एमबीबीएस नि:शुल्क भन्दै १५ लाख असुल्दै : विराट मेडिकल कलेज

शुक्रबार, २८ मङि्सर २०७५

 

काठमाडौँ । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा नि:शुल्क एबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले नि:शुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।

 

काठमाडौं विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ । यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

 

‘होस्टलमा नबस्दा, मेसमा नखाँदा एड्मिसन हुन्न भन्छन्,’ छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहनदार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो ?’

 

नि:शुल्क छात्रवृत्तिका लागि विराटमा पढ्न चयन भएका पोखराका कुलदीप तिमिल्सिनाले भने, ‘त्यति महँगो पर्ने होस्टल अनिवार्य नहुनुपर्ने हो, सरकारको नि:शुल्क छात्रवृत्तिमा यतिको शुल्क नलाग्नुपर्ने हो ।’

 

नि:शुल्क छात्रवृत्ति पाएका सल्यानका कृष्ण डीसीले भर्ना गर्ने बेला अन्य सस्तो ठाउँमा बस्छु भन्दा कलेजका अधिकारीहरूले नमानेको बताए । ‘यहाँ होस्टलमा अनिवार्य रूपमा बस्न भनिएको छ । अन्य शुल्क पनि बढी छ । अरू कलेजमा यस्तो छैन ।’

 

विराटले इन्टर्नसिप फी भनेर पहिलो वर्ष १ लाख, दोस्रो वर्ष ५० हजार र तेस्रो वर्ष ५० हजार रुपैयाँ गरी जम्मा दुई लाख रुपैयाँ तिर्न भनेको झाले बताए । यस्तै केयू रजिस्ट्रेसन १५ हजार, एमएमसी रजिस्ट्रेसन ३ हजार, एक्जाम फी इन्टरनल १ लाख ३० हजार ६ सय ८०, एक्जाम फी केयू ३६ हजार, फिल्ड भिजिट ९३ हजार ४ सय ३६, एमिनिटिज एन्ड मेटेरियल ७० हजार २ सय ७७, मेडिकल इन्स्योरेन्स १५ हजार ८ सय १५, एक्स्ट्रा करिकुलर एक्टिभिटी ३५ हजार ९ सय ३७ र इन्टर्नसिप फी गरी जम्मा ६ लाख १ सय ४५ रुपैयाँ कलेजले मागेको झाले जानकारी दिए ।

 

उनका अनुसार छात्रवृत्तिअन्तर्गत भर्ना हुने भनिएका ७ विद्यार्थी र उनका अभिभावक शुल्क सुनेपछि अन्योलमा छन् । एउटा होस्टलको कोठामा ३ जना बस्ने गरी प्रत्येकसँग हरेक महिना ८ हजार रुपैयाँ लिने भनिएको उनले सुनाए । एक महिनामा खानाका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

 

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले नि:शुल्क छात्रवृत्तिअन्तर्गत विद्यार्थीले कलेजलाई तिर्नुपर्ने यकिन शुल्कबारे तत्काल भन्न नसकिने बताए ।

यसअन्तर्गत कलेजले भर्नाको समय पहिलो किस्तामा ४ लाख ११ हजार ४ सय ४३ रुपैयाँ शुल्क लिने गरेको छ । भर्ना गराउन जाँदा कलेजसम्बद्घ कर्मचारीले होस्टलमा बस्नैपर्ने र मेसको शुल्क तिर्नैपर्ने बताएको झाले बताए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको