुँदा वातावरणीय अध्ययन नगरिनुले यसको प्रभावकारीता र यी सडकहरुले निम्त्याउन सक्ने समस्यातिर स्थानीय सरकारहरु गम्भीर नभएको देखिन्छ ।

 

१५ लाखको सडकले २ करोडको क्षति

सडक निर्माणले वातावरण तथा अन्य क्षेत्रमा पार्ने असरको अध्ययन नगरी सडक निर्माण गरिँदा कस्तो परिणाम आउँछ भन्ने परिणाम देखिन सुरु भइसकेको छ ।

निर्माणाधीन शैल्यशिखर नगरपालिकाको बगौरा-आगर सडकले झण्डै २ करोडको क्षति पुर्‍याएको छ । सडक तल पर्ने सिँचाइ नहर र सो क्षेत्रमा रहेको पानीको मुहानमा समेत असर पुगेको मात्रै छैन वस्तीसम्म पानी पुर्‍याउन निर्माण गरिएको करोडौं लगानीको वृहत खानेपानीको लाइनमा समेत क्षति पुगेको छ ।

‘१५ लाखको सडकले २ करोडको क्षति गरेको छ । वृहत् अध्ययन नगरी निर्माण गरिएको सडकले आफ्नो प्रभाव देखाएको छ,’ शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले भने ।

 

ऐरिछना सडक निर्माणका कारण सो क्षेत्रमा पहिरो जाने र महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

११ सडक निर्माणका योजना बनाएको मालिकार्जुन गाउँपालिकाले २ सडकको काम आधा बनाएको छ भने ४ सडक निर्माणको तयारीमा छ तर यी सडकहरुको वातावरणीय अध्ययन भने गरिएको छैन ।

काम छिटोछरितो गर्नुपर्ने र आवश्यक जनशक्तिको अभावमा वातावरणीय अध्ययन गर्न नसकिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी बताउँछन् ।

व्ातावरणीय अध्ययन आवश्यक भएपनि नगरपालिकाले यस्तो अध्ययन गर्न नसकेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट बताउँछन् । मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले पनि निर्माणाधीन २ सडकको वातावरणीय अध्ययन नगरेको बताउँछन् । बाँकी २ सडकको भने वातावरणीय प्रभाव अध्ययन गरेपछि मात्रै निर्माण सुरु हुने उनी बताउँछन् ।

सरोकारवाला निकाय मौन

व्याँस, अपिहिमाल, दुहूँ, मार्मा र नौगाढ पूरै तथा महाकाली नगरपालिकाका २ वडा अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्दछन् । यी गाउँपालिका र नगरपालिकाका २ वडाको प्राकृतिक स्रोतको व्यवस्थापनको जिम्मेवारी संरक्षण क्षेत्रको छ । सडक मात्रै नभएर अन्य निर्माणले प्राकृतिक स्रोतमा पार्ने र वातावरणमा पार्ने असरप्रति संरक्षण क्षेत्र सचेत हुनु पर्ने हो । तर, अहिलेसम्म संरक्षण क्षेत्रले कुनै पनि स्थानीय सरकारलाई यसका लागि पत्राचार गरेको छैन ।

केही महिना पहिले नौगाढ गाउँपालिकाले होपरी-सिप्टी सडक निर्माण गर्दा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत पेम्वा शेर्पाको नेतृत्वमा औजारहरु नियन्त्रणमा लिइएको बाहेक संरक्षण क्षेत्रभित्र पर्ने विकास निर्माणलाई कसरी पर्यावरण मैत्री बनाउने बनाउने भन्नेबारे औपचारिक पत्राचार गरेको छैन ।

अपिनाम्पाले पनि मनोमानी गरेको स्थानीयको आरोप छ । नौगाढमा सडक निर्माण गर्दा औजारहरु नियन्त्रणमा लिने अपिनाम्पाले संरक्षण क्षेत्रभित्रै पर्ने दुहुँ, मार्मा र महाकाली नगरपालिकाको वडा नम्बर २ मा सडक निर्माण गर्दा मौन बसेको स्थानीयहरु बताउँछन् ।

जिल्ला वन कार्यालयले औपचारिक रुपमा वातावरण प्रभाव मूल्याङ्कन अध्ययनपछि मात्रै सडक बनाउन स्थानीय सरकारहरुलाई पत्राचार गरेको छैन

संरक्षण क्षेत्रको उपभोक्ता समिति र जिल्ला परिषद बैठक तथा अन्य छलफल कार्यक्रमहरुमा वातावरणीय अध्ययन गरेर मात्रै भौतिक निर्माण गर्ने गर्नुपर्दछ भनेर बताउँदै आएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए । उनले स्थानीय सरकारहरुले वातावरणीय अध्ययनका लागि प्रस्ताव ल्याए जनशक्तिले भ्याएसम्म आफूले सहयोग गर्ने उनले बताए ।

जिल्लाका अन्य क्षेत्रको वन क्षेत्र जिल्ला वन कार्यालयको कार्यालय क्षेत्रभित्र पर्दछ तर जिल्ला वन कार्यालयले औपचारिक रुपमा वातावरणीय अध्ययनपछि मात्रै सडक बनाउन स्थानीय सरकारहरुलाई पत्राचार गरेको छैन । ‘वातावरणीय अध्ययन गर्नु अनिवार्य नै हो । स्थानीय सरकारहरुले हामीले यो गर्नै पर्दछ । जिल्ला वन कार्यालय पर्यावरणीय, वातावरणीय अध्ययन गर भनेपछि मात्रै गर्ने होइन,’ जिल्ला वन अधिकृत सन्जय तिवारीले भने ।

दुई गाउँपालिका सडकविहीन !

दार्चुला जिल्लाका दुई गाउँपालिकाले ठूला सडकका योजना तय गरेका छैनन् । ठूला सडकको योजना नबनाउनेमा व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिका रहेका छन् ।

यी दुई गाउँपालिकालाई कुनै सडकले पनि छोएका छैनन् । व्याँस गाउँपालिमा दार्चुला-तिंकर सडकको सर्भे हुने काम पूरा भएपनि वर्षौंदेखि यो सडक बन्न सकेको छैन भने अपिहिमाल गाउँपालिकालाई जोड्ने पारिवगड मकरिगाड सडक निर्माणको गति निक्कै सुस्त छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको