डा. केसीको स्वास्थ्य गम्भीर : अत्यावश्यक औषधि पनि खान मानेनन्

मङ्गलबार, २६ असार २०७५

 

आइसियू चाहिने अवस्था, तर जुम्लामा छैन –

१० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै गएको हो । अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए ।

 

‘डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ, बचाउनका लागि जुनसुकै वेला आइसियू आवश्यक पर्न सक्छ,’ डा. गिरीले भने, ‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’

आइतबारसम्म अलिअलि बोलेका र रेस्टरुमसम्म हिँड्न सकेका डा. केसी सोमबारबाट सिकिस्त भएको चिकित्सकको भनाइ छ । उपचारमा संलग्न चिकित्सकले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।

 

केसीको स्वास्थ्य रिपोर्ट

-छातीको बीचभागमा अत्यधिक दुखाइ
-कमजोरीका कारण चक्कर लाग्ने
-शरीरका मांसपेशी बाउँडिने
-पिसाबमा किटोन बढी
-सेतो रक्तकोषिका क्रमिक रूपमा घट्दै
-रगतमा चिनीको मात्रा कम हुँदै
-मुटुको चाल तलमाथि
-मुटुले काम गर्न बन्द गर्न सक्ने अवस्था

उपचार अवस्था

-२४ घन्टा चिकित्सकहरू निगरानीमा

-ग्लुकोज लिन नमानेका कारण ग्लुकोज नभएका अन्य आइभी फ्लुडहरू दिइँदै ।

-आवश्यकताअनुसार अक्सिजन दिइँदै ।

मन्त्रालयले खटाएका चिकित्सक जुम्लामै
केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सकले भने जितसक्दो चाँडो काठमाडौंको सुविधासम्पन्न अस्पतालमा ‘एयरलिफ्ट’ गर्नुपर्ने सुझाब दिंँदै आएका छन् । उनीहरूसँग केसीले उपचार गर्न नमानेपछि जुम्लामै बसेर निगरानी गरिरहेका छन् ।

आफूहरू निरन्तर केसीको निगरानीमा खटिएको डा. जीवन थापाले बताए । ‘हामी केसीको उपचारमा संलग्न चिकित्सक टोलीसँग निरन्तर सम्पर्कमा छौँ, सरसल्लाहमै केसीको उपचार भइरहेको छ,’ डा. थापाले भने, ‘हामी केसीको स्वास्थ्यप्रति निकै चिन्तित छौँ, केसीको माग पूरा गर्नुभन्दा पहिलो कर्तव्य उनको जीवन रक्षा हो ।’

वीर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक थापा र डा. सुभाष रेग्मीलाई गत बिहीबार मन्त्रालयले जुम्ला पठाएको थियो । उनीहरूको वास होटेलमा छ ।

 

काठमाडौंमा कलेज खोले बाहिरका बन्द हुन्छन्
डा. केदारनरसिंह केसी
पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
–एउटा मेडिकल कलेजका लागि विद्यार्थी पढाउन २ सय विशेषज्ञ चिकित्सक आवश्यक पर्छ । चारवटा मेडिकल कलेज उपत्यकामा खोले ८ सय चिकित्सक पढाउन मात्रै चाहिन्छ । उपत्यकाबाहिरका मेडिकल कलेजमा पढाउँदै आएका विशेषज्ञ चिकित्सक बोलाउनुको विकल्प हुँदैन । यो अवस्थामा उपत्यकाबाहिरका मेडिकल कलेज चल्न सक्दैनन् ।

–काठमाडौंमा एक चिकित्सकको भागमा २ सयदेखि २ सय ५० बिरामी मात्रै पर्छन् । तर, दुर्गममा कार्यरत एक चिकित्सकको भरमा १६ हजार बिरामीको स्वास्थ्य हेर्ने जिम्मेवारी छ । नेपालमा २२ हजार चिकित्सक उत्पादन भए पनि करिब ११ हजार चिकित्सक मात्रै स्वदेशमा कार्यरत छन् । जसमध्ये करिब ७ हजार चिकित्सक काठमाडौंमै छन् । वीर अस्पताल, शिक्षण अस्पताल र गंगालालको सेवा दुर्गममा पु-याउनुपर्छ ।

काठमाडौंमा स्वास्थ्य संस्था र चिकित्सक

-काठमाडौंमा मात्रै ३५ सय बेड संख्या छन् ।

-दर्ता भएका स्वास्थ्य संस्था मात्रै १ हजार छन् ।

-दर्ताको प्रक्रियामा रहेका करिब ९ सय स्वास्थ्य संस्था छन् ।

-८ वटा मेडिकल कलेज छन् ।

-केन्द्रीय अस्पताल ६ वटा छन् ।

-नर्सिङहोम ५१ देखि १०० बेडका २५ वटा छन् ।

-नर्सिङहोम १०० देखि २०० बेडसम्मका २ वटा छन् ।

-काठमाडौंमा मात्रै ७ हजार चिकित्सक छन् ।

-काठमाडौंमा १ चिकित्सकको भागमा २५० बिरामी पर्छन् ।

 

माथेमा कार्यदलले गम्भीर त्रुटि गरेको छ
प्रा.डा. धर्मकान्त बास्कोटा
अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
–माथेमा कार्यदलको प्रतिवेदनअनुसार अहिले अगाडि बढ्न हुँदैन । धेरै विषय राम्रा छन् । तर, विद्वान् व्यक्तिले बनाएको प्रतिवेदनमा सबै मेडिकल कलेजलाई एउटै दृष्टिले हेरिनु गम्भीर गल्ती भयो । प्रतिवेदनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सबै निजी मेडिकल कलेजलाई एउटै क्याटागोरीमा राख्नु आश्चर्यजनक छ । तीन वर्षअघिको अवस्थालाई टेकेर विवाद गर्नुभन्दा वर्तमान अवस्थालाई हेरेर टीकाटिप्पणी गर्न राम्रो हुन्छ ।

–बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले एमबिबिएसमा १ सय ३५ सिट पाउँदै आएको थियो । नेपालमा त्यहाँको जस्तो गुणस्तरीय पढाइ अन्त छैन । तर, माथेमा कार्यदलले अनेक बहाना देखाएर त्यसलाई पनि कामै नलाग्ने मेडिकल कलेजको सूचीमा राखेर अन्याय गरेको छ । हाल बिपी पनि १ सय सिटमा झरेको छ । सन् २०१५ देखि २०१८ सम्म आइपुग्दा मेडिकल कलेजहरू धेरै परिवर्तन भएका छन् । प्रतिवेदन तयार पार्दा अति खराब, अखराब र ठिक्क भनेर वर्गीकरण गर्नुपथ्र्यो ।

 

Source: Enayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको