ऐनविपरीत वीर अस्पतालको संगठन संरचना फेर्ने तयारी

सोमबार, ०५ असोज २०७७


कल्पना पौडेल कल्पना पौडेल


काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा कार्यकारी निर्देशक १२औं तहको (विशेषज्ञ तह) रहने गरी बनाइएको संगठन संरचना (अर्गानोग्राम) प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएपछि विरोध भएको छ। सो अर्गानोग्राम प्रतिष्ठानको ऐन-नियम विपरीत त छ नै, मन्त्रिपरिषद्बाट पास भएको खण्डमा पनि कार्यान्वयनमा समस्या हुने देखिन्छ। 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष चासोमा तयार पारिएको सो अर्गानोग्राम प्रतिष्ठानको ऐनविपरीत हस्तक्षेपकारी रुपमा भएको भन्दै विरोध समेत भइरहेको छ। किनकी न्याम्स स्वायत्त संस्था भएकाले त्यहाँको सबै कामकारबाहीको अधिकार उपकुलपतिमा छ। न्याम्सको निर्देशक नियुक्ति लगायतका सबै विषयमा न्याम्सकै ऐन तथा अन्य कानुनहरु छन्। 

 

तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफू निकटका केही व्यक्तिलाई फाइदा पुग्नेगरी ऐनविपरित नयाँ संरचना बनाउन लगाएका हुन्। 

न्याम्सको अहिलेको व्यवस्था अनुसार सबैभन्दा माथि स्वास्थ्य मन्त्रालय, न्याम्स, सिनेट, उपकुलपति त्यसपछि कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, रजिष्ट्रार, रेक्टर, एडमिनिस्ट्रेसन, डिन त्यसपछि मात्र अस्पताल निर्देशकको मर्यादाक्रम छ। 

 

अहिले मन्त्रिपरिषदमा पठाउने तयारी गरिएको प्रस्तावमा स्वास्थ्य मन्त्रालय, न्याम्स र कार्यकारी निर्देशक (१२औँ) तहको व्यवस्था गरिएको छ। उक्त प्रस्तावमा उपकुलपतिको स्थान के हो भन्ने प्रष्ट खुलाइएको छैन।

प्रस्तावित संरचना अनुसार निर्देशकको मातहतमा प्रशासन तथा व्यवस्थापन विभाग, मेडिसिन समूह, सर्जरी समूह, डायग्नोष्टिक तथा थेराप्युटिक समुह, डेन्टल सर्जरी विभाग र जनरल प्रक्टिक्स तथा इमजेन्सी मेडिसिन विभागको व्यवस्था गरिएको छ।

न्याम्सको ऐनअनुसार उपकूलपतिको नियुक्ति सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्रीको सिफारिसमा कुलपति समेत रहेका प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। अस्पतालको निर्देशकको नियुक्ति भने उपकुलपतिको सिफारिसमा सहकुलपति रहेका स्वास्थ्यमन्त्रीले गर्ने व्यवस्था छ।

 

तर, अहिले बनाइएको अर्गानोग्राममा १२औं तहको प्रमुख विशेषज्ञलाई अस्पतालको निर्देशक बनाउने प्रस्ताव छ। १२औं तहको कर्मचारीको सरुवा तथा नियुक्तिको काम मन्त्रिपरिषदले गर्ने छ। जुन न्याम्सको ऐनविपरीत हुने देखिन्छ।

वीर अस्पतालको संगठन संरचना परिवर्तन गर्ने तथा निर्देशक लगायतका विषय न्याम्सकै ऐन संशोधन गरेर मात्र फेर्न मिल्ने भन्दै कर्मचारीहरुले मन्त्रालयले बनाएको प्रस्तावित संगठन संरचनाको विरोध गरेका छन्।

 

वीर अस्पतालका एक कर्मचारी भन्छन्, ‘मन्त्रिपरिषद्ले नियुक्त गरेको व्यक्तिलाई न्याम्सको ऐनले चिन्दैन। यो कुरा बाझिएको छ। यसले मर्यादा क्रममा पनि समस्या हुन्छ। न्याम्सको कार्यकारी परिषद्ले अस्पतालका सबै निर्णय गर्छ। जसमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन अनि बल्ल अस्पताल निर्देशक रहन्छन्। तर १२औँ तहका निर्देशकको मर्यादाक्रम के हुने भन्ने कुरा पनि प्रष्ट छैन।’

न्याम्स अन्तर्गतको आर्थिक तथा प्रशासनिक सबै काम उपकुलपतिले हेर्न भएकाले १२औं तहको निर्देशकको आवश्यकताबारे पनि अलमल छ। फेरि अस्पताल निर्देशक न्याम्सको सिनेटको समेत सदस्य हुँदैन। 

 

अर्को महत्वपूर्ण कुरा त के भने, सरकारले सबै मेडिकल ऐकेडेमीलाई समेटेर छाता ऐन ल्याउने तयारी गरिरहेको समयमा न्याम्समा मात्र किन १२औँ तहको अस्पताल निर्देशकको प्रस्ताव गरियो भन्ने कुरा आफैँमा अन्योलपूर्ण रहेको कर्मचारीहरु बताउँछन्।

छाता ऐन बनेपछि सबै प्रतिष्ठानका छुट्टाछुट्टै ऐन-नियम स्वतः खारेज हुनेछ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको