पुरुष अण्डकोष र सन्तान उत्पादन

बिहिबार, २१ असार २०७५

 

मेरो भाइ २५ वर्षको भयो । उसको एउटा मात्र अण्डकोष (teste) छ । मेरो भाइ विवाहपछि बुबा (Father) बन्न सक्छ कि सक्दैन ? 

                                                                              -एबीएस

 

सर्वप्रथम भाइको समस्या चासो राखेर पत्र पठाउनुभएको कुरामा तपाईंको प्रशंसा गर्नै पर्ने हुन्छ । हुन त तपाईंको भाइ आफैं वयस्क भैसक्नु भएको छ र उहाँ आफ्नो समस्याका सम्बन्धमा आफैं प्रश्न सोध्न सक्ने स्थितिमा पनि हुनुहुन्थ्यो होला, तर कतिपयलाई आफ्ना यौन समस्याका बारेमा जिज्ञासा राख्न असजिलो लाग्न सक्छ, त्यसैले तपाईंको यो पहलले पक्कै उहाँलाई सहयोग गर्नेछ । 

 

अण्डकोष (teste) के हो ?

अण्डकोष पुरुषमा भएको एउटा प्रमुख प्रजनन अंग हो । पुरुषमा बन्ने मानव प्रजननकोष, जसलाई हामी शुक्रकीट भन्छौं, त्यसको उत्पादन यही अंगमा हुन्छ । अण्डकोष लिंगको फेदनजिक झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र भएको अलि चेप्टो अण्डाकारको अंग हो । पुरुषमा यो दायाँ र बायाँ गरी दुईवटा हुन्छन् । यस्तै १० देखि १४ ग्राम तौलको यो अंगको आयतन सामान्यतया: ४x३x२  दशमलव ५ सेन्टिमिटर हुन्छ । अण्डकोषभित्र थुप्रै स–साना नली आकारका अंग (seminiferous tubules)  हुन्छन् र यहीं नै शुक्रकीटको उत्पादन हुन्छ, तर यहाँ बनेका शुक्रकीट परिपक्व भैसकेका हुँदैनन् । अण्डकोषसँगै रहेको अंग epididymis को यात्रा गर्ने क्रममा शुक्रकीटले परिपक्वता हासिल गर्छ अर्थात् महिलाको डिम्बलाई निषेचित गर्न सक्ने तथा गति लिन सक्ने क्षमता हासिल गर्छ । 

 

शुक्रकीट उत्पादनबाहेक अण्डकोषको अर्को महत्वपूर्ण कार्य पुरुष रागरस testesterone (हार्मोन) उत्पादन गर्नु हो । यही रागरसले नै पुरुषमा सहायक यौन चिह्नहरू (secondary sexual characters) को विकास गराउँछ । तपाईंको भाइको शरीरमा दाह्री–जुँगा, काखी तथा यौनाङ्ग वरिपरि रौं आउनु, मांसपेशीमा वृद्धि हुनु, छाती तथा काँध चौडा हुनु, स्वर धोद्रो हुनु जस्ता कतिपय कुराको विकास कस्तो छ, पत्रमा उल्लेख छैन । 

 

अण्डकोष नहुने कारण ?

यदि अण्डकोष थैलीमा अण्डकोष छैन भने त्यसका निम्न सम्भावना हुन सक्छन् । अण्डकोषको विकास नभएको हुनसक्छ । अण्डकोष सुकेको हुनसक्छ । अण्डकोष पूर्ण रूपमा नझरी काछतिर अड्किएको हुन सक्छ । त्यसैगरी यो राम्रोसँग नझरी पेटभित्रै हुनसक्छ । कुनै–कुनै बालकमा अण्डकोष भए पनि छाम्दा नभेटिन सक्छ, जसलाई retractile testis भनिन्छ । 

 

यसको उपचार किन आवश्यक छ ?

राम्रोसँग अण्डकोषको विकास हुनु तथा शुक्रकीट उत्पादन हाम्रो शरीरको भन्दा कम तापक्रम आवश्यक हुने भएकाले अण्डकोष थैलीमा अण्डकोष हुनु आवश्यक छ । अण्डकोष थैलीले अण्डकोषको ताप नियन्त्रणमा मद्दत गर्छ । अध्ययनहरूले अण्डकोष नझरेका व्यक्तिहरूमा बाँझोपन हुने सम्भावना बढी भएको देखाएका छन् । एउटा मात्र अण्डकोष झरेका व्यक्तिहरूको वीर्य परीक्षण गर्दा शुक्रकीटहरू तुलनात्मक रूपमा दुवैवटा अण्डकोष भएका व्यक्तिहरूको भन्दा केही असामान्य अवस्थामा भएको पाइएको छ । अध्ययनहरूले तुलनात्मक रूपमा वयस्क भएपछि क्यान्सरको सम्भावना पनि बढ्ने जनाएको छ ।

 

बाल्यवस्थामै दुवै अण्डकोष छ/छैन, जतिसक्दो चाँडो पत्ता लगाई आवश्यक भए उपचार गराउनुपर्छ । त्यसैले प्रत्येक आमा–बाबुले सन्तान जन्मिएपछि उसको अण्डकोष छ/छैन, छामेर पत्ता लगाउनु उनीहरूको कर्तव्य पनि हो । सामान्यतया: ४ देखि ६ वर्षको उमेरमा यसको उपचार गराउने मान्यता भए पनि अचेल एक वर्ष भन्दा पनि पहिले नै उपचार गराउनु राम्रो मानिन्छ । 

 

के एउटामात्र अण्डकोष भएकाहरू पिता बन्न सक्छन् ?

एउटा मात्र अण्डकोष हुनु भनेको बाँझो हुनु चाहिँ पक्कै होइन । यो कुरा एक मात्र अण्डकोष भएका व्यक्तिबाट उत्पादित वीर्यमा भएको शुक्रकीटको मात्रा र गुणमा भर पर्छ । सामान्यभन्दा कम शुक्रकीट भए गर्भधारण गराउन असजिलो हुनसक्छ । त्यसैगरी सामान्य रंगरूप र गति भएका शुक्रकीटको मात्रा कति छ भन्ने पनि हेर्नुपर्छ । वीर्य परीक्षण गरेर यी कुरा सजिलै थाहा पाउन सकिन्छ । वीर्य जाँच गराउन निम्न कुरामा ध्यान दिनु आवश्यक छ । चिकित्सकहरूले संकोचका कारण यी कुरा स्पष्ट नभनिदिँदा परीक्षणको नतिजा ठीक नहुने सम्भावना हुन्छ ।

 

 परिक्षण मितिभन्दा यस्तै चार–पाँच दिन पहिलेदेखि वीर्य स्खलन भएको हुनुहुँदैन । धेरैजसो परिस्थितिमा प्रयोगशालामै हस्तमैथुन गरेर वीर्य निकाल्नु उपयुक्त हुन्छ । वीर्य स्खलन भएको जतिसक्दो चाँडो वा यस्तै आधा घण्टाजतिमा परीक्षण गराउनु उपयुक्त हुन्छ । वीर्य स्खलन भएको दुई घण्टाभन्दा पछि परीक्षण गर्दा नतिजा बेठीक आउन सक्छ । यसरी संकलन गरिएको वीर्यका नमुना नराम्रो भएको खण्डमा एक–एक महिनाको फरकमा तीन पटकसम्म जँचाउनु पर्ने हुनसक्छ ।

 

यदि सहायक यौनचिह्नरू पनि ठीक छन् भने रागरसको अवस्था सामान्य रहेको कुरालाई नै बल पुग्छ । वीर्य परीक्षणको नतिजा पनि राम्रो भए सन्तान उत्पादनका बारेमा चिन्ता गर्नुपर्ने स्थिति हुँदैन ।

 

विवाहपछि श्रीमतीमार्फत् जैविक पिता हुनु एउटा पक्ष हो । वीर्यमा शुक्रकीट नै नभएको स्थितिमा पनि कृत्रिम गर्भाधानदेखि धर्मपुत्र वा पुत्री पाल्नेसम्मका अनेक उपाय छन्, जहाँ तपाईंको भाइले पिताको भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्ने कुरा बिर्सनु भएन


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको