के हो स्तन जोगाएर गरिने शल्यक्रिया ? कसरी गरिन्छ ?

आइतबार, १० असार २०७५

 

स्तन क्यान्सर भएको थाहा पाएपछि अधिकांश महिलाहरु आफ्नो महत्वपूर्ण अंग गुम्ने भयो, शारीरिक सुन्दरता बिग्रने भयो भनेर चिन्ता गर्छन्। तर, स्तन जोगाएर पनि उपचार गर्न सकिन्छ, जुन विधि नेपालमा पनि सुरु भइसकेको छ। स्तन जोगाएरै गरिने स्तन क्यान्सरको उपचार विधि एक वर्षअघि देखि नै नेपाल क्यान्सर अस्पतालमा सुरु भइसकेको छ।

 

स्तन क्यान्सर हुने उमेर समूह हेर्दा विकसित देश र नेपालमा केही फरक पाइएको छ।विदेशी मुलुकका महिलामा ५० वर्षभन्दा बढी उमेर समूहका महिलामा स्तन क्यान्सरको समस्या देखिने गरेको छ। तर नेपालमा ५० वर्षभन्दा कम उमेर समूहमा पनि देखिएको छ।अस्पतालमा उपचार गर्न आएका बिरामीको आधारमा हेर्दा ४० देखि ५० वर्ष उमेरका महिला बढी छन्।

 

विकसित देशका महिलाहरु ५० वर्षभन्दा माथिको उमेरमा क्यान्सर देखियो भने पनि स्तन बचाएरै उपचार गराउँन चाहन्छन्। तर नेपालमा भने स्तन काटेर फाल्ने गरिन्छ। हाम्रो अस्पतालमा उपचारका लागि आउने ४० प्रतिशत महिला ५० वर्ष मुनिका छन्। नेपालमा ३२–३३ वर्षकै उमेर स्तन क्यान्सर भएर स्तन फाल्नुपर्ने अवस्थालाई हामीले परिवर्तन गरेका छौं।हामीले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका उपचार पद्दतिलाई नेपालमा पनि ल्याउनुपर्छ भनेर स्तन जोगाएरै उपचार थालेका छौं। यो उपचार पद्दति सुरु भएको ६ महिनाको अवधिमा ५३ वटा स्तन क्यान्सरको उपचार गरेका छौं।जसमा २१ जनाको स्तन बचाउँन सफल पनि भइसकेका छौं।

 

तर नेपालमा स्तन बचाएरै उपचार गर्न सकिन्छ भन्ने जानकारी छैन।नेपाली चिकित्सकलाई पनि यो विषयमा खासै जानकारी छैन। हामीले २१ जनाको स्तन बचाएरै क्यान्सरको उपचार ग¥यौं भन्दा पत्याउन कोही तयार छैनन्।

 

स्तन क्यान्सरको उपचारमा आएको नयाँ प्रविधि तथा उपचार पद्दतिलाई नेपालमा पनि भित्र्याउनु पर्छ भनेर हामीले बेलायतबाट विज्ञ बोलाएर नै सुरुवात गरेका हौं। हामीले नेपालमा स्तन क्यान्सरको उपचारमा संलग्न चिकित्सकलाई पनि सहभागी गराएर यस विधिबारे जानकारी दिएका थियौं।

 

यसरी गरिन्छ उपचार 
हामीले स्तन क्यान्सरपीडित महिलाको उपचारसँगै मानसिक पीडा पनि कम गराउँन स्तन जोगाएरै उपचार सुरु गरेका छौं।सबै प्रकारका स्तन क्यान्सरलाई काटेरै फाल्नुपर्छ भन्ने हुँदैन। हामी ट्युमरलाई मात्रै निकालेर स्तन बचाउँने काम गर्छौं।हाम्रो अस्पतालमा फ्रोजन टेस्ट गर्ने यन्त्र छ।जसले गर्दा ट्युमर निकालेर उतिखेरै क्यान्सर बाँकी छ, छैन हेर्न सक्छौं।त्यसका लागि सुरुमा ट्युमर निकाल्छौं, अलिकति मासु पनि निकाल्छौं र ल्याबमा पठाउँछौं।यो प्रक्रियालाई फ्रोजन सेक्सन भनिन्छ।

स्तनबाट निकालिएको ट्युमर र मासुको भाग परीक्षण गर्छौं। ट्युमर क्यान्सर छ– छैन पत्ता लगाउँछौं। ट्युमरमा क्यान्सरका तत्व देखियो भने फेरि स्तनभित्रको एकपत्र भाग काटेर निकाल्छौं।यसका लागि २० देखि ४० मिनेट समय लाग्छ।

 

सबैभन्दा पहिला क्यान्सर भएको क्षेत्र वा तन्तु पत्ता लगाउँछौं। परीक्षणका क्रममा क्यान्सर भएको भाग कति छ भन्ने पत्ता लगाउँछौं।क्यान्सर भएको भाग ठूलो छ भने त्यसलाई औषधिमार्फत् सानो बनाउँछौं। यदि स्तनको सानो भागमा मात्रै क्यान्सर भएको छ भने सुरुमा नै शल्यक्रिया गर्छाैं। संसारमा ८० देखि ९० प्रतिशत महिलाको स्तन बचाएर उपचार गर्न सकिन्छ।

 

तर नेपालमा दुई प्रतिशतलाई पनि स्तन जोगाएर उपचार गर्ने गरिएको छैन।नेपालमा यो विषयमा जानकारी भएको र ज्ञान भएका विशेषज्ञ कम छन्। तर पनि हामीले राम्रो उपचार पद्दति ल्याएर स्तन क्यान्सरको उपचारलाई राम्रो बनाउने प्रयास गरिरहेका छौं।यो नयाँ उपचार पद्दति भएकाले बिरामीलाई पनि बुझाउन गाह्रो छ। बिरामीले उपचारको विषयमा पहिला नै थाहा पाउन जरुरी हुन्छ।त्यसैले हामीले एक बिरामीलाई आधादेखि एक घण्टासम्म समय दिएर परामर्श गर्छौं। हामीले बिरामीलाई उनीहरुको रोगको अवस्था, उपचार विधि र खर्चबारे सबै कुरा राम्रोसँग बताउँछौं।

 

स्तन क्यान्सरको कुनै स्टेज हुदैन।यसमा ‘अर्ली ब्रेष्ट क्यान्सर’ र ‘लोकल्ली एड्भान्स ब्रेष्ट क्यान्सर’ भनिन्छ।लोकल्ली एड्भान्स ब्रेष्ट क्यान्सरमा दुई प्रकार हुन्छ।जसलाई अप्रेबल र नन–अप्रेबल भनिन्छ।स्तन क्यान्सरको भाग सानो छ भने सुरुमै अप्रेशन गर्न मिल्छ। यदि ठूलो छ भने किमो चलाउने साइज घटाउने र अप्रेशन गर्ने नै उपाय हो।

 

विदेशमा यस्तो तरिकाले स्तन क्यान्सरको उपचार हुन थालेको करिब ३० वर्ष भइसकेको छ।यी अवधिमा भएका उपचार पद्दतिले प्रमाणित गरिसकेको छ– पूरै स्तन फालेर र स्तन जोगाएर गर्ने अप्रेशनले मानिसको आयुमा कुनै फरक पदैन।

 

स्तन क्यान्सरको उपचारपछि स्तन पुनर्निर्माणको काम पनि गरिन्छ।स्तनमा स–साना ट्युमर छन् भने पुनः बनाउनुपर्दैन, मिलाइन्छ मात्र। यदि ठूलो ट्युमरको कारण दुवै स्तनको साइज फरक–फरक छ भने त्यसलाई मिलाउनुपर्ने हुन्छ। स्तनको साइज नमिल्दा हामीले बिरामीकै ढाड, तल्लो पेट आदिको मासुलाई निकालेर पनि स्तनको साइजलाई सुहाउने किसिमले बराबर बनाउँछौं। त्यसलाई अंकोप्लास्टिक ट्रिटमेन्ट भनिन्छ।

स्तनको बनावटलाई पहिलाको जस्तै आकर्षक बनाउन शरीरमै भएको बोसोलाई मात्रै पनि राख्न सकिन्छ, त्यो सजिलो तरिका पनि हो। तर नेपालमा त्यस्तो प्रविधि आइसकेको छैन।बिस्तारै ल्याउने प्रयास गर्नेछौं। यस्तै स्तन काटेर फालेको ठाउँमा सिलिकन पनि राख्न सकिन्छ, तर त्यो महंगो छ।त्यसैले हामीले बिरामीकै मासु नै राखिदिन्छौं।सामान्य रुपमा स्तन बचाएर क्यान्सरको उपचार गर्न धेरै महंगो पनि छैन।

(डा. शाक्य नेपाल क्यान्सर अस्पतालका स्तन क्यान्सर सर्जन हुन्)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको