कपडामा हालिने रसायन संगम स्विट्सको मिठाइमा

बुधबार, १७ असोज २०७५

 

काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा मंगलबार फेला परेको त्यो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ ।

 

राजधानीको नयाँ बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो ।

मिठाइमा हाइड्रो-१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

 

खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा त्यो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले गोदाम बन्द गरेको छ । अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको पनि सहभागिता थियो ।

 

त्यसैगरी शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्छ ।


- रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको